साँफेबगर।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक खप्तड क्षेत्रमा पहिलो पटक महिलाको नेतृत्व स्थापना भएको छ। संघीयता लागू हुनु भन्दा अघि देखि नै संघीय सरकारले खप्तड क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धनका लागि विभिन्न समिति गठन गर्दै आएको थियो तर, त्यसमा कहिल्यै महिलाले कार्यकारी जिम्मेवारी पाएका थिएनन्।
यस पटक भने उक्त समितिले महिला नेतृत्व पाएको हो। मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री परिषद् बैठकले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० की जमुना चन्दलाई खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यस्तै सदस्यमा बाजुराका मीन बहादुर शाही, डोटीकी माया देवी कुँवर र बझाङकी गोकुल देवी सिंह नियुक्त भएका छन्।
यस पटक नियुक्त भएका चार मध्ये तीन जना महिला रहेका छन् भने पर्यटन क्षेत्रबाट अझै एक जना महिला सदस्य नियुक्त गर्न बाँकी रहेको छ। समितिका कुल ६ पदाधिकारी मध्ये चार जना महिला रहने छन्, जसले महिला सहभागिता र नेतृत्वको दृष्टिले महत्वपूर्ण सन्देश दिएको छ। विहीबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष चन्द सहित सदस्यहरू माया देवी कुँवर र गोकुल देवी सिंहले पद तथा गोपनीयताको शपथ लिएका थिए।
मन्त्रालयका सचिव दीर्घनारायण कोईरालाले अध्यक्ष चन्दलाई शपथ गराए पछि अध्यक्ष चन्दले अन्य सदस्यहरुलाई शपथ गराएकी थिईन्। बाजुराका सदस्य मीन बहादुर शाही भने कार्यक्रममा उपस्थित थिएनन्। कार्यक्रममा सचिव कोईरालाले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै खप्तड क्षेत्रको संरक्षण, संवद्र्धन तथा प्रचार–प्रसारमा तीव्रता दिन सुझाव दिएका थिए। अध्यक्ष जमुना चन्दले खप्तड क्षेत्रको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गर्दै पूर्वाधार विकास, वातावरण संरक्षण तथा स्थानीय स्तरमा रोजगारी सिर्जनामा विशेष ध्यान दिने बताईन्।
खप्तड क्षेत्र धार्मिक, पर्यटकीय तथा जैविक विविधताको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। यस अघि झण्डै तीन दशकसम्म पुरुष नेतृत्वमा रहेको उक्त समितिमा पहिलो पटक महिलाको नेतृत्व स्थापना हुनु ऐतिहासिक उपलब्धि मानिएको छ।
पहिलो पटक महिलाको नेतृत्व
यस अघि जिल्ला विकास समितिको मातहतमा रहँदा पूर्व राज्य मन्त्री भक्त बहादुर बलायर समितिको अध्यक्ष भएका थिए। त्यस पछि भानुभक्त जोशीले नेतृत्व सम्हालेका थिए। सुदूरपश्चिम प्रदेशका पहिलो मुख्य मन्त्री त्रिलोचन भट्ट, संविधान सभा सदस्य सहदेव बोगटी, नगर प्रमुख पूर्णराज जोशी हुँदै संविधान सभा सदस्य हर्क बहादुर सिंहसम्म आई पुग्दा झण्डै तीन दशक बिति सकेको थियो।
तर, यस अवधिमा कहिल्यै महिला नेतृत्व स्थापित हुन सकेको थिएन। सधैं पुरुषले नेतृत्व गर्दै आएको समितिमा पहिलो पटक महिलाले जिम्मेवारी पाएका छौं। हामी इमान्दार भएर खप्तडको विकासका लागि लाग्ने छौं, नयाँ योजना ल्याउनेछौं र यस क्षेत्रलाई अझै सुन्दर र समृद्ध बनाउने छौं, नवनियुक्त अध्यक्ष चन्दले भनिन्। बैतडीमा जन्मिएकी चन्द सानै उमेरमा परिवार सहित कञ्चनपुर सरेकी थिईन्। २०५९ सालमा विवाह पछि बझाङ पुगेकी उनले त्यस भन्दा पहिल्यै अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन्।
उनी जिल्ला कमिटी सदस्य, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक संस्थामा सक्रिय रहँदै आएकी छन्। उद्योग वाणिज्य संघमा महिला सचिव र गैर सरकारी संस्था महासंघमा उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेकी उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उपप्रमुख पदमा उम्मेदवार थिईन्।
उक्त निर्वाचनमा पराजित भए पनि सरकारले उनलाई अझ ठूलो जिम्मेवारी दियो। उनले आफूले पाएको जिम्मेवारीलाई चुनौती भन्दा अवसरको रूपमा लिएको बताउँदै महिलाले अवसर पाए सक्षम नेतृत्व दिन सक्ने प्रमाणित गर्ने बताईन्।
खप्तड बनाउने प्रतिबद्धता
समितिकी सदस्य गोकुल देवी सिंहले पार्टी भन्दा माथि उठेर खप्तड क्षेत्रको विकासमा केन्द्रित हुने बताईन्। उनी नेपाली कांग्रेसबाट मनोनित भएकी हुन्। २०५७ साल देखि नेपाल महिला संघमार्फत राजनीतिक यात्रा सुरु गरेकी सिंहले महिला नेतृत्वलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने बताईन्। महिलाले चाहे गर्न नसकिने केही छैन। हामी चुलो–चौकोमा मात्र सीमित रहने होईन, विकास निर्माणमा पनि अग्रसर हुन सक्छौं भन्ने देखाउने छौं उनले भनिन्।
त्यस्तै सदस्य माया देवी कुँवरले पनि लामो राजनीतिक अनुभवका आधारमा खप्तडको विकासमा नमुना काम गर्ने प्रतिबद्धता जनाईन्। २०४६ साल देखि नेपाली कांग्रेसमा सक्रिय उनी नेपाल महिला संघ जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हालि सकेकी छन्। उनले भनिन्, चुनौती धेरै छन्, तर हामी तयार छौं। मिलेर खप्तडलाई नमुना पर्यटकीय गन्तव्य बनाउने छौं। समितिका पदाधिकारीहरुले विगतमा महिलालाई केवल कोरम पुर्याउने माध्यमका रुपमा मात्रै प्रयोग गरिएको अनुभव सुनाउँदै अब अर्थपूर्ण सहभागिता र नेतृत्व स्थापित गर्ने बताएका छन्। उनीहरुले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता उच्च पदमा महिला पुगि सक्दा पनि विकास समितिहरुमा महिलाको नेतृत्व स्वीकार गर्न अझै हिच्किचाहट हुनु दुःखद भएको बताएका छन्।
नवनियुक्त टोलीले खप्तड क्षेत्रको संरक्षण, प्रवद्र्धन र दिगो विकासका लागि नयाँ ढंगले काम गर्ने दावी गरेको छ। उनीहरुले खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, पर्यटक आकर्षित गर्ने तथा स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य लिएका छन्। महिला नेतृत्व मार्फत खप्तड क्षेत्रको विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ। खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेमराज जोशीले पहिलो पटक खप्तडको क्षेत्रमा सक्षम महिलाका नेतृत्व पाएको बताए।
उनले अहिलेको नेतृत्वबाट खप्तडको चिनारी फेरिन सक्ने विश्वास व्यक्त गरे। खप्तड क्षेत्र मध्यवर्ती समिति अध्यक्ष नरेन्द्र बहादुर सिंह पनि समावेशिताको सिद्धान्तलाई प्रदेश सरकारले व्यवहारमा लागू गरेको बताए।
यस्तो छ खप्तडको महत्व
सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड अनुपम सुन्दरताले पूर्ण छ। जडीबुटी र खप्तडका पर्वतीय वनबीच रहेका ठूल्ठूला मैदान (पाटन) ले जोकसैको मन बहलाउन सक्छ। मुख्यतया खप्तडका तीन महत्व छन्-धार्मिक, आध्यात्मिक र पर्यावरणीय। वर्ष भरि अनेकौं रूपमा देखिने खप्तड हरेक मौसममा घुम्न जाँदा रहस्यमयी देखा पर्छ।
धार्मिक पक्ष
पौराणिक कालमा मायावी शक्ति भएका देवी देवताले गगन चरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने गरेको, शिव लगायत देवता र सिद्धहरुको क्रीडा स्थलका रुपमा रहेको खप्तड क्रृषिमुनिहरुको पनि तपस्थल भएको आर्षपुराण लगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ। बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थल खप्तडमा महाभारत युद्ध कालमा वंश विनाश र गोत्र हत्याको पापमोचनका लागि खप्तडका पाटनमा राँगाभैंसीको बथानमा राँगोको भेष लिएर विचरण गरिरहेका शिवको दर्शनका लागि पाण्डवहरु आएको पुराणहरुमा उल्लेख गरिएको पाईन्छ।
शिवजीले पाण्डवलाई दर्शन दिई सके पछि ढुंगाको भेष धारण गरेको, उनका गहनाका रुपमा रहेका नागहरुलाई पनि ढुंगो बनाएको किम्वदन्ती छ। सहस्त्र लिंग, केदार ढुंगा, नागढुंगा, भुदेउ ढुंगालाई शिव स्वरुप मानेर पूजा गर्ने चलन अहिले पनि कायमै छ।
प्राकृतिक महत्व
करिब २ सय २५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको महत्व यतिमै सीमित छैन। २२ पाटन र ५३ ताल रहेको खप्तड नेपालकै सुन्दरतम ठाउँ मध्ये एक हो। रंगी विरंगी फूलले ढाकिएका ठूल्ठूला मैदानलाई स्थानीय भाषामा पाटन भनिन्छ।
यस क्षेत्रमा विभिन्न किसिममा २ सय २४ प्रकारका वनस्पति, १२ वटा गुफा, २ सय २६ किसिमका पक्षी, बाघ, भालु लगायत २० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांक छ।
आध्यात्मिक महत्व
सांसारिक जीवनबाट विक्षिप्त भएकाका लागि खप्तड उपयुक्त क्षेत्र हो। एकान्तमा बसेर मन बहलाउन तथा अध्यात्म तिर केन्द्रित हुन थुप्रै मानिस खप्तड आउने गर्छन्। यस क्षेत्रमा खप्तड बाबाका नामले चर्चित स्वामी सच्चितान्नद सरस्वतीले करिब ५० वर्ष तपस्या गरेका थिए।
उनको सिद्धि प्राप्तिका कारण पनि यस क्षेत्रको महत्त्व बढेको हो। यस बाहेक विभिन्न प्राकृतिक विषयवस्तु, जीवजन्तु, वनस्पति, जडीबुटीबारे खोज अनुसन्धानका लागि पनि यो महत्वपूर्ण क्षेत्र मान्न सकिन्छ।
त्रिवेणी धाम
सहस्त्र लिंग भएर आउने सोलिङ खोला, डाँफे कोटबाट बगेर आउने डाँफेकोट खोला र दक्षिणबाट उत्तर तिर बगेर आउने गुप्तरुपी सरस्वती नदीको संगम स्थल त्रिवेणी नामले प्रसिद्ध छ। यी तीन नदी गंगा, जमुना र सरस्वतीको स्वरुप भएको खप्तड स्वामीद्वारा लिखित धर्म विज्ञानमा उल्लेख छ। निकुञ्जको बीच भागमा रहेको त्रिवेणी क्षेत्रमा हरेक वर्ष गंगा दशहराका दिन मेला लाग्छ। त्रिवेणीमा स्नान गर्दा इच्छित वर प्राप्त हुने र पापबाट मोक्ष हुने जनविश्वास छ।
सिद्धि विनायक
त्रिवेणीबाट सहस्त्र लिंग जाने बाटोमा सहस्त्रलिंग नजिकै उँचो ढिस्कोमा कालो ढुंगामा कुँदिएको प्राचीन मूर्ति छ। सहस्त्रलिंग आउँदा जाँदा यो मूर्तिको दर्शन गरे पछि मात्र धार्मिक यात्रा पूरा हुने मान्यता रहि आएको छ।
सहस्र लिंग
समुद्र सतहबाट करिब १२ हजार फिट उचाईमा रहेको तीनवटा चुचुरा भएको ठूलो शिलालाई सहस्र लिंगका रुपमा पूजा गरिन्छ। यसलाई स्थानीयले शंकरी शिला पनि भन्छन्। यस शिलाको पहिलो चुचुरोमा भगवान शिव, दोस्रोमा पार्वती र तेस्रोमा गणेश रहेको धार्मिक विश्वास छ। चुचुरो भन्दा तल शिव लिंग आकारका सयौं स–साना चुचुरा छन्। बझाङ, बाजुरा, डोटी र अछामका स्थानीय यस क्षेत्रमा भक्ति साथ पूजाअर्चना गर्छन्।
खडुली–दुदुली माईथान
बझाङको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन्। दुईवटा मन्दिरको बीचमा एक यज्ञमण्डप छ। मन्दिरको नजिकै तीनवटा धर्मशाला छन। चैत र असोज अष्टमीका दिन पूजा, अनुष्ठान हुने गर्छ।
नागढुंगा
नाग र सर्पको जस्तो बुट्टैबुट्टा भएको नागढुंगा हेर्न आउने पर्यटक थुप्रै छन्। ठूलो चट्टानको वरपर सिपालु मूर्तिकारले बुट्टा भरे जस्तो चित्र देख्न पाईन्छ। स्थानीय गोठालाहरुका अनुसार ती दृश्य चित्र नभएर यथार्थमै नाग–सर्प हुन्।
खप्तड दह र जगन्नाथ मन्दिर
करिब १ सय मिटर चौडा र ५० मिटर लम्बाई रहेको यो तालको उद्गम र निकास छैन। यद्यपि यस दहमा बाह्रैमास पानीको सतह भने एकैनासको रहन्छ।
खप्तड बाबा कुटी
घोडा दाउना पाटनको पूर्वमा करिब ११ हजार फिट उचाईमा खप्तड बाबाको कुटी छ। माझको झुत्ती भन्ने ठाउँमा रहेको यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंग बहादुर सिंहले खप्तड बाबाका लागि बनाई दिएको बताईन्छ।
योग साधना कक्ष, गर्भ गृह, तपयोग कक्ष समेत रहेको स्लेटले छाएको यस कुटीमा खप्तड स्वामीले करिब ५० वर्ष साधना गरेका थिए। परम्परागत स्थानीय शैलीमा निर्मित यस कुटीमा खप्तड बाबाले प्रयोग गरेका सामग्री, उनले लेखेका र अध्ययन गरेका पुस्तक अहिले पनि सुरक्षित छन्।
कसरी पुग्ने खप्तड
काठमाडौं देखि धनगढी ६५० किलोमिटर बस यात्रा गरे पछि धनगढी देखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नु पर्छ। काठमाडौंबाट विमान मार्फत धनगढी पनि पुग्न सकिन्छ। बसबाट यात्रा गर्नेहरुको लागि भने सिलगढीबाट पैदल यात्रा सुरु हुन्छ। डोटीको सिलगढी देखि शुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ।
बगलेगसम्म जीप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ। झिंग्राना देखि देखिन थाल्छन् मनोरम दृश्य। अनि विश्वमै दुर्लभ हरिया रङका छेपाराहरु। त्यहाँबाट घना जंगलै जंगल पाँच घन्टा हिँडे पछि बीच पानीमा बस्नु पर्ने हुन्छ। बीच पानीमा तीन ओटा खोलाको संगममा त्रिवेणी मन्दिर छ।
त्रिवेणी मन्दिरबाट खप्तडका प्रख्यात मानिने गणेश मन्दिर, घोडादाउने पाटन, सहस्र लिंग, नाग ढुंगा, केदार ढुंगा तथा खप्तड बाबाको आश्रम स्थल हेर्न पाईन्छ। खप्तडमा दुई ओटा साना होटल छन्। ती होटल खप्तड मेलामा मात्र खुल्छन्। यहाँ बास बस्नका लागि चार ओटा धर्मशाला छन्।
खप्तड कुन समय जाँदा उपयुक्त
खप्तडमा बर्षै भरी घुम्न सकिन्छ। जेठ, असार रसाउनमा खप्तडका पाटनहरु भुई फुलले ढक्कमक्क हुन्छन्। रंगिचंगी अनगिन्ति फूलहरु पाटनमा कार्पेट बिच्छ्याईसरी नै लाग्छ। असोज, कार्तिक, मंसिर, पुष, माघ, फागुनसम्म हिउले ढाकिएको दृश्यले खप्तड कम सुन्दर देखिदैन। चौतर्फी फूलेका लालीगुराँसले फागुन चैत र बैशाखमा खप्तड ध्वजा पताकाले सिंगारेको बेहुली मण्डप झै लाग्छ।
खप्तडमा सात थरीका लाली गुरास फुल्छन्। खप्तडको डाँफे कोट र भ्यु टावरबाट भारतको नन्दा देवी हिमाल देखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिका लगायत एक दर्जन भन्दा बढि हिमाल हेर्न पाईन्छन्। नेपाल प्रेस