साँफेबगर ।
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान गरिएको छ। रैथाने बालीको संरक्षण गर्ने उद्धेश्यले सञ्चालन गरिएको पैरवी अभियान साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा सम्पन्न भएको हो।
डब्लू एचएच, पीसविन, वाक नेपाल र समविकास नेपालको साझेदारीमा सञ्चालित पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिला सहभागिता (WE-CaN) परियोजनाको सहयोग र वडा कार्यालयको समन्वयमा रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अब देखि आफुहरुले बजारमा पाईने बिसादी मिसाएका कुनै पनि खानेकुराहरु नखाने कार्यक्रमका सहभागीले प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय रूपमा परम्परागत ढंगले खेती हुँदै आएका बालीहरु, कोदो, फापर, जौ, गहुँ, कागुनो, स्थानीय धानका जातहरु, गेडागुडी, विभिन्न तरकारीका जात आदिको संरक्षण गर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका थिए।
कार्यक्रमको बारेमा जानकारी गराउँदै समविकास नेपालका पुन्ना कुँवरले रैथाने बालीहरु पौष्टिक तत्वले भरिपूर्ण भएको बताउँदै आत्म निर्भर बन्नका लागि पनि रैथाने बालीले ठुलो मद्धत गर्ने भएकोले संरक्षण गर्न जरुरी रहेको बताउनु भयो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुल बहादुर कुँवरले पुराना रैथाने बालीहरुलाई संरक्षण र सम्वर्धन गर्न जरुरी रहेको बताउनु भएको थियो।
उहाँले आफु वडा कार्यालयको तर्फबाट लोप भएका र लोपोन्मुख रैथाने बालीको सोध खोज गरि किसानहरुलाई उत्पादन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको थियो। उहाँले रैथाने बालीहरुको नेपाली संस्कार, चाडपर्व र परम्परागत खानासँग जोडिएको बताउनु भयो।
जसले सांस्कृतिक पहिचान जोगाउँनुका साथै प्रशोधन, बजारीकरण र मूल्य अभिवृद्धि गर्न सके स्थानीय रोजगारी र आम्दानी बढाउन सक्ने पनि पनि बताउनु भयो। कुँवरले रैथाने बालीको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको र वडावासीलाई संरक्षणका लागि लाग्न अनुरोध गर्नु भएको छ।
उहाँले वडामा बीउ बैंक स्थापनाका लागि विभिन्न संघसंस्थासंग समन्वय गर्ने र कृषकलाई समुह मार्फत बीउ उपलब्ध गराउन पहल गर्ने बताउनु भयो।
वाक नेपालका सामाजिक सहजकर्ता गिता कठायत कुँवरले सञ्चालन गर्नु भएको रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान कार्यक्रममा वडा सदस्य बल बहादुर कुँवर, नृप कुँवर, लक्ष्मी देवी कुँवर, शारदा देवी लुहार, कृषि प्राविधिक डमरा बोगटीको सहभागिता रहेको थियो।
यस्तै कार्यक्रममा मनोविमर्शकर्ता रमिला खड्का, विभिन्न कृषक समुहका पदाधिकारी, समाजसेवी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।

-1777551154.jpeg)

-1777551149.jpeg)
-1777551148.jpeg)