काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन पछि नेपाल टेलिकमको सेवामा सुधारको काम सुरु भएको छ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको पहलमा टेलिकमका प्रयोगकर्ताको डेटा प्याकेज सकिए पछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको हो ।
यसका साथै सबै सेवा अनलाईन गर्ने र 'वान टाइम केवाईसी’ लागु गर्ने प्रक्रिया पनि अघि बढेको मन्त्रालयले जनाएको छ । अब प्रयोगकर्ताले लिएको डेटा प्याकेज ९० प्रतिशत खपत भए पछि सूचना प्राप्त गर्ने छन् । यससँगै ‘पे–एज–यु–गोज (PAYG) विकल्प उपलब्ध हुनेछ । जसले ग्राहकलाई डेटा सकिए पछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्ने बारे विकल्प सहितको छनोटको सुविधा दिनेछ ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार हाल प्रणाली परीक्षणको चरणमा रहेको छ र चाँडै पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ । “सामान्य रुपमा भन्नु पर्दा अब डेटा सकिए पछि ग्राहकलाई इन्टरनेट प्रयोग जारी राख्ने वा नयाँ प्याकेज लिने भन्ने जानकारी दिईनेछ,” उनले भने । उनका अनुसार यूएसएसडी मार्फत खरिद गरिने डेटा प्याकमा तीन देखि पाँच दिन भित्र यो सुविधा लागु हुनेछ भने नेपाल टेलिकमको मोबाईल एप मार्फत सेवा प्रयोग गर्ने ग्राहकले एक साता देखि १० दिन भित्र यसलाई अनुभव गर्न पाउनेछन् ।
मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली अन्तर्गतको १० बुँदे सुधारात्मक कार्य योजनामा पनि यो विषय समावेश गरिएको छ । कार्य योजना अनुसार नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण र डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ । सोही अनुसार टेलिकमले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ग्राहक केन्द्रित सुधारका कदमहरु अघि बढाईएको जनाएको छ । विशेष गरी मोबाईल डेटा व्यवस्थापन, डिजिटल प्लेट फर्म विस्तार र प्रशासनिक प्रक्रियालाई सरल बनाउने उद्देश्यले रुपान्तरण प्रक्रिया सुरु गरिएको हो ।
ग्राहकलाई सहजता प्रदान गर्न कम्पनीले ‘वन टाईम केवाईसी’ प्रणाली लागु गर्ने तयारी गरेको छ । यस प्रणाली अन्तर्गत ग्राहकले एक पटक पेस गरेको विवरण पुनः उपलब्ध गराउनु पर्ने झन्झट हट्नेछ । यो व्यवस्था आगामी ३० दिन भित्र लागु गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनः प्राप्ति तथा स्वामित्व हस्तान्तरण जस्ता सेवाहरु पनि पूर्ण रुपमा अनलाईन माध्यमबाट उपलब्ध गराउने योजना अघि बढाईएको छ ।
दूर सञ्चार सेवामा पहुँच र सहजिकरण बढाउन टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ । यस्तो सहायता कक्ष नेपाल टेलिकमका सबै कार्यालयमा स्थापना गरिनेछ । जसले ग्राहकलाई एउटै स्थानबाट सबै सेवा प्राप्त गर्न सहज बनाउनेछ ।
यससँगै फोरजी सेवाको गुणस्तर सुधार गर्न नीतिगत परिमार्जन गर्ने तयारी समेत थालिएको छ । मन्त्रालयका अनुसार ३० दिन भित्र आवश्यक नीति संशोधन गरी थप फ्रिक्वेन्सी उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसले इन्टरनेट गति र स्थायित्वमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
डेटा सकिए पछि स्वतः ब्यालेन्स काटिने अभ्यास हटाउनु उपभोक्ता अधिकार संरक्षण तर्फको महत्त्वपूर्ण कदम मानिएको छ । यसले अनावश्यक खर्च घटाउनुका साथै सेवा प्रदायक प्रति ग्राहकको विश्वास पनि बढाउने विश्वास छ ।