साँफेबगर ।
अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । विश्वको सबै भन्दा सानो प्रजाती भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको हो । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा पाईने नौ मुठे गाई लोप हुने अवस्थामा पुगेको छ ।
अगाडिको खुट्टा देखि जुरोसम्मको उचाई मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकोले यस गाईलाई स्थानीयवासीहरु नौ मुठे गाई भन्ने गरेको बताईन्छ । गणना गर्दा संख्यात्मक रुपमा एक हजार भन्दा कमको संख्यामा भए लोपोन्मुख मानिन्छ ।
पशुु सेवा विज्ञ केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार अछाम जिल्लामा अछामी नौ मुठे गाईको संख्या ६ सय ६९ रहेको थियो । उक्त तथ्याक अनुसार ९१ साँढे, ३ सय १० बाच्छाबाच्छी र ३ सय ६८ गाई गरेर ६ सय ६९ रहेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा भने यो संख्या बढेको पाईएको छ । यो आर्थिक वर्षमा जिल्ला भरी नौ मुठ्ठे गाईको संख्या ७ सय ९१ पुगेको छ । यो तथ्यांकमा बाच्छाबाच्छी र साँढेको पनि संख्या समावेश गरिएको छ ।
तथ्यांक अनुसार साँफेबगर नगरपालिकामा ३८ साँढे, २ सय ३४ बाच्छाबाच्छी र २ सय ८१ वटा नौ मुठे गाई गरेर ५ सय ५३, चौरपाटी गाउँपालिकामा १९ साँढे, ३८ बाच्छाबाच्छी र ४९ गाई गरेर १ सय ६ रहेको छ । यस्तै मेल्लेख गाउँपालिकामा १० साँढे, २१ बाच्छाबाच्छी र २१ वटा गाई गरेर ५२, पञ्चदेवल विनायक नगरपालिकामा ८ साँढे, १४ बाच्छाबाच्छी र १४ गाई गरेर ३६ रहेको छ ।
यस्तै तुर्मखाँद गाउँपालिकामा ४ साँढे, १२ बाच्छाबाच्छी र १६ वटा गाई गरेर ३२ र मंगलसेन नगरपालिकामा २ साँढे, ५ बाच्छाबाच्छी र ५ नौ मुठे गाई गरेर १२ वटा गाई रहेको पशु सेवा विज्ञ केन्द्रका प्रमुख वाल्मीकि प्रसाद जोशीले जानकारी दिनु भयो । अन्य पालिकामा रहेका नौ मुठे गाईको तथ्यांक कार्यालयसँग नरहेको जोशीले बताउनु भयो ।

अछामी नौ मुठे गाई । तस्विर : एकेन्द्र महता ।
यो गाई विश्वकै सबै भन्दा सानो जातमा गणना गरिएको छ । यसको आकार र तौल अरु गाई भन्दा निकै कम हुन्छ । यसको कसिएको पातलो र तिखो नभएको सिंग हुन्छ । साढेको जुरो हुन्छ भने गाईको जुरो हुँदैन । यो गाई चलाख र जुझारु स्वभावको हुन्छ । यसको रंग प्रायः कालो हुन्छ । छाला नरम हुन्छ । गाईको अधिकतम तौल १ सय ५० किलोग्रामसम्म हुन्छ । प्रति दिन दुई देखि अढाई मानासम्म दूध दिने गर्दछ । अर्थात १.५ देखि २ किलोग्रामसम्म दूध दिन्छ । चार वर्षमा यो गाई वयस्क हुन्छ । यो गाईको टाउको गोलो अण्डा आकारको हुन्छ । पाँच वर्षको उमेरमा पहिलो पटक बच्चा जन्माउँछ । बेतान्तर १२ देखि २४ महिनाको हुन्छ । औसत दूध दिने अवधि २ सय २५ दिनको हुने गरेको पशु सेवा विज्ञ केन्द्रका प्रमुख जोशीले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो-‘नौ मुठे गाईको संख्या घट्ने क्रममा छ । संरक्षणका दृष्टिले खतरामा छ । हाल यो गाई लोप हुन नदिन संरक्षणका केही कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।’ यो गाईको दूध अन्य गाईको भन्दा निकै पोसिलो हुने पशु स्वास्थ्यकर्मी बताउँछन् । यो गाईलाई धार्मिक र पर्यटकीय महत्वको हिसाबले हेर्न थालिएको जोशीले बताउनु भयो । गाई संरक्षणका लागि सबै किसानलाई तालिम, अनुदानका कार्यक्रम, आहारा, औषधि उपचार र गोठ सुधारका कार्यक्रम ल्याउन जरुरी रहेको जोशीले बताउनु भयो । ‘पशु पालनका लागि ७० देखि ७५ प्रतिशतसम्म सरसफाईमा ध्यान दिनु पर्छ,’ उहाँले भन्नुभयो-‘नौ मुठे गाई थोरै दूध दिने भएकाले व्यवसाय गर्ने कृषकहरुले पाल्न रुचाउँदैनन् । यसको महत्व अझै हामीले बुझाउन सकेका छैनौं र प्रचारप्रसारको कमी देखिन्छ ।’
अछामी नौ मुठे गाई संरक्षण र प्रवर्द्धन गर्ने उद्धेश्यले साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा कामधेनु गौशाला तथा नौ मुठे गाई प्रवर्द्धन संरक्षण केन्द्रको स्थापना गरिएको छ । हाल उक्त गौशालामा १ साँढे, ३ वटा बाच्छा र ११ वटा गाई गरेर १५ वटा गाई रहेको समितिका महासचिव ध्रुवराज भण्डारीले जानकारी दिनु भयो ।
महासचिव भण्डारीका अनुसार यो गाईको दूध निकै पोसिलो हुन्छ र यो गाईलाई दिईने घाँसपातको तुलनामा यसले दिने दूध धेरै हुन्छ । भण्डारीले भन्नु भयो-'यो गाईलाई राम्रोसँग स्याहारसुसार गर्न सकेमा उत्पादकत्व अझ बढ्न सक्छ । गाईको दूध निकै पोसिलो हुन्छ । १ सय ५० किलो तौल भएको यो गाईले दुई देखि तीन मानासम्म दूध दिनु भनेको हजार किलो तौल हुने उन्नत जातको गाईले दिने दूध भन्दा तुलनात्मक रुपले निकै बढी हो ।’

साँफेबगर - १०, घुघुरकोट स्थित कामधेनु गौशालामा रहेका अछामी नौ मुठे गाईहरु । तस्विर : एकेन्द्र महता ।
यो गाई भीरपाखामा बाख्रा जसरी सहजै चर्न सक्ने र थोरै लागतमा पाल्न सकिने उहाँले बताउनु भयो । यो गाईमा रोगसँग लड्न सक्ने क्षमता बढी हुन्छ । आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृितक महत्वले परिपूर्ण भएको मानिन्छ । यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रुपमा पनि लिईन्छ ।
नौ मुठे गाई पाल्ने कृषकलाई प्रोत्साहन गर्न सके मात्रै पनि संरक्षण गर्न सकिने साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष ललित बोगटीले बताउनु भयो । उहाँले भन्नुभयो,-‘मेरो वडामा पनि नौ मुठे गाईहरु छन् । तर यति संख्यामा छन् भन्न सकिने अवस्था छैन मेरो वडामा गौशाला पनि छ, यस्तो गौशालालाई अनुदान दिएर नौ मुठे गाई संरक्षण तर्फ लाग्नु पर्छ जस्तो लाग्छ । नौ मुठे गाई पाल्नेलाई प्रोत्साहन गर्नु पर्यो । वडासँग त त्यति धेरै बजेट नै हुँदैन । तथ्यांक संकलन गरेर प्रोत्साहनका कार्यक्रमहरु गर्नु पर्छ । प्रचारप्रसार यसको महत्वको विषयमा पनि बुझाउन आवस्यक छ ।’

साँफेबगर - १०, घुघुरकोट स्थित कामधेनु गौशालामा रहेका अछामी नौ मुठे गाईहरु । तस्विर : एकेन्द्र महता , ध्रुवराज भण्डारी।
सबै भन्दा त गाई पाल्ने स्थानीयहरुले समेत यसको महत्व बुझ्न सकेका छैनन् । यसको महत्व बुझाउन जरुरी छ साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुँवरले भन्नुभयो-'अछामको पहिचानसँग जोडिएको नौ मुठे गाईको संरक्षणका लागि कार्यक्रम बनाएर अगाडि बढ्नेछौँ ।' उहाँले भन्नुभयो,-‘यो निकै महत्वपूर्ण विषय हो, हाम्रो पहिचानसँग जोडिएको विषयलाई संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो त्यसैले यो दायित्व पूरा गर्ने तर्फ योजनाबद्ध तरिकाले हामी लागि रहेका छौँ । उहाँले नौ मुठे गाईको संरक्षणका लागि नीति तथा कार्यक्रममा राखेको बताउनु भयो । कुँवरले भन्नुभयो-'अछामी नौ मुठे गाईको संरक्षणका लागि विगतकका वर्षहरुमा गोठ सुधारका लागि केही बजेट विनियोजन गरेका थियौँ ।’

साँफेबगर - १०, घुघुरकोट स्थित कामधेनु गौशालामा रहेका अछामी नौ मुठे गाईहरु । तस्विर : एकेन्द्र महता ।