साँफेबगर ।
सुदूरपश्चिम प्रदेशका नौवटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो अछाम । भाषा, कला, साहित्य, ऐतिहासिक महत्वका स्थल, प्राकृतिक विविधता र धार्मिक सम्पदाले पनि भरिएको जिल्ला हो । भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरुले भरिपूर्ण छ ।

पूर्वमा कालीकोट र दैलेख, पश्चिममा डोटी, उत्तरमा बाजुरा र दक्षिणमा सुर्खेत जिल्लाले घेरिएको अछाम एक हजार ६९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो ५४० मिटर देखि तीन हजार ८२० मिटरसम्म उचाई रहेको छ ।
नदी ताल र धार्मिक स्थल

भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरुले भरिपूर्ण छ । रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदा देवि मन्दिर, वैद्यनाथ मन्दिर, विम्कोट दरबार, मंगलसेन दरबार, विनायकका पञ्चदेवल, दर्नाका देवलहरु, बान्नीगढी, जयगढ, बयलपाटा आदि यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरु हुन् ।

अछाम भाषा, साहित्य, कला, एतिहासिक महत्वका स्थल, प्राकृतिक विविधता र धार्मिक सम्पदाले भरिएको छ । यस जिल्लाको ५६ हजार ३४७ हेक्टर क्षेत्रफल खेती योग्य जमिन मध्ये १० हजार ३०८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाईको सुविधा छ । १.०६१९ हेक्टर भू–भाग वनजंगलले ढाकेको छ । सरदर ५ डिग्री देखि ३० डिग्रीसम्म तापक्रम रहने गरेको छ ।

वार्षिक सरदर एक हजार ८९१ मिलिमिटरसम्म वर्षा हुने गरेको पाईन्छ । दुईवटा प्रतिनिधि सभा, चार प्रदेश सभा र १० स्थानीय तह मध्ये चारवटा नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । ९१ वटा वडा रहेका छन् । जसमा चार नगरपालिकाको ४७ वडा र छ गाउँपालिकाको ४४ वडा छन् । पुष्पलाल मध्यपहाडी लोकमार्गले जोडेको यस जिल्लाको सदरमुकाम मंगलसेन समुद्री सतहबाट एक हजार ३६३ मिटर उचाईमा अवस्थित छ ।

अछामको साँफेबगर मुख्य व्यापारी केन्द्र र सुविधायुक्त बजार हो । कमलबजार र विनायक पनि यहाँका मुख्य बजार क्षेत्र हुन् । २०७८ सालको जनगणना अनुसार पुरुष एक लाख छ हजार २४० र महिला एक लाख २३ हजार ५७६ गरी दुई लाख २९ हजार ८१६ जनसङ्ख्या रहेको छ । ४९ हजार ९६९ परिवार सङ्ख्यामा १३७ जनघनत्व रहेको छ । बुढीगंगा र कैलाश खोला नदीका कारण समथर उर्वर भूमि, फाँट देखि उच्च हिमाली क्षेत्र खप्तड र रामारोशन यहाँको मुख्य आकर्षक हुन् । यस जिल्लामा पुरुष साक्षर ७० दशमलव ७० प्रतिशत र महिला ४२ दशमलव ८७ प्रतिशत गरी जम्मा ९५ दशमलव ५५ प्रतिशत साक्षरता रहेको छ । ९५७ शैक्षिक संस्था र ४२ वटा सामुदायिक अध्ययन केन्द्रहरु रहेका छन् ।
जलविद्युत विकासको काम अघि बढ्दै

अछाम जिल्ला जल सम्पदा र वन सम्पदाको पनि निकै धनी रहेको छ । कर्णाली, सेती, बुढीगंगा, कैलाश खोला, रामारोशन ताल, चाईरहो गाड, कुईका गाड, विनायक गाड, कुवाली गाड, लुंग्रेली गाड, सोकट गाड, जिज्यारी गाड, पायली गाड, छिपेखोला, चिसी खोला, तालागाड खोला, चिल्ताडा गाड खोला आदि हुन् ।

अछाम जिल्लालालाई समृद्धि तिर डोर्याउने साँफेबगर क्षेत्रमा २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजना निर्माण प्रक्रियामा रहेको छ । साँफेबगर नगरपालिका वडा नम्बर १३, बाब्लाको बुढाबगर र मेल्लेख गाउँपालिका वडा नम्बर ४ को कुस्कोटमा बाँध र वडा नम्बर ८ हात्तिकोटकोमा विद्युत गृह निर्माण गरिने आयोजना निर्माण पक्षले जानकारी दिएको छ ।
जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहणसँगै आयोजना स्थल पुग्न सडक, पुल र कार्यालय, आवास र क्याम्पका भवन निर्माण भई सकेका छन् । टनेल, ड्याम र पावर हाउस निर्माण कार्यका लागि ठेक्काको काम भई रहेको बुढीगंगा जलविद्युत आयोजनाका प्रमुख सुरेन्द्र घिमिरेको भनाई रहेको छ ।
कुवेत ५ मिलियन (कुवेती दिनार) र साउदी ११२ मिलियन र बाँकी नेपाल सरकारले व्यहोर्ने गरि काम अघी बढी रहेको घिमिरेले बताउनु भयो । निर्माण सुरु भएको उक्त आयोजनामा ९ अर्ब रुपियाँ लागत अनुमान गरिएको छ । आयोजनाको अध्ययन गरि यसको निर्माण संयुक्त लगानीमा गर्न नेपाल सरकारले कुवेती फन्डसँग २०१३ र साउदी विकास कोषसँग २०१४ मा सम्झौता गरि सकेको छ ।
सडक सञ्जाल
-लोकमार्ग-1749455313.jpg)
कैलालीको बौनियाँ हुँदै बझाङको ताक्लाकोट पुग्ने सेती लोकमार्गले पनि पश्चिम अछामको भागलाई समेटेको छ । सेती लोकमार्गका सूचना अधिकारी केशव मिस्त्रका अनुसार सेती लोक मार्गको दक्षिण क्षेत्रमा पर्ने २०४ किलोमिटर मध्ये ७२ किमि कैलाली, ४० किमि डोटी, ८० किमि अछाम र १२ बाजुरामा पर्दछ । उक्त सडक मध्ये कैलालीमा ७२ किमि सडक ट्रयाक खोलि सकिएको छ ।
यस्तै डोटीमा ट्याक खोल्न सुरु गरिएको अछाममा ५८ किमि खोलिएको र बाजुरामा ट्याक खोल्नका लागि ईआईएको तयारी भई रहेको मिस्त्रले बताउनु भयो । यो आर्थिक वर्षमा सडक तर्फ ७६ अर्ब ४६ करोड र पुलमा ९ करोड ३६ लाख रकम विनियोजन गरेको उहाँले बताउनु भयो । यस्तै अछामको पूर्व देखि पश्चिमसम्म बीच भागलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गले जोडि दिएको छ ।
बेलखेत देखि चौखुट्टेसम्म मध्यपहाडी सडक खण्ड कालोपत्रे भई सकेको छ । ६ वटा स्थानीय तहका १७ वटा वडा मध्यपहाडी सडक सञ्जालसँग जोडिएका छन् । सुदूरपशिचम प्रदेशको गौरवको योजना चिसापानी–जंगलघाट–बडीमालिका सडक निर्माणाधीन अवस्थामा रहेको छ। यस सडकले पनि अछामको आधा भू–भाग समेटेको छ ।
अछाम, बाजुरा, दैलेख, कालीकोट लगायतका जिल्लाबाट तराई जोड्ने छोटो दूरीको यो सडक निर्माणको काम तीव्र गतिमा भई रहेको पूर्वाधार विकास कार्यालय साँफेबगरले जनाएको छ । उक्त सडकको जंगलघाट–बाँसकाडा (अछाम) खण्ड २३ किलोमिटरमा स्तरोन्नतिको काम भई रहेको बताईएको छ । बाँसकाडा–गैरीटाँड १५ किलोमिटर सडक कालोपत्रे भई सकेको पूर्वाधार विकास कार्यालय साँफेबगरका इन्जिनियर देवी प्रसाद उपाध्यायले बताउनु भयो ।
ठडियो मंगलसेन दरबार

सशस्त्र द्वन्द्व कालमा तत्कालीन विद्रोही माओवादीको आक्रमण पछि ध्वस्त भएको ऐतिहासिक मंगलसेन दरबार ठडिएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ५ मा तत्कालीन विद्रोही माओवादीको आक्रमण पछि २०५८ फागुन ४ गते पूर्ण रुपमा ध्वस्त भएको दरबार पुनर्निमाण गरिएको हो । करिब २३ वर्ष पछि ऐतिहासिक दरबार पुनर्निमाण गरिएको हो । गत फागुनमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले दरबारको उद्घाटन गर्नु भएको थियो । सघन शहरी विकास आयोजना अन्तर्गत पुरातत्व विभागको करिब ९ करोडको लगानीमा दरबारको पुनर्निमाण गरिएको हो ।
हाल २ करोड बजेटमा पर्खाल र प्रवेशद्धार निर्माणको काम जारी रहेको छ । तर दरबार क्षेत्रमा पर्खाल लगायत अन्य संरचना निर्माण गर्नका लागि उक्त बजेट अपर्याप्त छ । मंगलसेन दरबारको निकै ढिलो गरी पुनःनिर्माण भएको हो । माओवादी आक्रमणले ध्वस्त भए पछि वि.सं. २०६५ असार २४ गते देखि निर्माण सुरु भएको थियो । वि.सं. २०६७ मा निर्माण गरि सक्नु पर्ने थियो ।
तर पटक–पटक म्याद थप हुँदा पनि दरबार पुननिर्माणको काम सम्पन्न भएको थिएन । पुननिर्माणको काम सुरु भएको १६ वर्ष पछि दरबार ठडिएको हो । माओवादी आक्रमणमा परी अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहन सिंह खत्री, उहाँकी पत्नी, राष्टिूय अनुसन्धानका अधिकृत लगायत सुरक्षाकर्मी मारिएका थिए । दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालत, कारागार लगायतका महत्वपूर्ण कार्यालय सञ्चालन थिए ।
पछि प्रशासन बाहेक अन्य कार्यालय अर्को भवनमा सरेका थिए । आक्रमणका बेला जिल्ला प्रशासन दरबारमै थियो । स्थानीय बुढापाकाका अनुसार मंगलसेन दरबार तत्कालीन अछामी राजा दल बहादुर शाहको पालामा १९३५ मा निर्माण सुरु भएको थियो । दरबार वि.सं. १९४१ म निर्माण भएको बताईन्छ । यो दरबारलाई २०२९ सालमा अछामी राजाका सन्तानबाट सरकारले किनेको थियो । परम्परागत शैलीमा निर्माण गरिएको उक्त तीन तले दरबारमा ३० कोठा थिए। दरबार परम्परागत शैलीमै पुनःनिर्माण गरिएको छ ।
पर्यटन प्रर्वधनको ठूलो सम्भावना

एतिहासिक एवं प्राकृतिक, धार्मिक, सांस्कृतिक र मेला पर्वले अछाम पर्यटक प्रर्वधनको ठूलो सम्भानायुक्त क्षेत्र भित्र पर्दछ अछाम । अछामको रामारोशन पर्यटन क्षेत्र बाह्र बन्ड (ताल), अठार खण्ड मैदानको नामले चर्चित छ ।
यहाँ विशाल घाँसे मैदानहरु, आकाश पुग्ने जस्तै अग्ला पहाड, रंगीबिरंगी विभिन्न प्रजातिका लालीगुराँस, हरियाली भई रहने जंगल र वन्यजन्तुको बासस्थलका रुपमा पनि रहेको छ रामारोशन । रामारोशनलाई नै शिरानी बनाएर बग्ने कैलाश नदीको किनारैकिनार रामारोशनसम्मै पुग्ने सडक पहुँच रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन गरी पर्यटन विकास सम्बन्धी गतिविधि सञ्चालन गरि रहेको समितिका कार्यकारी अधिकृत पूर्ण बहादुर बिकले बताउनु भयो ।
धार्मिक तथा सांस्कृतिक पर्वहरु

बुढीगंगा नदीको किनार छेउमा पवित्र वैद्यनाथ धाम रहेको छ । धार्मिक आस्थाका रुपमा रहेको वैद्यनाथमा बहादुर शाहका पालामा नेपाल एकीकरणका बेलामा प्रयोग भएका हातहतियारको अवलोकन गर्न पाईन्छ । हवाई सेवा रहेको साँफेबगरबाट पक्की सडकको केही मिनेटमै मोटरबाट वैद्यनाथधाम पुग्न सकिन्छ । अछामसँगै जोडिएको खप्तड, अछाम, डोटी र सुर्खेत बीचको त्रिवेणी, मंगलसेनको चित्रे रमणीय ठाउँमा पर्दछन् । होरी, भुँवो, न्याउल्या, हुड्के, पुतला लगायत महिनै पिच्छे आउने धार्मिक तथा सांस्कृतिक पर्वले सर्वसाधारणलाई आकर्षित गरि रहन्छ ।

विनायकको पञ्चदेवल, मंगलसेनको षोडशादेवी, सान्नीकोट, विनायक र दर्नाका पञ्चदेवल, तुर्माखाँदको तितौडा, ढकारीको जाल्पादेवी मन्दिर, बान्नीगढी जयगढको वरदादेवी माई, चौरपाटीको चौखुट्टे क्षेत्र भाषा र साहित्यको इतिहासका लागि उत्तिकै प्रख्यात छन् । बाईसे, चौबिसे राज्य कालमा निर्माण गरिएका दरबार, किल्ला र गढीहरुको समेत अध्ययन तथा अवलोकन गर्न अछाम चर्चित रहेको छ ।
छाउगोठ कुप्रथा भत्किँदै

सदियौ देखि जरा गाडेर रहेको छाउगोठ कुप्रथाको पनि विस्तारै अन्त्य हुँदै गएको छ । छाउपडीको जिल्ला भनेर चिनिएको अछाम पछिल्लो समय परिवर्तनको बाटो तिर गई रहेको छ । छ हजार भन्दा बढी छाउगोठ भत्काईए पछि महिनावारी भएका महिला तथा किशोरी सुरक्षित रुपमा बस्न थालेका छन् । छाउगोठ भत्काएसँगै स्थानीय तहको निगरानी र सकारात्मक विभेद, छाउपडी सम्बन्धी कानुन लागू हुनु र जनचेतनामूलक अभियानले छाउगोठ त्याग्नेको संख्या क्रमशः बढ्दै गएको सामाजिक अभियान्ता पशुपति कुँवरले बताउनु भयो । पहिले गाउँवस्तीका प्राय सबै जसो घरमा देखिने गरेका छाउगोठहरु भत्किए पछि समस्या कम हुँदै गएको छ । महिनावारीका बेलामा असुरक्षित ढंगले गोठमा बस्दा आई पर्ने विभिन्न समस्या र यसबाट बच्ने उपाय सम्बन्धी सन्देश हरेक व्यक्तिसम्म पुग्न थालेको छ । २०५४ देखि ७६ सम्म अछाममा १० वर्षको अवधिमा १६ जना किशोरी तथा महिलाको छाउगोठमा बसेकै कारण मृत्यु भएको कुँवरको भनाई रहेको छ ।
झोलुंगे पुलले दुरी घटायो

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी उचाईमा मेल्लेख गाउँपालिकाको ऋषिदहमा झोलुंगे पुल निर्माण भएको छ । मेल्लेख गाउँपालिका १ ऋषिदहको लिफ्रु देखि वडा नम्बर २ डाँडाँश्री जोड्न झोलुंगे पुल निर्माण भएको हो । शहरी विकास मन्त्रालायको डेढ करोडको लागतमा बनेको पुलको लम्बाई २७८ मिटर र उचाई करिब १२५ मिटर रहेको छ ।
लिफ्रु खोलामा निर्माण भएको पुल सुदूरपश्चिमै अग्लो भएको खम्पाचे चन्द्रोदय जेविका प्रमुख कर्ण बिष्टको भनाई छ । २०७८ असार महिनामा सम्झौता भएको पुल निर्माणको काम माघ महिनामा सम्पन्न भएको थियो । लिफ्रु खोलामा झोलुंगे पुल निर्माण भए पछि लिफ्रु र डाँडाँश्रीका स्थानीयको यात्रा अवधि छोटिएको छ । लिफ्रु र डाँडाँश्री आवतजावत गर्न कम्तीमा पनि दुई घण्टा समय लाग्ने गरेकोमा अहिले २० मिनेटमा डाँडाँश्रीबाट लिफ्रु पुग्ने गरेको स्थानीय वुद्धि धामीको भनाई रहेको छ ।
भारी बोकेर डाँडाँश्री जाँदा उकालाको बाटोमा यात्रा निकै असहज हुँदै आएको थियो धामीले भन्नु भयो, अहिले लिफ्रु खोलामा झोलुंगे पुल निर्माण भए पछि आवतजावत सहज हुनुका साथै समय बचत भएको छ । उहाँले खोलाको बाटो भएर डाँडाँश्री जाँदा समस्या हुँदै आएकोमा झोलुंगे पुल बने पछि सहज भएको उहाँको भनाई छ । स्थानीय लक्ष्मी धामी पनि लिफ्रुबाट डाँडाँश्री जोड्ने झोलुंगे पुल बने पछि खुशी हुनु भएको छ । ऋषिदहको काँटिबाट माईति घर डाँडाश्री पुग्ने खोलाको बाटो भएर जान निकै गाह्रो हुँदै आएको थियो उहाँले भन्नु भयो,–लिफ्रु खोलामा झोलुंगे पुल निर्माण भए पछि आवत जावतमा सहज भएको छ । पहिले घाँसका भारी, अन्य सामग्री बोकेर डाँडाँश्री हिडेर जाँदा समस्या हुने गरेकोमा अव झोलुंगे पुल बने पछि सहज भएको धामीको भनाई रहेको छ ।
मेल्लेख गाउँपालिका वडा २ का वडा अध्यक्ष कुशलराज बुढाले लिफ्रु खोलामा झोलुंगे पुल निर्माणले लिफ्रु देखि डाँडाँश्री एक आपसमा जोडिएको बताउनु भयो । डाँडाँश्रीवाट गोपाले गाउँ स्थित चण्डीका माध्यामिक विद्यालय कक्षा ११ र १२ अध्ययनको लागि जाने विद्यार्थीलाई पुलले सहजता ल्याएको धारणा व्यक्त गर्नु भयो । मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले ऋषिदह विकट मात्र नभएर सम्भावनाको वडा पनि भएको उहाँले बताउनु भयो । यस्तै गाउँपालिका अध्यक्ष अछाम र बाजुरालाई जोड्न ऋषिदहमै अर्का झोलुंगे पुल निर्माणको प्रक्रिया पनि सुरु भएको जानकारी दिनु भयो ।
अछाम बयालपाटा अस्पताल

दुःखी, गरिब र असहायका लागि अछामको साँफेबगर ७ स्थित बयालपाटा अस्पताल वरदान सावित हुँदै गएको छ । बयालपाटाले निःशुल्क स्वास्थ्य उपचार सेवाका लागि विशिष्ट पहिचान बनाएको छ । न्याय हेल्थ नामक गैर सरकारी संस्थाबाट सामुदायिक रुपमा सञ्चालन गरिएको यो अस्पतालले सबै किसिमका स्वास्थ्य परीक्षण, उपचार र औषधि निःशुल्क रुपमा प्रदान गर्दै आएको छ।
सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह र वैदेशिक सहायताबाट अस्पतालले नियमित सेवा दिई रहेको छ । अस्पताल प्रदान गर्ने सेवाहरुमा अन्तरंग र बहिरंग, प्रयोगशाला, हड्डी, दाँत, मानसिक स्वास्थ्य र यूएसजी रहेका छन् । अस्पतालले गर्भवती तथा सुत्केरी, स्वास्थ्य बीमा, एम्बुलेन्स सेवा र सामुदायिक स्वास्थ्य सेवा समेत प्रदान गरि रहेको छ । सन् २००८ देखि हालसम्म अस्पतालमा १५ लाख नागरिक र सन् २०१६ देखि हालसम्म ११ लाख नागरिकलाई घरमै सेवा दिएको छ ।
अस्पतालका सूचना अधिकारी पूर्ण बहादुर खड्काका अनुसार हाल सम्म चार हजार ८ सय ४० जनालाई सुरक्षित प्रसूति सल्यक्रिया, चार हजार ६ सय १९ जनालाई मेजर सर्जरी सेवा दिएको छ । सेवा लिने बिरामीहरुमा अछामका ८२ प्रतिशत, बाजुराका १३ प्रतिशत, डोटीका ३ प्रतिशत र अन्य जिल्लाबाट २ प्रतिशत नागरिकले सेवा लिईका छन् । बयालपाटा अस्पताललाई हालसम्म सुदूरपिश्चम प्रदेश सरकारबाट आर्थिक वर्ष २०७७/७८ मा ७ करोड, आर्थिक वर्ष ०७८/७९ मा ८ करोड र आर्थिक वर्ष ०७९/०८० मा ९ करोड गरि जम्मा २४ करोड अनुदानको रुपमा बजेट विनियोजन गरिएको थियो ।
हाल कुनै पनि निकायबाट आर्थिक सहयोग नआउँदा अस्पताल आर्थिक संकट भई बन्द हुने अवस्थामा रहेको छ । बयालपाटा अस्पतालबाट दुर्गम पहाडी जिल्ला अछाम, डोटी, बाजुरा, दैलेख, कालिकोट, मुगु, हुम्ला लगायतका नागरिकहरुले सेवा लिई रहेका छन् ।
आर्थिक अभाव झेल्दै बयालपाटा अस्पताल

आर्थिक अभावका कारण अस्पतालबाट उपलब्ध हुने सेवाहरु प्रभावित हुनेमा स्थानीय अगुवा र अस्पताल प्रशासन बारम्बार झस्किने गरेका छन् । अछाम सहित छिमेकी जिल्ला र कर्णाली प्रदेशबाट समेत उपचारका लागि आउने बिरामीलाई अस्पतालले सेवा दिन छोडे पछि हजारौँ बिरामी मर्कामा परेका छन् । दिगो रुपमा अस्पतालको सेवा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेशकै अस्पताल बनाएर लैजाने प्रक्रिया थालनी भएको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवरको भनाई छ ।
अस्पताललाई प्रदेशले आफ्नो मातहतमा लिएर आर्थिक सुनिश्चितता गर्नु पर्ने माग यहाँका अगुवाको छ । सदरमुकाम मंगललसेन स्थित जिल्ला अस्पतालसँगै बयलपाटा अस्पतालले सेवा दिन थाले पछि यस क्षेत्रका आर्थिक स्थिति कमजोर भएका बिरामीलाई उपचार गर्नमा सहजता भएको छ । जिल्लाका यी दुई अस्पताल मध्ये बिरामीले आफूलाई पायक पर्ने अस्पताल रोज्न सक्ने अवस्था भएको छ । जिल्ला अस्पतालले आधुनिक प्रविधिसँगै उपचार सेवा विस्तार गर्दै लिई रहेको छ ।
सामाजिक विकास र सशक्तिकरण

सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेर शिक्षा र सामाजिक विकासको क्षेत्रमा सामाजिक विकास कार्यालयले विभिन्न रचनात्मक कामहरु गरि रहेको छ । स्थापनाको ५ वर्षको अवधिमा यस कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा विद्यालय भवन, सूचना, सञ्चार प्रविधि, सशक्तिकरण तथा सीप विकास, अनुदान अल्पकालीन सेवामा सहयोग, भाषा तथा संस्कृतिको क्षेत्रमा पनि काम गरि रहेको छ । चालु आर्थिक वर्षका लागि सामाजिक विकास कार्यालयले १३ करोड २५ लाख रुपियाँ बजेट पाएको थियो ।
जस मध्ये निर्माणका क्षेत्रमा १० करोड रुपियाँमा दुई करोड १३ लाख रुपियाँ खर्च भई सकेको कार्यालयका प्रमुख डम्बर बहादुर रवलले जानकारी दिनु भयो । बाँकी रहेको तीन करोड २५ लाख रुपियाँ मध्ये एक करोड ७० लाख रुपियाँ तालिम, सामाजिक विकास लगायत चालु बजेट रहेको बताईएको छ । अछामका विद्यालयमा भवन, घेरापर्खाल, खेल मैदान, मन्दिर र मर्मतका ९६ योजना रहेका छन् । दलित, महिला, अपांगतालाई क्षमता तथा सीप विकास तालिम, लोकसेवा कक्षा, विशेष अनुदान तथा सहयोग ज्येष्ठ नागरिक दिवा सेवा लगायतका कार्यक्रम सञ्चालन भई रहेको कार्यालयका प्रमुख रावलले जानकारी दिनु भयो ।
सिँचाई तथा तटबन्धन

चालु आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले अछाममा ३१७ योजनामा बजेट विनियोजन गरेको छ । जस मध्ये २५ तटबन्धन र २९२ वटा सिँचाईका योजनाहरु रहेका छन् । ३१७ योजनाका लागि ४० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यो मध्ये हालसम्म १७ करोड रुपियाँ खर्च भएको सिँचाई डिभिजन कार्यालय अछामका सूचना अधिकारी नरेश थापाले बताउनु भयो ।
विभिन्न नदी, खुला खोल्सा र गाडहरुका कारण खेती योग्य जमिन कटान, वस्ती असुरक्षित हुन थाले पछि तटबन्धका लागि बजेट आउन थालेको हो । त्यस्तै खाद्यन्न उत्पादनका लागि उर्वर भूमि सिँचाई गर्न कुलो तथा नहर निर्माणका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।
(श्रोत : विकिपीडिया र अछाम स्थित विभिन्न कार्यालयका वेभपोर्टल र अन्य स्रोतहरु।)