साँफेबगर ।
अछामको साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन गरिएको छ। समविकास नेपालद्वारा संचालित महिला सुरक्षीत आवास गृहको जिल्ला स्थित सरोकारवालाको एक टोलीले अनुगमन गरेको हो।
जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले भन्नु भयो समविकास नेपालले सञ्चालन गरेको यो महिला सुरक्षित आवास गृह स्थानीय तहका लागि महत्वपूर्ण सामाजिक पहल हो।
पीडित महिलाको संरक्षण, पुनःस्थापना र सशक्तिकरणमा यसले ठूलो भूमिका खेलेको छ। नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर सहयोग र आवश्यक सहकार्य गरिनेछ।
महिला सुरक्षित आवास गृहले पीडित महिलाको संरक्षण र सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको छ। यसलाई अझ प्रभावकारी बनाउन सबै पक्ष बीच समन्वय र निरन्तर सहयोग आवश्यक रहेको बताउनु भयो।
यस्तै महिला सुरक्षित आवास गृहले हिंसा पीडित तथा जोखिममा परेका महिलालाई सुरक्षित आश्रय प्रदान गर्नु अत्यन्त सराहनीय कार्य हो र यहाँको व्यवस्थापन, सेवा प्रवाह र समर्पण देख्दा सन्तोष लागेको छ।
आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउन प्रशासनको तर्फबाट आवश्यक समन्वय र सहयोग गरिने कुरा व्यक्त गर्दै महिला सुरक्षित आवास गृहको सेवा अझ प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाउन र स्रोत–साधन सुदृढ गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले बताउनु भयो।
यस्तै समविकास नेपालका संस्थापक अध्यक्ष पशुपति कुँवर र वर्तमान अध्यक्ष दुधकला बिष्टले समविकास नेपालद्वारा सञ्चालन गरिएको महिला सुरक्षित आवास गृह स्थापना गर्नुको मुख्य उद्देश्य हिंसा पीडित तथा जोखिममा रहेका महिलालाई सुरक्षित आश्रय, संरक्षण र पुनःस्थापनाको अवसर उपलब्ध गराउनु हो, उहाँहरुले हाल स्रोत–साधनको अभाव, दीर्घकालीन व्यवस्थापन, जनशक्ति र समन्वयका केही चुनौतीहरु रहेको बताउनु भयो। यद्यपि, सबै सरोकारवाला निकायको सहयोग र सहकार्यबाट यी चुनौतीहरु पार गर्दै सेवालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता रहेको बताउँदै यस महिला सुरक्षित आवास गृहको स्थानीय सरकारले संरक्षकको भुमिका खेलि दिन पनि आग्रह गर्नु भएको छ।
अनुगमनका कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनाल, अनुसन्धान प्रमुख अशोक पौडेल, सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर रावल, ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख दान सिंह भण्डारी र पत्रकारहरुको सहभागिता रहेको थियो।
संस्थाले महिला सुरक्षित आवास गृह बारे अनुगमनमा उपस्थित सरोकारवालाहरुबाट लिखित तथा मौखिक रुपमा सुझाव सल्लाह संकलन गरेको थियो।