मंगलसेन ।
समाजसेवी युवा मदन बहादुर बुढाले जिल्ला कारागार अछाममा रहेका कैदीबन्दीहरुका लागि दुई सय थान विभिन्न विधाका पुस्तकहरु हस्तान्तरण गर्नु भएको छ। शुक्रबार कारागारमा आयोजित एक विशेष कार्यक्रमका बिच बुढाले ती पुस्तकहरु हस्तान्तरण गर्नु भएको हो।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ५ नवाठाना निवासी बुढाले कारागार भित्र रहेका कैदीबन्दीहरुलाई अध्ययनशील बनाउन, उनीहरुको समयको सदुपयोग गर्न र ज्ञान आर्जनमा टेवा पुऱ्याउने उद्वेश्यले आफूले पुस्तक सहयोग गरेको बताउनु भयो।
हाल अध्ययन र व्यवसायको सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आउनु भएका बुढाले भन्नु भयो, “कारागारलाई सुधार गृहका रुपमा विकास गर्न पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्छ। म सामाजिक कार्यमा रुचि राख्ने व्यक्ति भएकाले आगामी दिनमा कैदीबन्दीहरुले भोगि रहेका अन्य समस्या समाधानका लागि पनि पहल गर्नेछु।”
सो अवसरमा उहाँले निकै मिहिनेतका साथ संकलन गरिएका यी पुस्तकहरु पढेर आफ्नो बौद्वि विकास गर्न कैदीबन्दीहरुलाई आग्रह समेत गर्नु भयो। बुढाले आगामी दिनमा अछामकै बयालपाटा अस्पतालमा पनि एक बृहत पुस्तकालय स्थापना गर्ने योजना रहेको जानकारी दिनु भयो।
कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले सिर्जनशील कार्यका लागि समाजसेवी बुढालाई धन्यवाद ज्ञापन गर्नु भयो। उहाँले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश दिने बताउँदै भन्नु भयो, “कारागार केवल दण्ड भोग्ने ठाउँ मात्र नभई सुधार गृह पनि हो।
फुर्सदको समयमा ज्ञानवर्धक पुस्तक पढ्दा कैदीबन्दीको सोच र व्यवहारमा परिवर्तन आउँछ।” पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले पुस्तक पढ्ने बानी हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी बुढाले पुस्तकबाट प्राप्त हुने गहिरो ज्ञान अन्य माध्यमबाट सम्भव नहुने हुँदा अध्ययन संस्कृतिको विकास गर्नु पर्नेमा जोड दिनु भयो।
सहभागी कैदीबन्दीहरुले पुस्तक उपहार पाएकोमा खुसी व्यक्त गर्दै समाजसेवी बुढालाई धन्यवाद दिएका थिए। उनीहरुले कारागार भित्र खानेपानी, स्वास्थ्य र भौतिक पूर्वाधारका थुप्रै समस्याहरु रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि सम्बन्धित निकायसँग पहल गरि दिन आग्रह गर्नु भयो।
जिल्ला कारागार अछामका चौकीदार देवेन्द्र बहादुर कुवँरले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा कारागार प्रशासनका कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीहरुको उपस्थिति रहेको थियो।

