सन्क्षिप्त परिचय
नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला हो अछाम । यस जिल्लाको ढकारी गाउँपालिका र तुर्माखाद गाउँपालिका अर्थात साविकको घोडासैन, धमाली, तोशी, नाडा र ढुंगाचाल्ना गाविसको विचमा त्रिपुरा सुन्दरी देविको मन्दिर अवस्थित छ । यस अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ८, घोडासैन अन्तर्गत दह बण्डलाई देवीको उद्गम स्थल मानिन्छ । सोहि बण्डको सिर तितौडामा त्रीपुरा सुन्दरी मन्दिर अवस्थित छ । माता त्रिपुरा सुन्दरी भगवतीको मन्दिर नेपालको सुदुरपश्चिमको एक प्रख्यात मन्दिर हो । त्रिपुरा सुन्दरी मन्दिर अछाम जिल्ला सदरमुकाम देखि पश्चिम ५५–६० किलोमिटरको दुरीमा पर्दछ । यो मन्दिर सुदुरपश्चिम प्रदेशको प्रमुख धार्मिक स्थल भएकाले यहाँ सुदुरपश्चिम र कर्णाली प्रदेशका धेरै भक्तजनहरुको घुइँचो हुने गर्दछ ।
यहाँ दर्शन गरे पछि मनले सोचेको धन, जन, सुःख, शान्ति प्राप्त हुने जन विश्वास रहि आएको हुँदा यो परिचित छ । यो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ र रातो र सेतो रंगले सजाईएको छ । घना जंगलको मध्य भागमा त्रिपुरा सुन्दरी मन्दिर अवस्थित रहेको छ । उक्त मन्दिरको परिसरमा विभिन्न खालका मूर्ति राखिएका छन् भने मन्दिर वरपर भक्तजनहरुले आ–आफ्नो मनोकांक्षा सिद्धिका लागि चढाएका घण्टीहरु राखिएका छन् ।
त्रिपुरा सुन्दरीको उत्पत्ति कसरी भयो भन्ने किंवदन्ती अनुसार दक्ष प्रजापतिबाट गरिएको अपमान सहन नसकेर सती देवीले यज्ञ कुण्डमा देह त्याग गरे पछि भगवान शिवले उनको शरीर बोकेर पृथ्वीका अनेक उच्च पर्वतहरुमा भौंतारिने क्रममा सती देवीका अंग पतन हुँदै जान थाले । उनका अंग जहाँद्दजहाँ पतन भए त्यहीँ–त्यहीँ शक्तिपीठ स्थापना हुन थाले । त्रिपुरा सुन्दरी मन्दिर भएको ठाउँमा पनि कुनै अंग विशेष पतन भएको मानिन्छ ।
अछामको पूर्वी खण्डमा स्थित त्रिपुरा सुन्दरी मन्दिर स्थलका रुपमा प्रसिद्ध भएको यस भू–भागलाई स्थानीय भाषामा “तितौडा“ भनिन्छ ।
त्रि = तीन, पुर = लोक (भूलोक, भुवर्लोक, स्वर्लोक), सुन्दरी = सुन्दरतम यसैले “त्रिपुरा सुन्दरी” भनेको तीनै लोकमा सर्वाधिक सुन्दरी र सर्वश्रेष्ठ देवी भन्ने अर्थ हो ।
शक्तिको स्वरुपः शिव शक्तिको अद्वितीय स्वरुप । उहाँ विना शिव पनि शक्तिहीन हुने भनिन्छ ।
श्रीविद्या उपासनाः त्रिपुरा सुन्दरीलाई श्रीविद्या (तन्त्र) मार्फत पूजा गरिन्छ । उहाँका मन्त्र र यन्त्रहरु अत्यन्त शक्तिशाली मानिन्छन् ।
दश महाविद्या मध्ये प्रमुखः दस महाविद्याहरुमा त्रिपुरा सुन्दरीलाई सबै भन्दा सौम्य र दयालु मानिन्छ ।
कथा अनुसारः त्रिपुरा सुन्दरीले महिषासुर वा भण्डासुर जस्ता दानवहरुलाई पराजित गरेर धर्मको रक्षा गरेकी हुनाले यसलाई स्कन्द पुराणमा त्रिपुरा गिरी भनेर सम्वोधन गरिएको छ । तितौडा नै त्रिपुरा गिरी हो भनेर निस्चित गर्न स्कन्द पुराणको मानस खण्डमा अध्यान गरिएको छ । तिब्बत स्थित कैलाश पर्वतलाई शिर र भारत स्थित अयोध्या एवं नैमिषारण्यलाई दुई पाउ मानि यस भित्रको भु–खण्डलाई मानस खण्ड भन्नुका साथै यस मानस खण्डलाई शिव स्वरुपमा चित्रण गर्नुका साथै शिव स्वरुपका अन्य अवयवहरुको पनि वर्णन गर्ने काम स्कन्द पुराणले गरेको छ । शिव स्वरुप मानस खण्डको चर्चा गर्दा स्कन्द पुराणमा उल्लेख भएका र हालसम्म सोही रुपमा प्रयोगमा रहेका स्थानहरुको अवस्थित धार्मिक महत्व प्रस्तुती वर्तमान प्रचलन आदीलाई अध्यान गर्दा तितौडा नै त्रिपुरा गिरि भएको प्रमाणीत हुन्छ । स्कन्द पुराणले त्रिपुरा गिरि देवि त्रिपुराको निवास स्थल हो भन्य तथ्यलाई प्रमाणित गर्दछ भने तितौडाकै निकटवर्ती अछाम र बाजुरा जिल्ला स्थित बैजनाथ बडिमालिका–मल्ल गिरि कैलाश गंगा आदिको वर्णन गर्ने क्रममा नै त्रिपुरा गिरिको पनि वर्णन गरिएको छ ।
यस आधारमा तितौडा नै त्रिपुरा गिरि भएको तथ्य स्पष्ट हुन्छ । स्कन्द पुराणमा भने जस्तै तितौडामा देवि त्रिपुराकै आराधाना गर्ने धार्मिक प्रचलन रहेकाले पनी तितौडा नै त्रिपुरा गिरि हो । त्रिपुरा गिरिमा देवहरुद्धारा पुजित देवि नपुसको वास भएको कुरा स्कन्द पुराणमा यसरी लेखिएको छ ।
ततुस्तु त्रिपुरानाम गिरिर्वै समुदाहृतः
तत्रर्वै पुज्यते देवि त्रिपुरा देव पुजिता ।
यसरी तितौडा जगन्माता देवि त्रिपुराको दिव्य स्थल भएको प्रस्ट हुन्छ ।
तितौडामा त्रिपुरा देवि पुजन लौकिक प्रारम्भ :
यस क्षेत्रमा मानव बसोवास पनि धेरै पछी भएको देखिन्छ । यस सन्धर्वमा भारतको कन्नौजबाट आई अछामको घोडासैनमा बसोवास गर्ने जैमिनि गोत्रिय महाँदेव जोशिका सन्तती जयपती उपाध्यायलाई माजी गाउँ स्थित दह भन्ने ठाउमा भैंसी खर्क गोठान मा रहेका बेला राती सपना भएछ, भोलि आश्विन शुक्ल चतुर्दशी हो दह बण्डमा पानिको तलाउ छ । त्यस तलाउको पूर्र्वी थानमा दिव्य शिला राखेकी छु सो सिलालाई मेरै स्वरुप मानी पुजा गरी चतुर्दशिको रातभर जाग्राम बस्नु भन्ने देवि त्रिपुराको निर्देशन भएछ त्यस पश्चात जयपती उपाध्यायले पनि निर्देशित स्थानमा विहानै गएर हेर्दा सालको पातमा राखिएको एउटा दिव्य शिला प्राप्त गरे र सोही स्थानमा चतुर्दशिको रातभर जाग्राम बसी देवि त्रिपुरा सुन्दरिको आरधाना गरे । यो विषय करिव वि.सं. १७५१ को थियो ।
त्रिपुरा सुन्दीर मन्दिर जानेसँग गाउँलेहरु जौ, तिल, धान, मकै, फलफूल, प्रगलो र भेटी देवीलाई चढाउनका लागि पठाउने गर्छन् । यसरी अर्पण गर्दा उत्पादनमा बृद्धि हुने, रोगबाट जोगिने र देवीको आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ । साथै त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गर्न जान नसक्नेहरुले मन्दिरमा चढाउनका लागि माहुरीको घार, गाईभैँसी बाँध्ने किलो÷दाम्लो लगायत अन्य सामग्रीहरु, सुन, चाँदी वा पित्तलबाट बनाईएका गहना नमुनाका रुपमार पठाउने गर्दछन् । यस्तो कार्यबाट देवी खुसी भई मह मौरी, दुध, पुत, फल, फल्लार रोग–व्याधि टर्छ भन्ने जनमानसमा गहिरो विश्वास रहेको छ ।
त्रिपुरा सुन्दरी पुजा विधि :
त्रिपुरा गिरि तितौडामा त्रिपुराको पुजा वैदिक विधिले गरिन्छ । त्रिपुराको पुजा गर्दा प्राप्त दिव्य शिलामा गरिन्छ । हरेक वर्ष सयौँ श्रद्धालुहरु त्रिपुरा सुन्दरी देवीको दर्शनका लागि निष्ठापूर्वक यात्रा गर्ने परम्परा छ । मुख्यतः माता त्रिपुराको पुजा आश्विन शुक्ल चतुर्दशी कोजाग्रत पूर्णिमा र जनैपूर्णिमाको चतुर्दशी श्रवण शुक्ल चतुर्दशीका दिन सात्तिक ढंगले हुन्छ । रुद्धाभिषेक बेदपाठ सप्तशती चण्डी पाठ गर्ने, भजन कीर्तन (भगवानको पूजा, सेवा, प्रशंसा, महिमा, भक्तिभाव जगाउन स्मरण गर्न,आत्म शुद्ध गर्न, देवीसँगको सम्बन्ध मजबुत बनाउने उद्धेश्यले गरिन्छ।) सामर्थानुसार पञ्चोपचार षोडशोपचारले पुजा गर्ने, गर्ने, फूल (रातो वा गुलाबी), अक्षता, धूप, दीप, चन्दन, नैवेद्य, पान÷बेलपत्र, शुद्ध जल, सुन, चादि, तामा, फलामका पुजा सामाग्री र देविका गहना आयुधहरु चढाउने गरिन्छ । यहाँ सन्तानको वर माग्नेले घाट सुनको मुर्ती, विद्याको वर माग्नेले घाट सुनको मुर्ती विभिन्न धातुका कापी कलम, मौरीको वर माग्नेले तामाको मौरी तथा मौरीघार, अन्नको वर माग्नेले सुन चादिको धानको वाला लगाएत भेटी र फलफुल आदि वस्तुहरु देविलाई अर्पित गर्ने प्रचलन रहेको छ ।
त्रिपुरालाई गाई भैसिको दुध चढाउने कार्य मुख्य रुपमा हुन्छ । र त्यसलाई दुधको अगल चढाउने भनिन्छ । देविलाई चढाएर शेष रहेको दुधलाई खिर पकाएर प्रसादका रुपमा वितरण गर्ने चलन छ । आश्विन शुक्ल चतुर्दशीमा मेला लाग्ने हुनाले यस क्षेत्रमा तितौड्या चतुर्दशी भनिन्छ । हाल यस देविस्थलका पुजारी जयपती उपाध्यायकै सन्तान छन् ।
सोही शिला केहि समय पछि दाणिम पोखरा भन्ने ठाउँमा स्थापना गरी चतुर्दशीको रातभर ग्राम बसी देवि त्रिपुराको पुजा गरे । वि.सं. १९४० सालमा पुर्वोक्त ठाउँबाट नजिकैको तितौडा नामक हालको पुजास्थलिमा स्थापना गर्ने कार्य जयपती उपाध्यायकै सन्तान सम्पती उपाध्याय र भारद्वाज गोत्रीय भुसु देवकोटाको सकृयतामा दाणिम पोखरा भन्ने ठाउमा मन्दिर स्थापना गरी देवि त्रिपुराको पुजा गरे । सोही ठाउँमा वि.सं. २०३८ सालमा नाडा गाविस निवासी नरेन्द्र बहादुर शाहले त्रिपुरा सुन्दरी भगवतीको मन्दिर निर्माण गरि दिएका थिए ।
उक्त मन्दिर जिर्ण भएको हुदा वि.स. २०७३ सालमा नयाँ मन्दिर निर्माण भएको थियो । सोही मन्दिरमा हाल विधिवत पुजा पाठ गरिन्छ । यसै ठाउँमा धौलपुरो नामक देवताको पनि पुजा स्थल छ । स्थानीय भाषामा धौलपुरो भनिए पनि देवलपुर वा देवस्थलमा रक्षक भएर रहने शिवांश स्वरुप क्षेत्रपाल नै “धौलपुरो” हो भनिन्छ । यस त्रिपुरा सुन्दरी मन्दिर नजिकैको घना जंगलमा पानिको मुहान रहेको छ । जसलाई “वासुधारा” भनिन्छ । सो धारामा स्नान गरि विधिवत रुद्रविषेक पुजा पाठ गर्दा देवि खुसि हुने जनविश्वास रहेको छ ।
त्रिपुरा सुन्दरी मन्दिर परिसरमा ठुलो मैदान रहेको छ । जसलाई स्थानीय भाषामा “गर्जे” भनिन्छ । सो स्थानमा श्रदालु भक्तजन जम्मा भई रातभर झोडा, देउडा, न्याउले, रत्यौली लगाएत विभिन्न सांस्कृतिक कार्यक्रम गरिन्छ । यहाँ धर्मशाला, सिंढी, मञ्च निर्माण भएका छन् । तितौडा ठूलो धार्मिक एवं पर्यटकीय स्थल हुने सम्भावना भएको क्षेत्र हो । पौराणिक धार्मिक स्थाल तितौडाको प्रचार प्रसारसंगै आवस्यकता अनुसार भौतिक पूर्वाधारको विकास हुन सकेको छैन । लेकाली हावापानी युक्त उच्च स्थानमा रहेको यो स्थान प्रकृतिक दृष्टिकोणबाट अत्यान्तै सुन्दर छ ।
वर्तमान समयमा जैमिनि गोत्रिया घोडासैनी ब्राह्मण परिवारले यस ठाउँमा त्रिपुरालाई इस्टदेविका रुपमा पुजा आरधना गर्दै आएका छन् । देविको आशिर्वादले ठुला–ठुला काम सम्पन्न हुन्छन् भन्ने जनविश्वास छ । तितौडामा श्रद्धालु भक्तजन आएर आश्विन शुक्ल चतुर्दशि रातभरी भजन कृतन खेलमाल गर्ने र माता त्रिपुराको दर्शन गर्दै पुर्णिमाका दिन प्रसाद लिएर फर्किने परम्परा छ । देशका विभिन्न ठाउँबाट प्रत्येक वर्ष तितौडामा श्रद्धालु भक्तजन वडा दशैंको एकादशीका दिनवाट रुद्धिपाठ चतुर्दशी सम्मन हजारो भक्तजनहरुले पुजापाठ गर्ने गर्दछन् । श्रदालु भक्तजनले चढाएका ७०–८० किलोसम्मका ठुला घण्टहरु थिए । वि.सं. २०५९ सालमा माओवादी जनआन्दोलनको बेला ६०–८० किलोसम्मका ६ वटा ठुला घण्टसंगै साना घण्ट र मन्दिर भित्र रहेका मुर्तिहरु चोरी भए जुन हाल सम्म पनि पत्ता लाग्न सकेका छैनन् ।
त्रिपुरा देविका लौकिक/अलौकिक दृश्य :
- शंख आकारको दह बण्ड
- पानिको तलाउको विच भागमा मध्यान्न राती देखिने दियो बालेको दृश्य
- वसि रहेको वाघ जस्तो दृश्य ।
- त्रिपुरा सुन्दरी देवि मन्दिर परिसरमा विभिन्न धुन बजेको ।
त्रिपुरा सुन्दरी देवि मन्दिर परिसरबाट बडिमालिका माता, रामारोसन पर्यटन क्षेत्र, कर्णाली गंगा, कालिकोट, दैलेख, सुर्खेत, कैलाली जिल्लाको शुन्दर दृश्य र अछाम जिल्लाको सबै भू–भागका शुन्दर दृश्य लगायत खप्तड क्षेत्रको शुन्दर दृश्य देख्न सकिन्छ ।
त्रिपुरा सन्दरी देवि भगवती कि जय ! जय !! जय !!!
सम्बन्धित तस्बिरहरु :






ढकारी-८, घोडासैन, अछाम निवासी लेखक कृष्ण उपाध्याय त्रिपुरा सुन्दरी मन्दिर तितौडाका पुजारी हुनुहुन्छ ।