मंगलसेन ।
जिल्ला कारागार अछामका कैदीहरुले गुनासै गुनासो गरेका छन्। शुक्रबार काराकार भित्र आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा सहभागि कैदीहरुले अछामका प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला समक्ष आफुहरुले कारागार भित्र भोगि रहेका समस्याहरुका बारेमा गुनासो सुनाएका हुन्।
कारागारमा आउने पानी निकै दुषित भएकाले फिल्टर पनी नहुदा फोहोर पानी खानु परेको, पर्याप्त पानीको व्यवस्था नभएको, कैदी युवाहरुले तयार पारेका विभिन्न किसिमका सामाग्रीहरुले बजार नपाएको गुनासो गरेका छन्।
जिल्ला कारागार अछामका चौकीदार देबेन्द्र बहादुर कुवँरका अनुसार कारागार भित्र रहेका युवाहरुले बाँसका मुडा, अगरबत्ती नेपाली ढाँका टोपी तयार पारेको तर बजारीकरण नहुँदा युवाहरु निराश भएको बताउनु भयो।
निकै दु:ख गरेर कैदी युवाहरुले पर्याप्त मात्रामा सामाग्रीहरु तयार पार्दा पनि त्यसको बजारीकरणका लागि कसैले पनि चासो नदिदा कैदीहरुमा थप निराशा बढेको चौकीदार कुवँरको भनाई रहेको छ। कुवँरले कैदीहरुले पाउनु पर्ने अन्य सुविधा पनि नपाएको गुनासो गर्नु भएको थियो।
आफुहरुले करागार भित्रका समस्याका बारेमा यस भन्दा अघि पनि सरोकारवाला समक्ष गुनासो राख्दा पनि सुनुवाई नभएको उनीहरुको गुनासो थियो। जिल्ला कारागार अछाममा ७५ जनाको क्षमता भए पनि हाल ८५ जना कैदीहरु रहेका छन्।
यता कैदीहरुको गुनासोको जवाफ दिनुहुदै अछामका प्रमुखजिल्ला अधिकारी यज्ञ बहादुर बुढाले पानीको समस्या समाधानका लागि सम्बन्धित निकाय संग छलफल गर्ने र कारागार भित्रका कैदीहरुको लागि फिल्टर उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनु भएको थियो।
कैदीहरुले तयार पारेका सामाग्रीको बजारीकरणका लागि विभिन्न सरोकार राख्ने संघ संस्था र व्यक्तिहरु संग समन्वय गर्ने आश्वासन दिनु भएको छ।