मेल्लेख ।
मर्यादित महिनावारी सम्बन्धि वडा स्तरिय सरोकारवालासंग दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ। अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्देवासिनीमा सो कार्यक्रम सुरु भएको हो।
वडा स्थित महिला सञ्जाल, स्वास्थ्य चौकीका प्रतिनिधि, किशोरीहरुलाई मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो। अभिमुखिकरण पश्चात छाउगोठको पहिचान गर्ने, महिनावारी विभेदको अवस्थाको विस्लेषण गर्ने, महिनावारी विभेदका कारण पोषणमा पर्ने शारिरीक र मानसिक असरका विषयमा छलफल तथा अन्तरक्रिया गरिने जनाईएको छ।
यस्तै आगामी दिनमा यस्ता विभेदहरुलाई न्यूनीकरण गर्नका लागि कार्य योजना निर्माण गरेर समुदाय स्तरमा जनचेतना फैलाउने विषयमा पनि छलफल गरिने जनाईएको छ।
वडा स्तरिय महिला सञ्जालका अध्यक्ष पार्वती साउँदको अध्यक्षतामा भएको अभिमुखिकरण उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष प्रकाश बहादुर अधिकारी रहनु भएको थियो।
समविकास नेपालको आयोजना र सामाजिक विकास कार्यालय मंगलसेन अछामको सहआयोजना र वडा कार्यालयको समन्वय उक्त अभिमुखिकरण कार्यक्रम सुरु भएको हो।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावल, अतिथि समविकास नेपालका अध्यक्ष दुधकला बिष्ट, जनप्रतिनिधी, महिला सञ्जालका पदाधिकारी, किशोरी लगायतको सहभागिता रहेको छ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण सम विकास नेपालद्धारा सञ्चालित गरिमा परियोजनाका फिल्ड संयोजक सुरेश स्वार र मनोसामाजिक विमर्शकर्ता पशुपति साउँदले गरि रहनु भएको छ।