१. विषय प्रवेश
जीवनलाई बुझ्ने अनगिन्ती बाटा हुन्छन्। कसैले विज्ञान मार्फत प्रकृतिको रहस्य खोज्छ, कसैले व्यवस्थापन मार्फत आर्थिक विकासको सूत्र निकाल्छ, कसैले प्रविधिबाट नयाँ सम्भावना सिर्जना गर्छ। तर यिनै सबै बाटोको अन्त्यमा एक प्रश्न उभिन्छ-मानवता भनेको के हो? जीवनको वास्तविक अर्थ के होरु समाज किन र कसरी टिक्छरु यसरी मूल प्रश्नको उत्तर खोज्ने कार्य मानवीकी संकायले गर्दछ।
नेपालका विश्वविद्यालयमा मानवीकी संकाय अन्तर्गतको Bachelor of Arts (BA) र Bachelor of Social Work (BSW) कार्यक्रमले हजारौँ विद्यार्थीलाई ज्ञान मात्र होईन, जीवन दृष्टि पनि दिन्छ। यो पढाई केवल पुस्तक पढ्ने वा परीक्षा उत्तीर्ण गर्ने काम होईन, बरु मानिस, समाज, संस्कृति, भाषा र जीवनलाई गहिरो रुपमा बुझ्ने यात्रा हो।
२. ज्ञानको महासागरमा यात्रा
BA अध्ययन गर्ने विद्यार्थीले विभिन्न विषयसँग परिचय पाउँछ। नेपाली साहित्यको कक्षामा ऊ केवल कवि वा लेखकको रचना मात्र पढ्दैन, बरु कविता भित्रको वेदना, उपन्यास भित्रको विद्रोह, कथा भित्रको जीवन यथार्थ अनुभव गर्छ।
इतिहास पढ्दा ऊ केवल मिति र घटनाको सूची कण्ठ गर्दैन, बरु समाजले विगतमा भोगेका संघर्ष, विद्रोह र क्रान्तिबाट वर्तमान बुझ्छ र भविष्यको दिशा खोज्छ।
दर्शनशास्त्रले ऊ भित्र गहिरो प्रश्न रोप्छ–“सत्य के होरु जीवन किन होरु न्यायको आधार के हो?” यस्तै समाजशास्त्रले उसलाई गाउँ, शहर, जाति, वर्ग र लिङ्ग बीचको सम्बन्ध बुझ्न सिकाउँछ।
त्यस्तै BSW अध्ययन अझ भिन्न यात्रामा लैजान्छ। यसले विद्यार्थीलाई समुदायमा पठाउँछ, फिल्ड वर्क गराउँछ। उदाहरणका लागि, काठमाडौंको कुनै वस्तीमा सडक बालबालिकासँग बसेर उनीहरुको जीवनकथा सुन्नु वा ग्रामीण क्षेत्रमा गएर महिलाको सीप विकास तालिममा सहभागी हुनु–यी अनुभवले विद्यार्थीलाई किताबले कहिल्यै नदिने शिक्षा दिन्छ। जब विद्यार्थीले आफ्नै आँखाले गरिबीको पीडा, हिंसाको घाउ वा अशिक्षाको अन्धकार देख्छ, तब उसले मानवताको मूल्य गहिराईमा अनुभव गर्छ।
३. व्यक्तित्वको निर्माण
मानवीकी पढाई केवल मस्तिष्कलाई ज्ञानले भरि दिने कार्य होईन, यो आत्मालाई परिष्कृत गर्ने प्रक्रिया हो।BA वा BSW विद्यार्थीले सिक्ने पहिलो कुरा हो–आलोचनात्मक सोच। ऊ कुनै पनि विषय अन्धविश्वासका आधारमा स्वीकार्दैन। बरु “किन यस्तो हुन्छरु यसको विकल्प के होर?” भन्ने प्रश्न गर्न थाल्छ। यही प्रश्न गर्ने बानीले उसलाई परिवर्तनको माध्यम बनाउँछ।
दोस्रो कुरा, यसले भावनात्मक परिपक्वता दिन्छ। समाजको पीडा देख्दा वा कुनै साहित्यिक कृतिमा पात्रको संघर्ष पढ्दा ऊ केवल दर्शक भएर बस्दैन। उसको मन संवेदनशील हुन्छ। ऊ अरुको आँसु देख्दा आफ्नै आँसु खसाल्छ, अरुको पीडा देख्दा आफ्नो दायित्व बोध गर्छ।
तेस्रो कुरा, यसले संचार र नेतृत्व सीप दिन्छ। समूहगत कार्य, प्रोजेक्ट, सेमिनार, प्रस्तुति, बहस–यी सबै अभ्यासले उसलाई आत्मविश्वासी वक्ता, सशक्त लेखक र सक्षम समन्वयक बनाउँछ। यही सीप भविष्यमा जे पेशा रोजे पनि अमूल्य हुन्छ।
४. पेशागत अवसरहरुको बहुरंगी संसार
मानवीकी पढाईलाई कतिपयले भविष्य विहीन भन्छन्, तर वास्तविकता ठीक उल्टो छ। शिक्षण पेशामा मानवीकी स्नातकहरु प्रमुख योगदानकर्ताको रुपमा रहँदै आएका छन्। नेपालका विद्यालय देखि विश्वविद्यालयसम्म नेपाली, अंग्रेजी, समाजशास्त्र, दर्शन, राजनीति विज्ञान, इतिहास पढाउने अधिकांश अध्यापक मानवीकी संकायका उत्पादन हुन्।
पत्रकारिता र सञ्चार क्षेत्रमा पनि उनीहरुको उपस्थिति बलियो छ। मिडियामा समाचार लेख्ने, सम्पादन गर्ने, कार्यक्रम प्रस्तुति गर्ने वा अनुसन्धानात्मक पत्रकारिता गर्ने धेरै मानवीकी स्नातकहरु सक्रिय छन्।
समाजकार्य र NGO/INGO क्षेत्रमा त BSW विद्यार्थीको ठूलो माग छ। उनीहरुले महिला सशक्तीकरण, बाल अधिकार, स्वास्थ्य सेवा, वातावरण संरक्षण, विपन्न समुदायको सशक्तीकरण जस्ता क्षेत्रमा परियोजना संयोजक, समाजसेवी, परामर्शदाता वा अनुसन्धानकर्ताका रुपमा काम गर्छन्।
सरकारी सेवामा पनि मानवीकी विद्यार्थीहरु सफल भएका छन्। लोकसेवा आयोग मार्फत प्रशासनिक, कूटनीतिक, शैक्षिक, कानुनी क्षेत्रमा उनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
विदेशमा त झन अझै ठूलो अवसर छ। BSW वा BA स्नातकले Care Worker, Social Researcher, Policy Analyst वा शिक्षकका रुपमा माग पाउँछन्। साथै, उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा उच्च शिक्षा पाउन सजिलै छात्रवृत्ति पाउने सम्भावना पनि हुन्छ।
५. समाज प्रतिको उत्तरदायित्व
मानवीकि पढाईले विद्यार्थीलाई केवल व्यक्तिगत भविष्य मात्र होईन, समाज प्रतिको दायित्व पनि सम्झाउँछ। साहित्यले समाजका दुःख–पीडा अभिव्यक्त गर्छ, पत्रकारिताले अन्याय उजागर गर्छ, समाजकार्यले समस्या समाधानमा हात हाल्छ।
उदाहरणका लागि, BSW का विद्यार्थीले गाउँमा गएर साना किसानलाई तालिम दिन्छन्। यसले केवल किसानलाई मात्र नभई गाउँको अर्थतन्त्रलाई बलियो बनाउँछ। BA का विद्यार्थीले लेख वा कविता लेखेर सामाजिक विभेदको विरोध गर्छ। यसले केवल पुस्तकमा मात्र होईन, मानिसको चेतनामा परिवर्तन ल्याउँछ।
यसरी मानवीकी पढ्ने विद्यार्थी समाज परिवर्तनको संवाहक बन्छ। उनीहरुले अरुका लागि बोल्छन्, अरुका लागि काम गर्छन्, र अरुका लागि सपना देख्छन्।
६. चुनौतीहरुको यथार्थ
यद्यपि सबै कुरा सहज छैन। मानवीकी संकायले अझै पनि समाजमा “कम मूल्यको” विषय भन्ने धारणा भोगि रहेको छ। धेरै अभिभावक आफ्ना छोराछोरीलाई इन्जिनियरिङ, मेडिकल वा म्यानेजमेन्ट तिर धकेल्छन् तर त्यहाँ केही सफल हुन नसकेर, केही रोजगार प्राप्त गर्न नसकेर मानवीकी संकायकै कार्य गर्न बाध्य छन् ।
पाठ्यक्रमलाई अझ व्यावहारिक, अनुसन्धानमुखी र नवीन बनाउनु पर्ने आवश्यकता छ। कतिपय संस्थानमा आवश्यक पूर्वाधार र स्रोतको अभाव छ। यी चुनौती समाधान नगरेसम्म यसको वास्तविक मूल्य समाजले पूर्ण रुपमा बुझ्न सक्दैन।
तर चुनौतीसँगै सम्भावना पनि विशाल छ। मानवीकी पढ्नेले आफ्नो सीपलाई सही ढंगले प्रयोग गर्न सके भने ऊ अरु भन्दा अलग, अझै गहिरो र अर्थपूर्ण योगदान दिन सक्छ।
७. निष्कर्ष
मानवीकी संकाय अन्तर्गतको BA वा BSW अध्ययन कुनै सामान्य डिग्री होईन। यो जीवनलाई बुझ्ने, समाजलाई चिन्न सक्ने, मानवीय मूल्य आत्मसात गर्ने विद्यालय हो। यसले विद्यार्थीलाई शिक्षक, पत्रकार, लेखक, प्रशासक, अनुसन्धानकर्ता वा समाजसेवी बनाउँछ। तर यस भन्दा ठूलो कुरा, यसले उनीहरुलाई संवेदनशील नागरिक, उत्तरदायी मानव र समाज परिवर्तनको वाहक बनाउँछ।
यसैले भन्न सकिन्छ–मानवीकी संकाय भविष्य अन्धकार होईन, बरु उज्यालो यात्रा हो। यो यात्रा केवल व्यक्तिगत सफलता होईन, समग्र समाजको उत्थान हो।
लेखक ( डा. देवेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलालीका उपप्राध्यपक हुनुहुन्छ।