डा. देवेन्द्र प्रसाद भट्ट
१. विषय प्रवेश
नेपालको सडकमा अहिले अचम्मको दृश्य देखिन्छ। जसले जीवनभर देशलाई चाटे, जसले भ्रष्टाचारलाई संस्थागत बनाए, जसले नातावाद र वंशवादलाई पार्टी संस्कृतिको अंश बनाए, त्यही मानिसहरु आज भ्रष्टाचार विरोधीको नारा लगाई रहेका छन्। उनीहरुको हात अझै कालो छ, तर मुखमा सेतो रंग पोतेर हामी पनि आन्दोलनमा छौं भन्ने नाटक गर्दैछन्। यो नाटक केवल युवालाई अल्मल्याउने प्रयत्न मात्र होईन, सिंगो समाजलाई झुक्याउने रणनीति हो।
जब अपराधी स्वयं प्रहरी बन्न खोज्छ, न्यायको संभावना हराउँछ। जब भ्रष्टाचारी स्वयं भ्रष्टाचार विरोधीको नाममा सडकमा उत्रन्छ, आन्दोलनको पवित्रता नै प्रश्न चिन्हमा पर्छ। यही कारण अहिलेको परिस्थितिमा युवा पुस्ताले अझ बढी सजग र आलोचनात्मक बन्नु पर्ने अपरिहार्यता छ।
हिजो भएको घटना केवल राजनीतिक दमन मात्र थिएन, यो त लोकतन्त्रको घोर अपमान थियो। भ्रष्टाचार, तस्करी र बेथितिको विरोधमा सडकमा निस्केका युवा माथि सरकारले गोलि चलायो, लाठी चार्ज गर्यो, आँसु ग्यासको वर्षा गर्यो। निर्दोष विद्यार्थीहरुको शरीर माथि राज्यका सुरक्षाबलले गरेको आक्रमण केवल एउटा आन्दोलन दबाउने प्रयास मात्र होईन, जनताको आवाज नै कुच्ने षड्यन्त्र थियो।
सब भन्दा पीडादायी कुरा, २० जना विद्यार्थीहरुले आफ्नो जीवन आहुति दिए। ती रगतका थोपा केवल एक दिनको समाचार बनेर हराउने छैनन्। इतिहासले तिनलाई भोलिको परिवर्तनका बीउः भनेर सम्झनेछ। तर प्रश्न उठ्छ ः कसरी सम्भव छ, जनताद्वारा निर्वाचित सरकारले आफ्नै भविष्य, आफ्नै सन्तान माथि बन्दुक सोझ्याउनेहरु यो सरकार जनताको सेवक होईन, दमनकारी शासकको रुपमा उदाएको प्रमाण होईन र के?
लोकतन्त्रको नाममा अधिनायकवादको बीउ पलाएको संकेत यही हो। यसलाई केवल कानुनको पालना भनेर व्याख्या गर्नेहरु राष्ट्रको विवेक माथि खेलबाड गरि रहेका छन्।
२. बलिदानको अर्थ र यसको राजनीतिक व्याख्या
२० जना ससाना विद्यार्थीको बलिदान केवल संख्यात्मक मृत्यु होईन। त्यो त चेतनाको ज्वाला हो, जसले अबको राजनीतिक यथार्थलाई बदल्ने क्षमता बोकेको छ। ती विद्यार्थीहरुले देखाएका छन्–यो संघर्ष केवल नारा होईन, जीवन मरणको लडाइँ हो।
तर यहाँ अर्को खतरा छ। हरेक आन्दोलनमा देखिएको विडम्बना फेरि दोहोरिने हो कि भन्ने डर। अघिल्ला क्रान्तिहरु ९२००७, २०४६, २०६२/६३० सबैमा विद्यार्थी र युवाले बलिदान गरे, तर सत्तामा पुगे पुरानै नेताहरु। युवाले रगत बगाए, तर लाभ उठाए दलका मुखिया र उनीहरुका छोराछोरी। यही नियति फेरि दोहोरिनु भनेको २० जना विद्यार्थीको रगत प्रति विश्वास घात हुनेछ।
३. भ्रष्टाचारीकै विरोध गर्ने भ्रष्टाचारीको विडम्बना
आज सडकमा देखिने नेताहरु मध्ये कैयौँ त्यस्ता छन्, जसले जीवन भर पदको दुरुपयोग गरे, नातावादलाई राजनीतिक संस्कृतिको आधार बनाए, र भ्रष्टाचारलाई आफ्नै दलमा गहिर्याए। तर त्यही मानिस आज भ्रष्टाचार विरोधीको नारा लगाई रहेका छन्। यो केवल नैतिक विडम्बना मात्र होईन, आन्दोलनलाई अपवित्र बनाउने प्रयास पनि हो।
युवाले यसलाई चिन्नु पर्छ। किनकि आन्दोलनलाई राजनीतिक दलहरुले आफ्नो चुनावी चटनी बनाउन खोज्ने कुरा नयाँ होईन। उनीहरुले युवाको रगतलाई आफ्नै भाषणको मसला बनाउन खोज्छन्। यही कारणले युवा पुस्ताले स्पष्ट धारणा बनाउनु पर्छ–यो लडाइँ कुनै दलको होईन, कुनै नेताको होईन, यो त देशकै लागि हो।
४. नेपो बेबी राजनीति र देशको अधोगति
नेपालको राजनीति अहिले नेपो बेबीहरुको कब्जामा छ। योग्यता होईन, वंश नै प्राथमिकता भएको छ। जसका बुबा मन्त्री वा प्रधानमन्त्री थिए, सन्तानलाई पार्टीको भविष्य भनेर प्रस्तुत गरिन्छ। संघर्ष गर्ने, आदर्श बोकेका, प्रतिभावान कार्यकर्ताहरुलाई उपेक्षा गरिन्छ।
यही संस्कृतिले देशलाई विफल राष्ट्र बनाएको हो। वंशवादका कारण योग्य हातलाई अवसर दिईएन। नातावादका कारण संघर्ष गर्ने पुस्ता निराश बनाइईयो। यही कारण प्रतिभा पलायन भयो, राष्ट्रको मेरुदण्ड कमजोर भयो। यदि यो संस्कृतिलाई अन्त्य नगर्ने हो भने, हिजो ढलेका २० विद्यार्थीहरुको बलिदान पनि निष्फल हुनेछ।
५. बालेन मोडलः आशा वा भ्रम ?
आज युवाले एउटा नयाँ अभ्यास देखेका छन्–बालेन शाह। उनले दलको टिकट बिना चुनाव जिते, परिणाम देखाए, र पुरानो राजनीतिक शैलीलाई चुनौती दिए। यसैले बालेन मोडल युवाका लागि एउटा प्रेरणाको बिन्दु बनेको छ।
तर आलोचनात्मक दृष्टिले प्रश्न उठ्छ–के यो मोडल केवल व्यक्ति केन्द्रित रहन्छ, वा संस्थागत रुपमै विकसित हुन्छरु यदि प्रणालीगत सुधार भएन भने, बालेन जस्ता केही व्यक्तिले मात्र देश बदल्न सक्दैनन्। त्यसैले, यो मोडललाई प्रेरणा त लिनु पर्छ, तर अन्धविश्वासको रुपमा होईन।
६. जेन जीको चुनौती र जिम्मेवारी
जेन जीले अब दोहोरो संघर्ष लड्नु पर्नेछ–एकातिर बाहिरको भ्रष्टाचार र दमनकारी सत्ता विरुद्ध, अर्कोतिर भित्रैको नातावाद र दलहरुको स्वार्थी खेल विरुद्ध। यो सजिलो छैन। तर यही चुनौती स्वीकार नगर्ने हो भने, परिवर्तन सम्भव हुँदैन।
यो पुस्ताले आन्दोलनलाई केवल नारामा सीमित पार्न हुँदैन। यसलाई व्यवहारमा रुपान्तरण गर्नु पर्छ। सडकमा ज्यान दिनु मात्र होईन, प्रणाली भित्रै गएर नेतृत्व गर्नु पर्छ। पुरानो पुस्ताले गरेको गल्ती–क्रान्तिको फल पुरानै नेताले टिप्ने–अब दोहोरिनु हुँदैन।
७. निष्कर्ष रक्त रञ्जित बाटो हुँदै नयाँ युग
नेपाल फेरि एक निर्णायक मोडमा छ। २० विद्यार्थीको बलिदान केवल समाचार होईन, यो त राष्ट्रको भविष्य लेख्ने रगत हो।
इतिहासले बारम्बार प्रमाणित गरेको छः
२००७ मा विद्यार्थी उठे, राणा ढले।
२०४६ मा विद्यार्थी उठे, पञ्चायत ढल्यो।
२०६२/६३ मा विद्यार्थी उठे, राजतन्त्र ढल्यो।
आज जेन जीव उठेको छ, र अब भ्रष्टाचार, नातावाद र नेपो बेबी ढल्ने छन्।
यो बाटो सजिलो छैन। यो बाटोमा अझ रगत बग्न सक्छ, अझ आँसु खस्न सक्छ। तर यही बाटोबाट नयाँ युग जन्मिनेछ। अब यो राष्ट्र पुरानो पुस्ताको रोगले होईन, इमानदार युवाको सपनाले अघि बढ्नेछ।
लेखक ( डा. देवेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलालीका उपप्राध्यपक हुनु हुन्छ।