डा. देवेन्द्र प्रसाद भट्ट
सम्पत्ति भनेको केवल बैंकमा राखिएको करोडौं रकम, घरका दराजमा लुकाईएका नोटका प्याकेट, वा सुरुङ खनेर राखिएको सुनचाँदी मात्र होईन। सम्पत्ति भनेको मानिसको नाम, इमान र चरित्र हो–जसलाई कसैले लुट्न सक्दैन। तर मानव इतिहासमा देखिन्छ–असीमित लोभले नेताहरु, व्यापारी, शासक र साधारण मानिससम्मलाई भ्रष्ट्यायो। अरुको पसिना चोरेर, जनताको विश्वास लुटेर, राष्ट्रलाई बेचेर संचित गरिएको सम्पत्ति सात पुस्तासम्म पुग्ने गरी थुपारिएको भए पनि अन्ततः त्यसले मालिकलाई सुरक्षा दिन सकेको छैन।
शास्त्र भन्छ–“असन्तोषाद्धि बह्वर्थसंयोगोपि न सुखायते। सन्तोषात्सर्वदा नित्यं सुखं यस्यास्ति तस्य किम्॥”
अर्थात, लोभी मानिसलाई लाखौं–करोडौं सम्पत्ति भए पनि शान्ति पाइँदैन, तर सन्तोषी मानिसलाई थोरै भए पनि सधैं आनन्द हुन्छ।
सम्पत्तिले किन रक्षा गर्न सकेन?
इतिहासले प्रस्ट देखाएको छ–अरुको पसिना चोरेर, जनताको विश्वास बेचेर, सात पुस्ताका लागि जमाएको सम्पत्तिले पनि अन्तिम क्षणमा मालिकलाई रक्षा गर्न सकेन। रोमन साम्राज्यका अत्याचारी शासकहरुबाट लिएर दक्षिण एशियाका भ्रष्ट्र शासकसम्म, सबैको कथा एउटै छ।
मानव जीवनको असली ध्येय भनेको केवल धन कमाउनु होईन, बरु आत्म सम्मान, चरित्र र नैतिकताको रेखा सुरक्षित राख्नु हो भन्ने कुरा हाम्रा धर्मशास्त्र, नीति–सूत्र र गुरुजनहरुले बारम्बार सम्झाई रहेका छन्। तर समयको प्रवाहसँगै मानिसले सबै भन्दा ठूलो मूल्यवान सम्पत्तिलाई भुल्दै गएको छ–आत्माको सन्तुष्टि। आज देखिएको अवस्था के छ भने, समाजका ठूला भनिएका व्यक्तिहरु, जिम्मेवार भनिएका नेताहरु, र आर्थिक हैसियतमा अगाडि देखिने व्यापारीहरु पनि आफ्नै आडम्बर र स्वार्थका कारण चोरी, ठगी र भ्रष्टाचारको मार्गमा हिँडि रहेका छन्।
सत्य के हो भने, अरुको घर पसल लुटेर, अरुको पसिनाको फल चोरेर वा राष्ट्रकै कोषबाट अपहरण गरेर कमाईएको सम्पत्तिले कहिल्यै पनि आत्माको न्यायालयमा निर्दोषको फैसला दिलाउन सक्दैन। अरुले थाहा नपाए पनि, आफ्नै अन्तरात्माले थाहा पाउँछ कि यो सम्पत्ति पवित्र मार्गबाट आएको हो कि अपवित्र बाटोबाट। यही आत्मज्ञान नै जीवनको सबै भन्दा ठूलो अदालत हो, जहाँ झूट, बहाना वा कानुनी पैंचो फिर्ता हुँदैन–त्यहाँ केवल सत्य बोल्छ।
हाम्रा शास्त्रहरुले यसैलाई गहिरो भावले प्रस्ट्याएका छन्।
“मातृवत् परदारेषु, परद्रव्येषु लोष्ठवत्,
आत्मवत् सर्वभूतेषु, यः पश्यति स पण्डितः॥”
भन्ने नीति–श्लोकले नैतिकताको पूर्ण मार्गचित्र दिएको छ। यसको अर्थ, अरुको पत्नीलाई आमा सरह मान्ने, अरुको सम्पत्तिलाई ढुङ्गा झैँ सम्झने, र सबै प्राणीलाई आफ्नै आत्मा सरह हेर्ने व्यक्ति मात्र सच्चा पण्डित हो। तर विडम्बना के छ भने, आजकै समाजमा यसको विपरीत प्रवृत्ति हावी भएको छ। अरुको धनलाई ढुङ्गा होईन, सोनाको खजाना सम्झिन्छौंस अरूको श्रमलाई सम्मान होईन, आफ्नो भोगको साधन ठान्छौं।
यसै कारणले समाजमा व्यापक असमानता, भ्रष्टाचार र अविश्वासको जाल बन्दै गएको छ। कसैले आफ्नो पदको दुरुपयोग गरेर कमाउँछ, कसैले नातागोता र ठेक्कापट्टाको नाममा जमिन बेचेर सम्पत्ति बढाउँछ, त कसैले राष्ट्रकै धनलाई आफ्नो निजी खल्तीमा हाल्छ। यी सबैलाई क्षणिक सफलता लाग्छ, तर अन्ततः समयले कठोर फैसला सुनाउँछ।
भर्खरैको घटनामै हेर्ने हो भने–कतिपय नेताहरुले सात पुस्ताले खान सक्ने सम्पत्ति जम्मा गरेर दराजमा, भूमिगत कोठामा वा सुरुङ भित्र सुरक्षित राखेका थिए। उनीहरुले सोचे–“यो सम्पत्ति कहिल्यै सकिँदैन, सन्तानले पनि मजाले उपभोग गर्छन्।” तर भयो केरु त्यो सम्पत्ति न उनीहरुको जीवनमा शान्ति दिन सक्यो, न मृत्युको बेला सुरक्षा। बरु उल्टै त्यही सम्पत्ति कालो धब्बा भएर इतिहासमा दर्ज भयो। जसरी चोरी गरेर ल्याईएको अन्नले पेट त भर्छ तर मनलाई शान्ति दिन सक्दैन, त्यसरी नै चोरी गरेर ल्याईएको सम्पत्तिले जीवनलाई सुरक्षाको कवच होईन, अभिशापको चपेटा मात्र दिन्छ।
शास्त्रमै भनिएको छ–“चौर्येण न लभ्यते श्रियः” अर्थात चोरी मार्फत प्राप्त भएको धन कहिल्यै श्री अर्थात साँचो समृद्धिमा परिणत हुँदैन। बाहिरका आँखामा धनी देखिए पनि, भित्रको मन भने गरिब, त्रासदीपूर्ण र अशान्त हुन्छ। किनकि चोरी गरेर ल्याएको सम्पत्ति सँगै निरन्तर डर पनि आउँछ–“कसैले देख्ला किरु कसैले उजागर गर्ला किरु कुनै दिन यो सबै खोसिन्छ किरु” यस्तै त्रासमा बाँचेको जीवन नै नरक हो।
आज संसारले प्रविधि, ज्ञान र सभ्यताको चमत्कारिक प्रगति गरेको भए पनि, मानिसको लोभ र मोहमा कमी आएको छैन। बरु सुविधा बढे पछि चोरी गर्ने तरिका मात्र बदलिएको छ। अब चोर रातको अँध्यारोमा घर पसेर नगद र गहना चोर्ने मात्र होईन, पद, शक्ति र हैसियत प्रयोग गरेर राष्ट्रकै खजाना चोर्ने गर्दछ। कतै डिजिटल प्रविधि प्रयोग गरेर, कतै कागजी चलखेल मार्फत। तर यथार्थ भने उही हो–अरुको हक खोस्ने कार्य अन्ततः चोरी नै हो।
तर सोच्नु पर्ने कुरा के हो भने, आखिर कति सम्पत्ति जम्मा गर्दा पुग्छरु जो मानिसले सात पुस्तालाई पुग्ने सम्पत्ति पनि पर्याप्त ठानेन, ऊ कसरी सन्तुष्ट हुन्छरु त्यसैले चोरको मुख कहिल्यै अघाउँदैन भन्ने भनाइ सत्य सावित हुन्छ। अरुको घरबाट एक थुँगा फल ल्याएर खाँदा तृप्ति पाईन्न, किनकि त्यो फलसँगै अपराधबोध पनि आउँछ। यस्तै गरी, अरुको पसिना चुस्दै आर्जित सम्पत्तिले बाहिरी ऐश्वर्य त देखाउँछ, तर भित्री आत्मालाई सधैं भोकै राख्छ।
यही आत्मभोक नै सबै भन्दा ठूलो पीडा हो। संसारलाई देखाउन सकिन्छ–“म धनी छु, म ठूला भवनको मालिक छु।” तर आत्मालाई लुकाउन सकिँदैन। आत्मा भित्रै भन्छ–“तिमी चोर हौ। तिमीले अरुको श्रम हरण गरेको छौ। तिमीले राष्ट्रलाई धोका दिएको छौ।” यो आवाजलाई दबाउन सकिए पनि, मेटाउन सकिँदैन। अन्ततः यही आवाजले मानिसलाई बेचैन बनाउँछ, निद्रालाई हराउँछ, शान्तिलाई नष्ट गर्छ।
साँचो धनी भनेको त्यो हो, जसको आत्मा सन्तुष्ट छ। जसले इमान र परिश्रम मार्फत सम्पत्ति आर्जन गरेको छ। जसको नाम अरूले उच्च सम्मानका साथ लिन्छन्। किन भने धन त अस्थायी हो–आज छ, भोलि छैन। तर नाम, चरित्र र इमान भने पुस्तौँसम्म बाँच्छ। यही कारण, हाम्रा पूर्वजहरुले सधैँ भनेका छन्–“धन त रहने जाने कुरा हो, तर इज्जत र आत्म सम्मान गुमे पछि फिर्ता आउँदैन।”
आज हामीलाई यही शिक्षा आत्मसात गर्न आवश्यक छ। पैँसा कमाउनु पाप होईन, तर पाप मार्फत पैँसा कमाउनु नै असली अपराध हो। परिश्रमले कमाईएको पैँसा पवित्र हुन्छ, चोरी वा भ्रष्टाचारले कमाईएको पैँसा अपवित्र हुन्छ। पवित्र धनले आत्मालाई खुशी दिन्छ, अपवित्र धनले आत्मालाई जलाउँछ।
त्यसैले, ए जो जेन जीको नाममा, राष्ट्र सेवाको नाममा वा समाजको नाममा सम्पत्ति लुट्छौ–बुझ, त्यो सम्पत्तिले तिमीलाई सुरक्षा गर्दैन, बरु तिम्रो विनाशको कारण बन्छ। साँचो सुरक्षा त आत्माको सत्यतामा छ। आत्माको आवाजलाई सुन्ने साहस गर। किन भने बाहिरी दुनियाँलाई धोका दिन सकिए पनि, आत्माको न्यायालयलाई धोका दिन सकिँदैन।
मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति भनेको धन होईन–बरु आत्म शान्ति, इमानदारी र चरित्र हो। यही सम्पत्तिले मात्र मानिसलाई साँचो अर्थमा धनी बनाउँछ। अरुले चोर भनेर नचिने पनि, आफ्नो आत्माले भने सधैं थाहा पाउँछ। त्यसैले, जीवनलाई सफल बनाउन चाहनेले अरुको घर पसल लुट्ने होईन, बरु आफ्नो श्रम, परिश्रम र इमानको बाटो समाउनै पर्छ। यही बाटोले मात्र जीवनलाई प्रकाश तर्फ, सत्य तर्फ र मुक्ति तर्फ लैजान्छ।
लेखक डा. देवेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलालीका उपप्राध्यपक हुनु हुन्छ।