साँफेबगर ।
अछामको साँफेबगर नगरपालिकामा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सरु भएको छ। साँफेबगर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना, वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा आस्था नेपालको समन्वय र सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
साँफेबगरमा आयोजित उक्त विशेष कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख अनिता जोशीको अध्यक्षतामा संचालन भएको थियो। कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि तथा नगर उपप्रमुख कुँवरले बालबालिकाको चौतर्फी विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि बाल सञ्जालको भूमिका महत्वपूर्ण हुने बताउनु भयो।
उहाँले स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिँदै भन्नु भयो–“बालबालिकाहरु भोलिका कर्णधार मात्र होईनन्, उनीहरु आजका साझेदार पनि हुन्। उनीहरुको हक अधिकार संरक्षण, संरक्षणमुखी विकास र आवाजलाई स्थानीय तहको नीति तथा योजना तर्जुमा प्रक्रियासम्म पुर्याउन साँफेबगर नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध छ। नगर क्षेत्रमा रहेका बाल विवाह, विद्यालय ड्रप–आउट र बाल श्रम जस्ता चुनौतीहरुलाई न्यूनीकरण गर्न यो बाल भेला र नवगठित सञ्जालले महत्वपूर्ण भूमिका खेल्नेछ। बालबालिकाका लागि विनियोजित बजेट र कार्यक्रमहरुलाई सही ठाउँमा सदुपयोग गर्दै उनीहरुको चौतर्फी विकासका लागि नगरपालिकाले आगामी दिनमा अझ ठोस कार्यक्रमहरु ल्याउनेछ। यो भेलाले नगर क्षेत्रका बालबालिकालाई संगठित हुन, आफ्ना समस्या एवं प्राथमिकताहरु आफै पहिचान गर्न र नेतृत्वदायी भूमिका खेल्न सक्षम बनाउने विश्वास मैले लिएको छु।“
कार्यक्रममा सहजकर्ताहरुले प्रोजेक्टर र डिजिटल माध्यमबाट ’बाल भेलाको महत्व’ माथि प्रकाश पार्दै बालबालिकाहरु एकै ठाउँमा जम्मा भई आफ्ना चासो र अधिकारका विषयमा विचार राख्ने अवसर सिर्जना गर्ने र छलफल मार्फत आफ्ना वास्तविक प्राथमिकताहरु निर्धारण गर्न सक्ने बारे प्रस्तुतीकरण दिईएको थियो।
दुई दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा आस्था नेपालका प्रतिनिधि ध्रुव स्वाँर, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो। कार्यक्रमले नगर क्षेत्रका बालबालिकाको नेतृत्व विकास र उनीहरूको हक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ। कर्यक्रमको सहजीकरण आस्था नेपालका भ्वान सिंह सार्कीले गर्नु भएको थियो।
-1779528907.jpeg)

