केशव कुमार मलाशी
१९ जनाको निर्मम हत्या अनि सयौँको संख्यामा अस्पतालको बेड पनि नपाएर भुईमा छटपटाई रहेका स्वतन्त्र जेन्जी सेनानीहरुमा सर्मपित यो आलेख लेख्दै गर्दा जेन्जी पुस्ता भर्खरै पार गरेको यो ३० वर्षे युवाका हात कापि रहेका छन्। तर पनि नेप्थयको चर्चित गीत गाँउगाँउबाट उठ, वस्तीवस्तीबाट उठ.... हातमा कलम हुनेहरु कलम लिएर उठ.... भन्ने गीत पृष्ठभुमिमा बजाउँदै पंक्तिकार भरपुर्ण सर्मथनका साथ आन्दोलनको आत्मविश्वास बढाउन अनि राज्यलाई झकझकाउन मध्य रातमा उद्धेलित भएको छ।
विश्वमा गत डेढ दशकमा केही देशहरुमा सामाजिक सञ्जालहरु मार्फत खास गरी फेसबुक, टिकटक, ट्वीटर (एक्स), भाईबर, मेसेन्जर, इन्स्टाग्रामका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट सरकार या राज्य व्यवस्थाका विरुद्ध नेतृत्व विहीन आन्दोलनहरु सफल हुदै गई रहेका छन्। बंगलादेश पछिको ईन्डोनेसिया हालैको एउटा ज्यवलन्त उदाहरण हो। तर यीनै सामाजिक सञ्जाल पनि बन्द गर्ने सरकारको उल्टो अधोगतिका बाबजुत जेन्जी आन्दोलन अर्को विश्वव्यापी न्युज कभर बनेको छ।
विधमान बेथिति, भष्टाचार, अन्याय, कुरुती, नातावाद, कृपावाद, आफनो मान्छे, भनसुन, चाकडीका विरुद्ध जेन्जी पुस्ताको स्वतस्फुर्त आन्दोलनको परिणाम निकै भयानक अनि गम्भीर हुने सँकेत देखिई सकेको छ। जेन्जी पुस्ता, जो आजको देशका पिलर हुन तीनै पिलरलाई बलियो बनाउनुको ठीक विपरित ढाल्ने पवृति अन्यन्त खेदजनक भत्र्सना योग्य छ। सत्ताको कुर्सीमा लिसो टासिए झैँ टासिने अनि शक्तिको चरम दुरुपयोग गर्नेहरुको यस आततायी घटनाका मुख्य अभियुक्तहरु नै हुन तीनलाई कानुनी राज्यको कठघरामा ल्याएर हदैसम्मको कारबाही हुनु पर्छ, अन्यथा यस अपराधको क्षम्यता कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन।
नेपालको वर्तमान सन्दर्भमा नेतृत्व विहीन या कसको र कस्तो नेतृत्व या नायकत्वमा जनविद्रोह हाक्ने भन्ने आम चासोको विषय थियो। आज यही विषय जेन्जी पुस्ताका जनताले अन्याय, अत्याचार, अमानवीय राज्य व्यवस्था प्रति नै विद्रोही अवस्थामा पुगेको परिस्थतिमा प्रमाणित गरि दिएका छन्। बर्बरतापुर्ण दमनको विरुद्ध बुलन्दीको बिद्रोह विस्फोटको चरणमा पुग्ने निश्चित छ। भविष्यका कर्णधार स्कुले बालबालिका देखि देशका आधार युवा पुस्ता जेन्जीको नामले भष्टाचारको जन्जीर तोड्न आफनो ज्यानको प्रवाह नगरी अग्रपंक्तिमा आएका छन्, यसले युवा माझ देखिएको चरम निराशा फेरि एक पटक सडक संघर्षमा देखाएको छ।
सुशासनको सिंहदरबार गाउँगाउँमा भन्दा पनि सिंहदरबारको भ्रष्टाचार र नेत्तृत्वको राजकीय जीवनशैली प्रतिको विृतष्णाको बाढी बनेर बगेको छ। यस बाढीको भेलमा वेवारिसे, लापत्ता, बेपत्ता भएर को को बग्ने हुन, थाहा छैन। गरिब, निमुखा, बेरोजगार र सर्वहारावर्गको जीवन स्तरमा केही देखिने सुधार होला भन्ने अपेक्षा माथिको वर्षौको वज्रपात अब अति नै भयो भन्दै केही अगाडि ईनफ ईज ईनफ भनेका युवाको पुनरावृति देखिएको छ। समाजवाद उन्मुख होईन, समाजवाद माथि ठूलो व्यंग्य गर्दै विलासिता तर्फ रमाउने, पजेरोका तमासी सवारहरु साधारण जनता माथि धुलो उडाउनेका विरुद्धको यो आवेगले आन्दोलनको अग्निमा होमिन बाध्य बनाउने निश्चित छ।
आम जनता र जेन्जी युवा पुस्ताले विकास तिरको पथमा देश लम्कीएको, प्रत्यक्ष रुपमा आफ्नो सीप क्षमता, ज्ञानले रोजगारीमा या आयस्रोतमा या जीवन स्तर सुधारमा कुनै सकारात्मक परिवर्तन देखेको छैन। त्यसको विपरित नेताहरुको विलासित जीवनशैली, पारिवारिक लिप्तता, नातावाद, कृपावाद, राजनीतिक अदूरदर्शिता र भ्रष्टाचारबाट ठडिएका बडेमान महल, देश विदेशमा सयर अनि त्यही चिल्ला फ्रोसा बनावटी आदर्श फुक्ने नक्कली राजनीतिले जनता माथिको भम्र अब तोडिदैछ।
एउटा आम मान्छेको अनुभुति सामान्य दुई छाक जोड्न नसक्ने जीवनशैली तर साधारण झोले कार्यकता देखि शीर्षस्थ नेतासम्म भ्रष्टाचारमा चुर्लम्म डुबेर सात पुस्ता पुग्ने सम्पति के तीनै आम नागरिकको रगत र पसिनाको दोहन होईन?
राज्यको राजनीतिक, आर्थिक, सामाजिक र प्राविधिक संयन्त्र नै पूरै कब्जामा लिएर भ्रष्टाचारमा लिप्त रहने धमिराहरुले के अधिनायकवादी शैलीमा स्रोत साधनको दुरुपयोग गरेका छैनन? लोकलाजको कुनै ख्यालै नगरी आफ्ना आसेपासे, सालासाली, श्रीमती, भाई, छोरी–बुहारी या बफादारहरुलाई मन्त्री, अन्य उच्चमा पटक–पटक नियुक्ति दिन के कस्तो राजनैतिक नैतिकताले दिन्छ?
जेन जीको पुस्ता मार्फत माथिका अनुत्तरित प्रश्न हरेक जनताले नेता भनाउँदाहरुलाई सोध्ने बेला आएको छ। निर्लज्ज राजनितीमा एकाधिकारवादी प्रवृत्तिमा सीमित स्वार्थ समुह दुई चार दिन रमाउलान, तीनका झोले कार्यकर्ताले बोल्न नसकलान तर पनि वर्तमान परिपेक्ष्यमा यस्ता कुपात्र वा पद्धतिका विरुद्धमा हुने जनविद्रोहमा तीनै दलका कार्यकर्ताहरुको पनि अप्रत्यक्ष समर्थनको सम्भावना थप बढेर गएको छ।
विद्रोही सचेत जनता खासमा जो शिक्षित, जागरुक, श्रमिक, चेतनशील, सर्घषशील मध्यम वर्ग छ जो आफ्नो अनि देशको वर्तमान अवस्था प्रति चिन्तित भएर सरकार या दलहरुका नेता या पद्धतिको विरुद्ध सोचेरै बुझेरै विद्रोही कित्तामा पर्खाल झै उभिएको छ । जेन्जी पुस्ता लगायत ती आम युवा जसले देशमै आफनो भविष्य पहिल्याउन लागि परेका छन्। देशमै अध्ययन, अनुसन्धान गरेर भविष्य कोर्न सकिन्छ भन्ने विश्वास टुटेको छ । सर्टिफिकेट सँकलन मात्रै गर्ने कि पासपोर्ट बनाउने भन्ने दैनिकी दिविधामा जो दिनरात प्रताडित बनेका छन्।
संवैधानिक अनि निरंकुश राजतन्त्रको शासनको पनि केही अनुभव गरेका तर २०६२÷६३ को जनआन्दोलनमा सहभागी हुँदै गणतन्त्रात्मक शासन व्यवस्था भोग्दै आएका १६ देखि ४५ वर्ष उमेरका पुस्ताको करिब एक करोड पैंतालीस लाख अनि रोजगारी र अध्ययनका लागि देश बाहिर पुग्ने वर्ग दिन प्रतिदिन बढदो छ। अध्ययन वा स्वरोजगारीमा भए पनि ६० लाख युवाहरु जो देशमै छन् जसले देशका लागि कुनै न कुनै रुपमा योगदान दिई रहेका छन्, ती नै युवाहरु विद्रोहको बुलन्द आवाज बोकि रहेका छन्। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले करिब ९० लाख जनशक्तिले आफ्नो सीप, क्षमता, पढाई अनुसार रोजगारी पाएका छैनन्। ६० लाख देशमा बसेका युवाहरु मध्ये २५ लाख राजनीतिक दलहरुका सदस्य होलान्। असल राजनितिक विचार धारा आस्था बोक्ने युवा जो देश प्रति चिन्तीत छन्, तिनको दल प्रतिको आडभरोसा टुट्दो क्रममा छ। युवा विद्रोहको बिगुल कहिले बालेन, गोपी, हर्क जस्तै कैयौँ स्वतन्त्रका नाममा फुकि रहेका छन्, तर राज्यले यसलाई दिन प्रतिदिन नजर अन्दाज गर्दे गई रहेको छ।
नेताहरुले बेलामा बेलामा हुँकारपुर्ण अभिव्यक्ति दिई रहन्छन्, देशमा विकास भई रहेको छ। प्रतिवेदनका पानाहरुमा तथ्य तथ्याँकले प्रमाणित गर्न खोजि रहन्छन्, तर आउने पुस्तालाई कुल ग्राहस्थ उत्पादनको करिब ४५ प्रतिशत ऋणको ठूलो भारी थेग्नै नसक्ने गरी बोकाएर। लाखौं युवालाई खाडीको तातो घाममा पोलिन बाध्य पारेर, विकसित देशमा आफनो श्रम, श्रमता, सीप भन्दा अपहेलित अनि अन्यायपुर्ण जीन्दगी बाचेर कुल जीडीपीको २४ प्रतिशत रेमिटयान्स पठाउन लगाएर।
वर्तमान परिपेक्ष्यमा राजनीतिक, सामाजिक, आर्थिक अवस्था, सरकार र परम्परावादी दलहरु विरुद्ध स्वत स्फुर्त रुपमा सडकहरुमा देखिने जुलुस, धर्ना र आन्दोलनका बिद्रोही बिगुलहरु नाराहरु, वर्तमान राज्य व्यवस्था विरुद्ध गरेका आक्रामक विरोधहरु जेन्जी पुस्ताको विद्रोही मनोविज्ञानको प्रतिबिम्बित प्रस्फुटन हो ।
सार्वजनिक समारोहमा नेत्तृत्व विरुद्धको नाराबाजी, सत्ताधारी नेताहरुको विरुद्ध विरोध या विद्रोहको तह के कति कहाँ सम्म पुग्यो भन्ने कुरा न त नेत्तृत्वले नै बुझ्न सकेको छ न त तीनका हनुमान, झोले अनि भरौटेहरुले बुझ्न सकेका छन्। सामाजिक सञ्जालमा नेताहरु विरुद्ध पोखिएका गाली बेईज्जतका विषबमन लाई आफै नीलकण्ठ तिनेत्रधारी महादेव सम्झेर हलाहल पिई रहेका छन्, अनि तिनका स्वार्थ समुहरुपी कार्यकताहरुले स्तुती गान गाएर रमाई रहेका छन्।
हो, अब विद्रोही चेतनाका जेनजी पुस्ता आन्दोलनका लागि पुर्ण रुपमा सबल सक्षम अनि तम्तयार छ। हिजोका दिनसम्म हेर्दा केवल सामाजिक सञ्जालमा भावनात्मक रुपमा विद्रोही देखिएको पुस्ता अब राजनीतिक, वैचारिक, संगठनात्मक रुपमा जेनजीका रुपमा एकत्रित हुन खोजि रहेको छ। युगले मागेको नेताका रुपमा चित्रित जंग बहादुर प्रवृतिको एउटा त्यस्तो निडर, निर्भिक, साहसी, बहादुर अनि दुरदर्शी नेत्तृत्वले वर्तमान पुस्ताले बालेन, हर्क, गोपीका रुपमा आह्वान गरि रहेको छ।
विद्रोही वातावरण निर्माण हुँदै गएको यस्तै अवस्थाले बृहत् आन्दोलनको वातावरण तयार गर्न सक्छ भन्ने कुरा बंगलादेश पश्चात ईन्डोनेसियाबाट प्रष्टै रुपमा देखिन्छ। बेरोजगारीको भुमरीमा परेर विदेशिएका लाखौं विद्रोही चेतका आम नेपालीहरु स्वदेश फर्कि सडकमा उत्रिए या आफना सन्तानलाई शुक्रराज शास्त्रीका बुवा माधवराज जोशीले भनेझै स्यावास बाबु त धन्य छस् तैलै बाआमाको मात्र होईन देशकै गौरब बढाएको छस्, बाबु हुनु त तँ जस्तो भनेर सन्तानको लास माथि नेपाली झण्डा एक एक गरी फर्फराए भने न त यी केही राजनितिक पिपासु पात्रहरु मात्रै होईन, पद्धति नै नरहने अवस्था आउन सक्छ न त सरकारले थाम्न नै सक्छ।
सामाजिक सञ्जाल बन्द भए पछि एउटा टिकटक मार्फत जोडिएको जेन्जीको आवेग अहिले विश्व समुदायमा चर्चित भई रहेको छ। जेन्जी पुस्ताले हरेक खालका टेन्ड्रद्धारा संसारको ध्यान आकर्षित गरि रहेको छ। आवेग र आन्दोलनले बृहत रुप लियो भने सत्ता जेनतेन सम्हालि रहेको सरकारलाई हम्मे हम्मे पर्ने निश्चित छ। शक्तिशाली प्रतिपक्ष बिनाको गठबन्धन सरकार या यसको नेतृत्व गरेका दलहरुले आन्दोलन या विद्रोहलाई नजर अन्दाज गर्नु भयंकर ठुलो राजनीतिक गल्ती अनि पाशविक दमन अक्षम्य अपराध हुनेछ । सबैलाई चेतना भया ।
(लेखक मलाशी वन, वातावरण, विपद र विकाससँगै समसामयिक सामाजिक क्षेत्रमा सर्मपित रही कलम चलाउनु हुन्छ।)