साँफेबगर।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरकी भग देवी कुँवरको जीवन कथा संघर्ष, साहस, धैर्यता र आत्मनिर्भरताको जीवित उदाहरण बनेको छ। जीवनमा आई परेका असंख्य कठिनाई, घरेलु हिंसा, आर्थिक अभाव, सामाजिक दबाब र पारिवारिक पीडा बीच पनि उहाँले हार मान्नु भएन। आफ्नै सीप, परिश्रम र आत्म विश्वासका भरमा आज उहाँले आफूलाई मात्र होईन, आफ्ना सन्तानको भविष्य समेत सुरक्षित बनाउन सफल हुनु भएको छ।
भग देवीको विवाह १९ वर्षको कलिलो उमेरमै भयो। विवाह पछि पनि पढाईलाई निरन्तरता दिने चाहना थियो। कठिन परिस्थितिका बीच उहाँले विवाह पछिको वर्ष २०६२ सालमा एसएलसी उत्तीर्ण गर्नु भयो। त्यो समय उहाँका लागि ठूलो उपलब्धि थियो, किनकि विवाह पछि पढाई निरन्तरता दिन सहज अवस्था थिएन। तर परिवारको जिम्मेवारी र घरायसी परिस्थितिले शिक्षा अगाडि बढ्न पाएन। २०६३ सालमा छोरी जन्मिईन् र त्यस पछि जीवनको प्राथमिकता परिवार र बालबच्चाको पालनपोषण तर्फ मोडियो। केही वर्ष पछि छोरा जन्मिए पछि जिम्मेवारी अझ बढ्दै गयो।
विवाह पछिको जीवन सहज बन्न सकेन। श्रीमानबाट अपेक्षित साथ, सहयोग र भरोसा पाउनुको सट्टा उहाँले घरेलु हिंसा सहनु पर्यो। परिवार भित्रको तनाव, आर्थिक संकट र असुरक्षित वातावरणले उहाँको दैनिकी झन कठिन बनायो। दुई सन्तानको पालनपोषण, घर खर्च, खानपिन र लत्ताकपडाको चिन्ताले जीवन थप जटिल बनाई रहेको थियो। श्रीमानको सहयोग नपाउँदा कहिले काहीँ के खाने, कसरी बालबच्चाको आवश्यकता पूरा गर्ने भन्ने चिन्ताले रात भर निद्रा नलाग्ने अवस्था आउँथ्यो।
तर यति धेरै कठिनाईका बीच पनि भग देवीले आत्मबल गुमाउनु भएन। २०७० सालमा तत्कालीन गाविसले १८ जना महिलाका लागि तीन महिने सिलाईकटाई तालिम सञ्चालन गर्ने अवसर ल्यायो। यही तालिममा सहभागी हुने अवसर भगदेवीले पनि पाउनु भयो। यही तालिम उहाँको जीवनको मोड बदल्ने माध्यम बन्यो। तालिममा सिकेको सीपलाई प्रयोग गर्दै उहाँले सानो स्तरबाट सिलाईकटाई काम सुरु गर्नु भयो। सुरुमा सानो पसलबाट थोरै काम लिँदै अघि बढ्नु भयो। विस्तारै त्यही काम उहाँको मुख्य आम्दानीको स्रोत बन्यो। घर खर्च धान्ने, बालबच्चाको पढाई खर्च जुटाउने र दैनिक जीवन चलाउने आधार यही सीप बन्यो।
जीवन अलि सहज बन्दै गएको जस्तो देखिएको समयमा २०७४ सालमा अर्को ठूलो पीडा थपियो। श्रीमानले दोस्रो विवाह गर्नु भयो। यस्तो घटना कुनै पनि महिलाका लागि सहज हुँदैन। आफ्नै जीवनमा सौता भित्रिनु पीडादायी भए पनि भग देवीले परिस्थिति सहनु भयो। अन्ततः अलग्गिनु पर्ने अवस्था आयो। यसले मानसिक रुपमा गहिरो चोट पुर्यायो। तर त्यस बेला पनि उहाँले आफ्नो काम छोड्नु भएन। बरु आफ्नो ध्यान पूर्ण रुपमा सीप र श्रम तर्फ केन्द्रित गर्नु भयो। २०७४ देखि २०७७ सालसम्म उहाँले धेरै हिंसा र मानसिक पीडा सहनु भयो। त्यो समय उहाँका लागि अत्यन्त कठिन थियो। आफूले भोगेका ती घटनाहरु सम्झँदा अझै मन भारी हुने उहाँ बताउनु हुन्छ। यद्यपि जीवन अघि बढाउनै पर्ने थियो, किनकि बालबच्चाको भविष्य उहाँकै काँधमा थियो।
२०७७ साल चैतमा समविकास नेपाल नामक संस्थाले सिलाईकटाई सीप भएका महिलाको खोजी गर्दा भग देवीको नाम पनि आयो। संस्थाले थप तालिमका लागि काठमाडौं लैजाने निर्णय गर्यो। पाँच दिने तालिमका लागि उहाँ काठमाडौं पुग्नु भयो। तर तालिमकै तेस्रो दिनमा घरबाट श्रीमानको निधन भएको खबर आयो। त्यो खबरले उहाँलाई गहिरो आघात पुर्यायो। दिमागले काम गर्न छोडे जस्तो भयो र तालिम अधुरै छोडेर तीन दिनमै घर फर्किनु पर्यो। श्रीमानको निधन पछि उहाँ पूर्ण रुपमा एक्लो महसुस गर्न थाल्नु भयो। तीन महिनासम्म घर बाहिर निस्कन पनि सक्नु भएन। मानसिक तनाव अत्यधिक बढेको थियो।
त्यस पछि फेरि समविकास नेपालले सेफ हाउसमा आउन आग्रह गर्यो। घरमै बस्दा तनाव बढ्ने भएकाले केही समय सुरक्षित वातावरणमा रहन सल्लाह दिईयो। सेफ हाउसमा उहाँ कहिले साथीहरुसँग कुराकानी गर्दै, कहिले मोबाईल चलाउँदै समय बिताउनु हुन्थ्यो। करिब एक वर्ष त्यसरी बित्यो। बिस्तारै जीवन प्रति पुनः विश्वास जाग्न थाल्यो।
बालबच्चाको भविष्य सम्झेर फेरि काम सुरु गर्नु भयो। हाल उहाँ सेफ हाउसमा प्याड, होल्डर, सानो र ठूलो रुमाल, साबुन राख्ने थैली, लुगा सुकाउने डोरी तथा अन्य सामग्री मिलाएर झोला तयार गर्नु हुन्छ। एउटा झोला तयार गरे वापत सय रुपैयाँ आम्दानी हुन्छ। मेहनतका साथ काम गर्दा दिनमा चारवटासम्म झोला तयार गर्न सक्नु हुन्छ। उहाँको यही कमाईले आज परिवार धानिएको छ। दुवै सन्तानलाई १० कक्षासम्म बोर्डिङ विद्यालयमा पढाउनु भयो।
अहिले छोरी फार्मेसी दोस्रो वर्षमा अध्ययनरत छिन्, भने छोरा एसइई परीक्षाको तयारीमा छन्। आम्दानीबाट बैंक तथा लघुवित्तमा मासिक बचत समेत गर्दै आउनु भएको छ। भ्ग देवी कुँवर आज एक आत्मनिर्भर महिलाका रुपमा स्थापित हुनु भएको छ। उहाँको अनुभवमा श्रीमान हुनु र नहुनुमा धेरै फरक पर्छ, तर सीप र आत्मविश्वास भए जीवनका कठिन मोडहरु पार गर्न सकिन्छ।
उहाँ भन्नुहुन्छ, “मेरो जस्तो पीडा अरु कसैलाई नपरोस्। दुःख पाएका दिदीबहिनीहरु सीप सिकेर आत्मनिर्भर बन्नुहोस्, आफ्नो खुट्टामा उभिनुहोस्, जीवनलाई सहज बनाउनुहोस्।”