काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार त्यो पत्रमा ‘संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरि दिनु हुन सिफारिस गरिन्छ,’ भन्ने वाक्यांश लेखिएको छ। संविधानको त्यो धारा ६६ को उपधारा ९२० मा ‘उपधारा ९१० बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानुन बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनेर किटान साथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ।
त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेस हुनेछ,’ भन्ने लेखिएको छ। संविधानमै त्यस्तो सिफारिस प्रधानमन्त्रीले पेस गर्ने उल्लेख भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र मार्फत सिफारिस गरेको छ। मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेनकै नेतृत्वमा ‘गणतन्त्र दिवस मूल समारोह समिति बनाएको’ छ। त्यो समितिको बैठकले कसरी कार्यक्रम गर्ने भन्ने विषयमा जिल्ला जिल्लामा र सम्बन्धित निकायमा पत्राचार गरेको गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ऋषिराम तिवारीले जानकारी दिए।
तर, सधैँ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन भने बालेनले तोड्ने भएका छन्। यस अघि प्रधानमन्त्रीले सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने परम्परा रहेको थियो। तर, अहिले प्रधानमन्त्री आफूले सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्न पत्रमार्फत सिफारिस गरेका हुन्।
राष्ट्रपति कार्यालय स्रोतले गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्न सिफारिस गरेको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त भएको पुष्टि गर्यो। बालेनले आफूले गर्नु पर्ने सम्बोधन पनि नगरेर गर्नका लागि सिफारिस गरे पछि राष्ट्रपति पौडेल पनि असन्तुष्ट बनेका स्रोत बताउँछ।
‘कार्यकारी प्रमुखले राष्ट्र प्रमुखलाई जे पायो त्यही सिफारिस गर्ने होईन,’ स्रोत भन्छ, ‘अहिले त हुँदा हुँदा औपचारिक समारोहमा सम्बोधन गर्न पनि सिफारिस हुन लाग्यो।’