डा. देवेन्द्र प्रसाद भट्ट
क्षमता प्रस्फुटन गर्ने अवसर जीवनले प्रायः सबैलाई कम्तीमा एक पटक अवश्य दिन्छ। त्यो अवसर आकस्मिक देखिन सक्छ, सानो लाग्न सक्छ, वा अरूको आँखामा सामान्य प्रतीत हुन सक्छ, तर त्यसले बोकेको अर्थ अत्यन्त गहिरो र दीर्घकालीन हुन्छ। यही एक क्षणले व्यक्तिको पहिचान बनाउँछ, उसको मूल्य निर्धारण गर्छ र समाजसँग उसको सम्बन्धको दिशा तय गर्छ। जीवनको इतिहासमा धेरै उदाहरण छन्–जहाँ एउटा सही निर्णयले मान्छेलाई शिखरमा पुर्याएको छ, र एउटा गलत प्रयोगले जीवन भरको विश्वास चकनाचुर बनाएको छ।
अवसर स्वयं कुनै चमत्कार होईन, चमत्कार त त्यस अवसरमा प्रकट हुने चरित्र हो। कसैले अवसर पाउँदा आफ्नो ज्ञान, श्रम, विवेक र नैतिकता सबैलाई एक साथ उजागर गर्छ भने समाजले उसलाई केवल प्रतिभाशाली होईन, भरोसा योग्य व्यक्ति भनेर स्वीकार्छ। यस्तो स्वीकारोक्ति कुनै क्षणिक ताली होईन यो दीर्घकालीन विश्वासको मौन सम्झौता हो। त्यस पछि उसले प्रत्येक पटक प्रमाण पेश गर्नु पर्दैन। उसको अतीत नै उसका शब्दहरुको साक्षी बन्छ, उसका कर्महरु नै उसका परिचय पत्र हुन्छन्।
उत्कृष्टता केवल सफलताको परिणाम होईन, त्यो आचरणको निरन्तरता हो। उत्कृष्ट व्यक्ति आफूले बोलेको कुरा सम्झिन्छ, लिएको जिम्मेवारी निभाउँछ र अवसरलाई सेवा सम्झन्छ, सौदा होईन। यही कारणले समाज उस प्रति उदार हुन्छ। उसको सानो त्रुटिलाई पनि ठूलो अपराध ठानिँदैन, किनकि विश्वासको धरातल बलियो हुन्छ। जसरी बलियो जराले आँधीमा पनि वृक्षलाई जोगाउँछ, त्यस्तै बलियो चरित्रले आलोचनाको आँधीलाई सहन्छ।
तर जीवनको अर्को कटु सत्य पनि उत्तिकै कठोर छ–एक पटक बेस्वाद साबित भई सकेको वस्तु वा व्यक्ति पुनः स्वीकार्य हुन असाध्यै कठिन हुन्छ। स्वाद बिग्रिनु भनेको केवल मुखको अनुभूति होईन, त्यो मनमा बसेको स्मृति हो। एकचोटि धोका खाएको मन पुनः सजिलै विश्वास गर्दैन। समाजको मन पनि त्यस्तै हो। उसले अवसरको दुरुपयोग, छल, असक्षमता वा अहंकार देखि सके पछि मानिसको नामसँगै एउटा नकारात्मक अर्थ गाँसि दिन्छ।
यही बिन्दुमा बाहिरी प्रदर्शन र आन्तरिक रुपान्तरण बीचको भिन्नता स्पष्ट हुन्छ। बाहिरी प्रदर्शन सजिलो छ–नारा लगाउन, तपस्या देखाउन, धार्मिक कर्म काण्डमा आफूलाई प्रस्तुत गर्न। तर समाज अब दृश्य भन्दा अनुभवमा विश्वास गर्छ। रुखमा उल्टो झुन्डिएर तपस्या गर्नु, टाउकोमा टेकेर ८४ परिक्रमा गर्नु, वा आत्मत्यागको नाटक मञ्चन गर्नु–यी सबै दृश्यात्मक कर्म हुन्। यदि यिनको पछाडि सच्चा पश्चात्ताप, निरन्तर सुधार र दीर्घकालीन इमानदारी छैन भने यिनले कुनै अर्थ राख्दैनन्।
तपस्या स्वयं महान कर्म हो, तर त्यो आत्म शुद्धिका लागि हो, जनमत व्यवस्थापनका लागि होईन। जब तपस्या प्रदर्शन बन्छ, साधना प्रचार बन्छ र विनय रणनीति बन्छ, तब ती सबैको पवित्रता समाप्त हुन्छ। समाज त्यस्ता दृश्यहरुलाई केही समय चाँसोका साथ हेर्छ, तर मनले स्वीकार गर्दैन। किनकि समाज अब केवल “के गर्यौ” भनेर होईन, “किन गर्यौ” भनेर प्रश्न गर्छ।
जीवनमा पहिलो अवसर नै अन्तिम होईन, तर पहिलो छाप अत्यन्त निर्णायक हुन्छ। त्यो छाप मेट्न समय लाग्छ, कहिले काहीँ जीवन नै लाग्छ। जसले पहिलो अवसरमा नै आफ्नो असलियत देखाउँछ, उसले भविष्यका सयौँ ढोका स्वतः खोल्छ। तर जसले अवसर पाउँदा स्वार्थलाई प्राथमिकता दिन्छ, ऊ स्वयं आफ्ना सम्भावनाहरुको हत्यारा बन्छ। त्यस पछि ऊ जति नै ठूलो आवाजमा बोले पनि, उसका शब्दहरु खोक्रा ठहरिन्छन्।
व्यक्ति र वस्तु बीचको तुलना यहाँ अत्यन्त सान्दर्भिक हुन्छ। एक पटक बिग्रिएको स्वादले जिब्रो मात्र होईन, मन पनि अस्वीकार गर्छ। त्यस्तै, एक पटक अविश्वसनीय ठहरिएको व्यक्तिलाई समाजले सजिलै पत्याउँदैन। उसले हजारौँ पटक सफाई दिन सक्छ, तर विश्वास फर्काउन निरन्तर, मौन र दीर्घकालीन कर्म आवश्यक पर्छ–त्यो पनि भाग्य भएमा मात्र।
अन्ततः जीवनले हामीसँग धेरै कुरा माग्दैनस उसले केवल एक क्षणमा सच्चा हुन आग्रह गर्छ। त्यो एक क्षण नै कहिले काहीँ सम्पूर्ण जीवनको निष्कर्ष बन्छ। अवसरलाई हलुका ठान्नु भनेको भविष्यलाई हलुका ठान्नु हो। उत्कृष्टता देखाउने मौका सानो देखिए पनि त्यसको प्रभाव आजीवन रहन्छ। एक पटक मन जिते पछि मौनताले पनि काम गर्छस एक पटक मन गुमे पछि शब्द, कर्म काण्ड र नाटक सबै व्यर्थ हुन्छन्।
यसैले मानिसले समाजलाई प्रभावित गर्न अभिनय गर्नुभन्दा, आफूलाई सुधार गर्न साधना गर्नु पर्छ। किनकि सच्चाइ एक पटक स्थापित भयो भने उसलाई कुनै प्रचार चाहिँदैन, तर ढोंग एक पटक चिनियो भने उसलाई कुनै तपस्याले पनि पखाल्न सक्दैन। यही जीवनको कठोर तर सुन्दर न्याय हो।
लेखक (डा. देवेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलालीका उपप्राध्यपक हुनु हुन्छ।)