साँफेबगर ।
अछामको साँफेबगर स्थित बयालपाटा प्रादेशिक अस्पतालमा पुस्तकालय स्थापना गरिएको छ। सामाजिक अभियान्ता मदन बुढाको विशेष सहयोगमा अछाम स्थित बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना गरिएको हो।
अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरुलाई अध्ययन तथा सकारात्मक सोचको वातावरण प्रदान गर्ने उद्धेश्यले पुस्तकालयको स्थापना गरिएको हो। सोमबार उद्घाटन गरिएको उक्त पुस्तकालयमा करिब तीन सय भन्दा बढी विभिन्न विधाका पुस्तकहरु राखिएका छन्।
पछिल्लो समय पठन संस्कृतिको विकास गर्न ईतिहास, साहित्य, स्वास्थ्य, तथा चेतनामूलक पुस्तकहरू समावेश गरिएकाले समयको सदुपयोगसंगै ज्ञान हासिल गर्ने अवसर मिल्ने अभियान्ता बुढाले बताउनु भयो। उहाँले पुस्तकालयको संरक्षण र निरन्तरतामा अस्पताल लगायत सबैको ध्यान जानु पर्नेमा जोड दिनु भयो।
त्यस्तै अस्पताल भनेको केवल उपचार गर्ने, अपरेशन गर्ने वा औषधि उपचार गर्ने स्थान मात्र नभई मानिसलाई ज्ञान र चेतना दिने थलो समेत बन्नु पर्ने धारणा अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठकले व्यक्त गर्नु भयो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले अस्पतालमा उपचारका क्रममा लामो समय बस्नु पर्ने सेवाग्राहीलाई समयको सदुपयोगसँगै मानसिक सान्त्वना र यस क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो।
साथै उहाँले पुस्तकालयको संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि विशेष ध्यान दिनु पर्ने आवश्यकता औँल्याउँदै अब यसको जिम्मेवारी अस्पतालले सम्हाल्ने बताउनु भयो। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।
सामाजिक अभियान्ताका रुपमा सक्रिय बुढाले यो भन्दा पहिले अछाम जिल्ला कारागार अछाममा पनि दुई सय भन्दा बढी पुस्तकहरु राखेर पुस्तकालयको स्थापना गर्नु भउको थियो।
उपचारसँगै ज्ञानको पहुँच विस्तार गर्ने उद्धेश्यले सुरु गरिएको “रामारोशन पुस्तकालय” ले अब बयालपाटा अस्पताललाई स्वास्थ्य सेवामा मात्र नभई, बौद्धिक चेतनाको केन्द्रका रूपमा समेत चिनाउने अपेक्षा गरिएको छ।