साँफेबगर ।
अछामको साँफेबगर नगरपालिका न्यायीक समितिको आयोजनामा एक दिने न्यायीक समितिको काम, कर्तव्य, अधिकार तथा लैंगिक हिंसा निवारण सम्बन्धी सचेतनामुलक कार्यक्रम शनिबार वडा नम्बर ६ भागेश्वरमा सम्पन्न भएको छ।
साँफेबगर नगरपालिका उपप्रमुख एवम न्यायीक समिति संयोजक शिव बहादुर कुँवरले सामान्य रुपमा वडा घर टोलमा हुने विवादकै कारण गाउँघरमा झैझगडा हुने र त्यसै घटनाहरुले गम्भीर रुप लिई अदालत सम्म पुग्ने अवस्था रहेकाले ती घटनाहरुलाई स्थानीय स्तरमै न्यायीक समिति मार्फत दुवै पक्षलाई न्याय हुने बताउनु भयो।
यस्तै उहाँले अहिलेसम्म न्यायीक समितिमा आर्थिक लेनदेन, आलीधुर, गाली बेईज्जती, ज्याला मजदुरी नदिएको, घरेलु हिंसा जस्ता विवादहरु आउने गरेको जानकारी दिनु भयो। न्यायीक समितिले अहिलेसम्म सम्पुर्ण विवादहरको फर्च्छयाैट गरेकाले न्यायीक समितिका क्षेत्र अधिकार भित्र रहेका विवादहरु भए न्यायीक समितिमा आउन उहाँले आग्रह गर्नु भयो।
यदि क्षेत्र अधिकार भित्रका विवादहरु समितिमा नआई अदालती प्रक्रियामा जाँदा खर्चिलो हुने भएकाले समितिले सबैलाई मर्का नपर्ने गरि न्याय दिने संयोजक कुँवरले बताउनु भयो। कार्यक्रम बोल्दै साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका वडा अध्यक्ष मिन बहादुर बोहराले पारिवारीक र न्यायीक समितिका क्षेत्र अधिकार भित्र रहेका घटनाहरुलाई स्थानीय स्तरमै रहेका न्यायीक समितिमा मिलाउन सकिने बताउनु भयो।
न्यायीक समितिमा रहेका पदाधिकारीहरु समेत राजनितिक दलमा आवद्व भएकाले उनीहरुले समेत निष्पक्ष रुपमा न्याय दिनु पर्नेमा जोड दिनु भएको थियो। कार्यक्रमा न्यायीक समितिको काम, कर्तव्य र अधिकार बारे समितिका उजुरी प्रशासक नृप विश्वकर्मा र लैंगिक हिंसा निवारण कोष सञ्चालक समितिका सदस्य अप्सरा कुँवरले सहभागीहरुलाई सहजीकरण गर्नु भएको थियो।
कार्यक्रममा वडा सदस्य, राजनितीक दल, वडामा रहेका मेलमिलापकर्ता, स्थानीय अगुवाहरुको सहभागीता रहेको थियो।