साँफेबगर ।
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा वडा स्तरीय बाल अधिकार समितिको नियमित बैठक तथा एकीकृत बालकल्याण तथा हातेमालो परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता मेल्लेख गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य पार्वती बि.क.ले गर्नु भएको थियो। बैठकमा बालबालिकाको क्षेत्रमा आस्था नेपाल र वाक नेपालद्वारा World Vision Nepal को सहयोगमा सञ्चालित एकीकृत बालकल्याण तथा हातेमालो परियोजना अन्तर्गत सन् २०२६ मा सञ्चालन भएका कार्यक्रम तथा गतिविधिहरुको समीक्षा गरिएको थियो।
साथै, सन् २०२७ मा सञ्चालन गरिने प्रस्तावित कार्यक्रम तथा गतिविधिहरुका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो। सहभागीहरुले सन् २०२६ मा आस्था नेपाल, वाक नेपाल तथा World Vision Nepal को सहकार्यमा बालबालिकाको क्षेत्रमा सञ्चालन भएका कार्यक्रमहरु प्रभावकारी र उपलब्धिमूलक रहेको बताएका थिए।
आगामी दिनमा पनि बालबालिकाको अधिकार संरक्षण, क्षमता विकास तथा समग्र बालकल्याणका क्षेत्रमा यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन हुने जानकारी पाए पछि सहभागीहरुले खुसी व्यक्त गर्दै कार्यक्रमको निरन्तरताका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले स्थानीय तह, विद्यालय, बाल सञ्जाल तथा सम्बन्धित संघसंस्था बीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै बालमैत्री वातावरण निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। बैठकको सञ्चालन वडा सचिव सागर भण्डारीले गर्नु भएको थियो।
कार्यक्रममा दुर्गादेवी माध्यमिक विद्यालयका विद्यालय व्यावस्थापन समिति अध्यक्ष निमित्त प्रधानाध्यापक, वडा सदस्य, बाल सञ्जालका अध्यक्ष, आस्था नेपालका कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला, कर्मचारी भ्वान सिंह सार्की लगायतको सहभागिता रहेको थियो।


