साँफेबगर ।
अछामका तीन विद्यालयका विद्यार्थीलाई किशोरी तथा युवतीका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE-Girls) परियोजना अन्तर्गत आयोजित कार्यक्रममा सहभागिता जनाए बापत प्रमाण पत्र वितरण गरिएको छ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (UNFPA) र गुड नेबर्स इन्टरनेसनल नेपालको सहयोगमा सेवक नेपालद्वारा सञ्चालित परियोजना अन्तर्गत अछामका तीन विद्यालयका विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरिएको हो।
प्रमाण पत्र प्राप्त गर्ने विद्यालयमा साँफेबगर नगरपालिका ५ स्थित कृष्ण माध्यमिक विद्यालय, साँफेबगरकै जनकल्याण माध्यमिक विद्यालय र बयलपाटा स्थित महेन्द्र माध्यमिक विद्यालय रहेका छन्।
परियोजना अन्तर्गत किशोरी तथा युवतीका लागि सुरक्षित र सहयोगी वातावरण निर्माण, उनीहरुको क्षमता विकास, सक्रिय सहभागिता तथा सशक्तीकरणमा जोड दिइँदै आएको छ। कार्यक्रममा सहभागी भएर विभिन्न गतिविधिमा योगदान पुर्याएका विद्यार्थीलाई सम्मान स्वरुप प्रमाण पत्र प्रदान गरिएको जनाईएको छ।
सेवक नेपालका कार्यक्रम संयोजक प्रेम खनालका अनुसार किशोरी तथा युवतीको क्षमता विकास र सशक्तीकरणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण छन्। यस्ता गतिविधिले विद्यार्थीमा आत्म विश्वास बढाउन, आफ्ना विचार व्यक्त गर्न र सामाजिक गतिविधिमा सक्रिय सहभागी हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परियोजनाले किशोरी तथा युवतीलाई सुरक्षित, सम्मानजनक र सहयोगी वातावरण उपलब्ध गराउँदै उनीहरुको क्षमता विकास तथा नेतृत्व अभिवृद्धिमा सहजीकरण गर्दै आएको छ।



