साँफेबगर ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड साँफेबगर शाखाले शेयर सदस्यलाई 'सदस्य सुरक्षण कार्यक्रम' अन्तर्गत १ लाख ३८ हजार २ सय ९४ रुपैयाँ बराबरको सुविधा उपलब्ध गराएको छ।
साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको बक्तोलामा आयोजित श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रममा संस्थाले शेयर सदस्य देवु देवी कुमालका श्रीमान स्वर्गीय भुवान सिंह कुमालको निधन पछि उक्त सुविधा उपलब्ध गराईएको हो।
साँफेबगर शाखा प्रमुख वीरेन्द्र प्रसाद जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिक्मत कडायत प्रमुख अतिथि रहनु भएको थियो।
संस्थाका अनुसार 'सदस्य सुरक्षण कार्यक्रम' अन्तर्गत कुमालले लिएको १ लाख ३० हजार २ सय ९४ रुपैयाँ कर्जा मिनाहा गरिएको छ। यस्तै, काजकिरिया खर्च वापत ८ हजार रुपैयाँ उपलब्ध गराईएको छ। कर्जा मिनाहा र काजकिरिया खर्च गरी परिवारलाई जम्मा १ लाख ३८ हजार २ सय ९४ रुपैयाँ बराबरको सुविधा प्रदान गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष कडायतले मृतक सदस्यको परिवारलाई चेक हस्तान्तरण गर्नु भएको थियो। चेक हस्तान्तरण गर्दै उहाँले किसान बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजमा नमुना र उदाहरणीय काम गरेको बताउनु भयो।
सहकारीले आफ्ना सदस्यलाई अप्ठ्यारो अवस्थामा सहयोग गर्ने गरी सञ्चालन गरेको 'सदस्य सुरक्षण कार्यक्रम'ले सदस्य तथा उनीहरुका परिवारलाई राहत पुग्ने उहाँको भनाई रहेको थियो। आगामी दिनमा पनि थप सेवा–सुविधा सहित सामाजिक हितका क्षेत्रमा काम गर्न वडा अध्यक्ष कडायतले संस्थालाई आग्रह गर्नु भयो।
सदस्यको निधन पछि परिवारलाई परेको आर्थिक भार केही हदसम्म कम गर्न संस्थाले कर्जा मिनाहा तथा काजकिरिया खर्च उपलब्ध गराएको जनाएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारीका कर्मचारी, शेयर सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो।