साँफेबगर ।
सामाजिक रुपान्तरणका क्षेत्रमा पहुँच र सिर्जनाका लागि सहकार्य (वाक नेपाल) को २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रम अछामको साँफेबगरमा सम्पन्न भएको छ।
वाक नेपालका अध्यक्ष मीन बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्व सामाजिक विकास मन्त्री मेघराज खड्का रहनु भएको थियो। कार्यक्रममा बोल्दै पूर्व मन्त्री खड्काले समाज परिवर्तन भनेको भौतिक विकास मात्र नभई मानवीय विकास पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो।
समाजमा विद्यमान कुरीति, कुसंस्कार, विभेद, असमानता र पछौटेपनको अन्त्य गर्दै समानता, न्याय, समावेशिता, मानव अधिकार र सामाजिक सद्भावमा आधारित समाज निर्माण गर्नु नै वास्तविक सामाजिक रुपान्तरण भएको उहाँको भनाइ थियो। यस कार्यमा वाक नेपालको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नु भयो।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले विपन्न समुदायको उत्थान, आयआर्जनका कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि तथा विकास निर्माणका क्षेत्रमा वाक नेपालले जिल्लामा सकारात्मक छाप छोड्न सफल भएको बताउनु भयो।
साँफेबगर नगरपालिकाका उपप्रमुख शिवब हादुर कुँवर (शिलोज)ले राज्यका सेवा तथा अवसरबाट पछाडि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा सीमान्तकृत समुदायको आवाज उठाउन सरकार र गैर सरकारी संस्था बीच सहकार्य आवश्यक रहेको औँल्याउनु भयो।
अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले गरिबी, विपन्नता, अन्याय र जोखिममा रहेका बालबालिका, महिला तथा पछाडि परेका समुदायको जीवन स्तर सुधारमा वाक नेपालको सहयोग महत्वपूर्ण रहेको आफूले पाएको बताउनु भयो। संस्थाले पूरा गर्नु पर्ने जिम्मेवारी निर्वाह गर्ने दिशामा वाक नेपालले काम गरेको आफूले अनुभव गरेको उहाँको भनाइ थियो।
बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष विन्दु रावलले वाक नेपालले सञ्चालन गरेका कार्यक्रमले समाजमा वास्तविक परिवर्तन ल्याउन सहयोग गरेको बताउनु भयो।
कार्यक्रममा सहभागी लाभग्राहीहरुले वाक नेपालबाट सञ्चालित आयआर्जन, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रका कार्यक्रमले विपन्न समुदायको जीवनस्तर सुधार गर्न सहयोग पुगेको अनुभव सुनाएका थिए।
यस्ता कार्यक्रमबाट सीप विकास, आयआर्जनका अवसर, सामाजिक सचेतना तथा आधारभूत सेवामा पहुँच विस्तार गर्न सहयोग मिलेको उनीहरुको भनाइ थियो। लाभग्राहीहरुले संस्थाका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागीहरुको जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै वाक नेपालका अध्यक्ष मीन बहादुर कुँवरले संस्थाले सबैको आर्थिक समुन्नति मार्फत शिक्षा, स्वास्थ्य र सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले काम गर्दै आएको बताउनु भयो। उहाँले सहभागीहरुले दिएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। स्थानीय तहलाई सहयोग गर्न तथा विकास निर्माणका कार्यमा साझेदारका रुपमा काम गर्न वाक नेपाल तयार रहेको पनि उहाँले बताउनु भयो।
२९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका प्रमुख सीमा थापा, घरेलु तथा साना उद्योग विकास कार्यालयका चेतराज पनेरु, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्य योजना बारे छलफल गरिएको थियो। सामाजिक परीक्षण मार्फत संस्थाका गतिविधि, उपलब्धि र सेवा प्रवाहको समीक्षा गर्दै सरोकारवालाहरु बीच सुझाव आदानप्रदान गरिएको थियो।
सामाजिक परीक्षण कार्यक्रममा वाक नेपालका व्यवस्थापक टेक बहादुर थापाले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। आर्थिक वर्ष २०८२/०८३ को आय तर्फ १२ करोड ९२ लाख ८३ हजार र व्यय तर्फ ११ करोड ५६ लाख ४४ हजारको प्रस्तुत गरिएको थियो।
संस्थाका उपाध्यक्ष अप्सरा कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव सुरत बहादुर खड्काले गर्नु भएको थियो।


