साँफेबगर।
बालबालिकाको समग्र विकास, संरक्षण तथा समृद्धिका क्षेत्रमा क्रियाशील बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, साँफेबगर नगरपालिकाको समन्वय तथा आस्था नेपाल र वाक नेपालको संयुक्त आयोजनामा बुधबार साँफेबगर नगरपालिकाको कार्यलयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा हातेमालो परियोजना अन्तर्गत सन् २०२६ मा सञ्चालन गरिएका विभिन्न क्रियाकलाप, प्राप्त उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा सिकाईहरुको समीक्षा गर्नुका साथै सन् २०२७ मा सञ्चालन गरिने प्रस्तावित कार्यक्रम र भावी कार्य योजनाका विषयमा सरोकारवालाहरुलाई जानकारी गराईएको थियो।
कार्यक्रममा आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्ला र वाक नेपालका विष्णु बुड्थापाले परियोजनाका गतिविधि, प्रगति तथा आगामी योजनाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो। प्रस्तुतीकरणका क्रममा बाल संरक्षण, बालबालिकाको समग्र विकास, समुदायको सहभागिता, स्थानीय तहसँगको सहकार्य तथा परियोजना मार्फत सञ्चालन भई रहेका विभिन्न कार्यक्रमका विषयमा जानकारी गराईएको थियो।
साथै आगामी वर्षका गतिविधिलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउन स्थानीय सरकार तथा सरोकारवाला निकाय बीचको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो। वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रम साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख शिव बहादुर कुँवर शिलोजको प्रमुख आतिथ्यता भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले हातेमालो परियोजनाले बालबालिकाको संरक्षण, विकास र समृद्धिका क्षेत्रमा गरि रहेको काम प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गर्नु भयोे। उहाँले आगामी दिनमा पनि स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै बालबालिकाको हितमा नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउनु भयो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरुले हातेमालो परियोजनाले बालबालिकाको क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरेका थिए। उनीहरुले परियोजनाका गतिविधिले बालबालिकाको हित, संरक्षण र विकासमा सकारात्मक योगदान पुर्याई रहेको उल्लेख गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सहित अघि बढ्न सुझाव तथा हौसला प्रदान गरेका थिए।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नवराज बुढा, नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा आस्था नेपाल वाक नेपालका सामाजिक परिचालक लगायत सरोकारवालको उपस्थित रहेको थियो। कार्यक्रमको सञ्चालन आस्था नेपालका फिल्ड अधिकृत भ्वान सिंह सार्कीले गर्नु भएको थियो।