टि. आर. भण्डारी ।
“श्रद्धया दीयते यत्तु तच्छ्राद्धं परिकीर्तितम्।”
अर्थ: श्रद्धापूर्वक दिईने वा गरिने कर्मलाई श्राद्ध भनिन्छ।
हिन्दु धर्म केवल पूजा, आराधना र कर्म काण्डको धर्म मात्र होईन, यो जीवन, मृत्यु, प्रकृति, परिवार, समाज, संस्कार र कर्तव्यलाई गहिरो रुपमा जोडेर हेर्ने जीवन दर्शन पनि हो। हिन्दु धार्मिक परम्परामा आफ्ना पुर्खा तथा दिवङ्गत आफन्त प्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष अवसरका रुपमा सोह्र श्राद्ध अर्थात पितृ पक्षलाई अत्यन्त महत्वपूर्ण मानिन्छ।
मानिस आज जहाँ छ, त्यो केवल उसको आफ्नै प्रयासको परिणाम होईन। उसको अस्तित्वको पछाडि आमाबुबा, हजुरबा-हजुरआमा र अनगिन्ती पुर्खाको त्याग, संघर्ष, संस्कार र योगदान जोडिएको हुन्छ। त्यसैले आफूलाई जन्म दिने, हुर्काउने र जीवनको बाटो देखाउने पूर्वजहरुको सम्झना गर्नु मानवीय कर्तव्य मात्र होईन, हिन्दु धार्मिक परम्परामा पवित्र दायित्वका रुपमा समेत लिईन्छ।
श्राद्धको अर्थ: श्रद्धाबाट सुरु हुने संस्कार
‘श्राद्ध’ शब्द ‘श्रद्धा’ बाट बनेको हो। श्रद्धा भन्नाले विश्वास, सम्मान, समर्पण र कृतज्ञताको भाव बुझिन्छ। त्यसैले श्राद्धको वास्तविक अर्थ मृतकका नाममा गरिने भोज वा कर्म काण्डमा मात्र सीमित छैन। यसको मूल भाव हो-पितृलाई श्रद्धापूर्वक सम्झनु, उनीहरुको योगदान प्रति कृतज्ञ हुनु र उनीहरुले दिएका असल संस्कारलाई आफ्नो जीवनमा निरन्तरता दिनु।
हिन्दु धार्मिक मान्यता अनुसार भाद्रपद पूर्णिमा पछि सुरु हुने पितृ पक्षमा विभिन्न तिथि अनुसार दिवङ्गत आफन्तको श्राद्ध गर्ने परम्परा छ। आफ्नो पितृको मृत्यु भएको तिथि थाहा भए सोही तिथिमा श्राद्ध गरिन्छ। तिथि थाहा नभएका पितृका लागि विशेष तिथिमा श्राद्ध गर्ने र अन्त्यमा पर्ने सर्वपितृ अमावस्या अर्थात औँसीमा सामूहिक रुपमा पितृको स्मरण गर्ने परम्परा पनि रहेको छ।
पितृ ऋण र सन्तानको कर्तव्य
हिन्दु दर्शनमा मानिसले देव ऋण, ऋषि ऋण र पितृ ऋण वहन गरेको हुन्छ भन्ने मान्यता पाईन्छ। पितृ ऋण भन्नाले आफूलाई जन्म, जीवन, संस्कार र अस्तित्व प्रदान गर्ने पुर्खा प्रतिको दायित्वलाई बुझिन्छ। हामीले आफ्नो जीवनमा प्राप्त गरेका धेरै कुरा अघिल्लो पुस्ताको योगदानबाट आएका हुन्छन्।
उनीहरुले परिवार जोगाए, दुःख–कष्ट सहेर सन्तान हुर्काए, संस्कृति र परम्परालाई पुस्तान्तरण गरे र भावी पुस्ताका लागि बाटो बनाए। त्यसैले पितृको स्मरण गर्नु उनीहरु प्रति सम्मान व्यक्त गर्नु हो। सोह्र श्राद्धले यही पितृ ऋण र कृतज्ञताको भावनालाई जीवन्त बनाउँछ।
तर्पण र पिण्डदानको धार्मिक महत्व
श्राद्धका क्रममा पवित्र जल, तिल र कुशद्वारा तर्पण गर्ने, पिण्ड अर्पण गर्ने, पूजा गर्ने, दान–दक्षिणा दिने तथा भोजन गराउने परम्परा छ। धार्मिक विश्वास अनुसार यस्ता कर्म पितृहरुको शान्ति र सद्गतिको कामनाका लागि गरिन्छन्। तर्पणको गहिरो भावलाई केवल जल अर्पणका रुपमा मात्र बुझ्नु हुँदैन।
यसमा आफ्ना पुर्खा प्रति “हामी तपाईंहरुलाई सम्झि रहेका छौँ, तपाईंहरुले दिनु भएको जीवन र संस्कार प्रति हामी कृतज्ञ छौँ” भन्ने भाव निहित छ। पिण्डदानले पनि पितृ प्रतिको श्रद्धा र सम्झनालाई अभिव्यक्त गर्छ। यी धार्मिक कर्महरु पुस्तौँ देखि चलि आएका सांस्कृतिक सम्पदा हुन्। तिनको वैज्ञानिक व्याख्या भन्दा पनि तिनमा रहेको आस्था, संस्कार र भावनात्मक सम्बन्धलाई बुझ्नु महत्वपूर्ण हुन्छ।

पितृलाई सम्झनु भनेको इतिहास सम्झनु हो
हामी आफ्नो इतिहास बिर्सियौँ भने आफ्नो पहिचान पनि कमजोर हुन्छ। प्रत्येक परिवारको आफ्नै इतिहास हुन्छ। कुनै परिवारले गरिबी र अभावसँग संघर्ष गरेको हुन्छ, कसैले शिक्षा र सामाजिक परिवर्तनका लागि योगदान दिएको हुन्छ, कसैले समाजमा नेतृत्व गरेको हुन्छ। सोह्र श्राद्धले परिवारका नयाँ पुस्तालाई आफ्ना पुर्खाका बारेमा जान्ने अवसर दिन्छ।
हाम्रा बाजे–बज्यैले कस्तो जीवन बिताए? उनीहरुले परिवारका लागि के गरेर? उनीहरुको सामाजिक योगदान के थियोरु उनीहरुले हामीलाई कस्ता संस्कार दिएर? यस्ता प्रश्नको खोजी गर्ने अवसर पनि श्राद्धले प्रदान गर्छ। यस अर्थमा सोह्र श्राद्ध पुर्खाको स्मरण मात्र नभई पारिवारिक इतिहास र सांस्कृतिक पहिचान जोगाउने पर्व पनि हो।
श्राद्धमा दानको महत्व
हिन्दु धर्ममा दानलाई महत्वपूर्ण पुण्यकर्म मानिन्छ। श्राद्धको अवसरमा अन्न, वस्त्र, दक्षिणा तथा आवश्यक सामग्री दान गर्ने परम्परा छ। तर आजको समयमा दानको अर्थलाई अझ व्यापक बनाउन सकिन्छ। पितृको सम्झनामा गरिब तथा असहायलाई भोजन गराउने, वृद्धलाई सहयोग गर्ने, विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने, बिरामी तथा विपन्न परिवारलाई सहयोग गर्ने, वृक्षरोपण गर्ने वा सामाजिक सेवामा योगदान गर्ने कार्य पनि पितृ प्रतिको श्रद्धालाई सामाजिक कर्मसँग जोड्ने उत्कृष्ट माध्यम बन्न सक्छ।
पितृका नाममा गरिने कुनै पनि सत्कर्मले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले श्राद्धलाई दान, सेवा र परोपकारको अवसरका रुपमा पनि लिन सकिन्छ।
कर्म काण्ड भन्दा भावनाको महत्व
आजको समाजमा श्राद्धका नाममा अनावश्यक खर्च, देखावटी र सामाजिक प्रतिस्पर्धा बढेको देखिन्छ। आफ्नो आर्थिक क्षमता भन्दा बाहिर गएर भोजभतेर गर्ने, ऋण लिएर खर्च गर्ने वा अरुलाई देखाउनकै लागि महँगो श्राद्ध गर्ने प्रवृत्तिले श्राद्धको मूल भावना कमजोर बनाउन सक्छ।
हिन्दु धर्मले आडम्बर भन्दा श्रद्धा, संयम, सत्य, दया र सदाचारलाई महत्व दिन्छ। त्यसैले श्राद्ध आफ्नो क्षमता र परिस्थिति अनुकूल सरल, मर्यादित र श्रद्धापूर्ण हुनु उचित हुन्छ।
पितृलाई खुशी पार्ने नाममा परिवारलाई आर्थिक बोझमा पार्नु श्राद्धको उद्धेश्य होईन। बरु पितृको सम्झनामा गरिएको खर्चले कुनै गरिबको चुलो बल्यो, कुनै विद्यार्थीको पढाईमा सहयोग पुग्यो वा कुनै असहायको जीवनमा आशा थपियो भने त्यो अझ अर्थपूर्ण हुन सक्छ।
जीवित आमाबुबाको सेवा नै सच्चा श्राद्ध सोह्र श्राद्धको सबै भन्दा महत्वपूर्ण सन्देश मध्ये एउटा हो-जीवित हुँदा आमाबुबाको सम्मान र सेवा गर्नु। मृत्यु भए पछि ठूलो भोज गर्ने तर जीवित हुँदा आमाबुबालाई बेवास्ता गर्ने प्रवृत्तिले श्राद्धको वास्तविक उद्धेश्य पूरा गर्दैन। हिन्दु धर्मले आमाबुबालाई उच्च सम्मान दिएको छ-
“मातृदेवो भवः । पितृदेवो भवः ।” अर्थात आमालाई देवता समान मान, बुबालाई देवता समान मान। त्यसैले जीवित आमाबुबालाई सम्मान गर्नु, उनीहरुको स्वास्थ्य र आवश्यकताको ख्याल गर्नु, दुःख–सुखमा साथ दिनु र उनीहरुलाई माया गर्नु नै पितृ सेवाको सबै भन्दा ठूलो रुप हो। मृत्यु भए पछि गरिने श्राद्धले दिवङ्गत प्रति श्रद्धा व्यक्त गर्छ भने जीवित अवस्थामा गरिने सेवा वास्तविक कर्तव्य हो।
मृत्युको सत्य र जीवनको शिक्षा
सोह्र श्राद्धले मानिसलाई जीवनको एउटा गहिरो सत्य पनि सम्झाउँछ-मृत्यु अपरिहार्य छ। जन्म पछि मृत्यु निश्चित छ। धन, पद, प्रतिष्ठा र भौतिक सम्पत्ति सबै यही संसारमा रहन्छन्। मानिससँग जाने कुरा उसका सत्कर्म, संस्कार र समाजमा छोडेको असल प्रभाव हुन्। पितृको श्राद्ध गर्दा हामी आफ्नै जीवनलाई पनि नियाल्छौँ। हामीले कस्तो जीवन बाँचि रहेका छौँर?
हाम्रो व्यवहारले परिवार र समाजमा कस्तो प्रभाव पारि रहेको छ? हामीले आगामी पुस्तालाई कस्तो संस्कार दिई रहेका छौँरु यी प्रश्नले मानिसलाई आत्म चिन्तन गर्न प्रेरित गर्छन्। यसैले सोह्र श्राद्ध मृत्युको सम्झनाबाट जीवनलाई अझ अर्थपूर्ण बनाउने अवसर पनि हो।
नयाँ पुस्ताले के सिक्नेर?
आजको युवा पुस्ता आधुनिक शिक्षा, विज्ञान र प्रविधिसँग जोडिएको छ। पुराना संस्कार र परम्परा बारे उनीहरुले प्रश्न गर्नु स्वाभाविक हो। तर परम्परालाई बुझ्दा त्यसको बाहिरी कर्म काण्ड मात्र होईन, त्यसमा लुकेको मूल्य र सन्देश पनि बुझ्न आवश्यक छ। सोह्र श्राद्धले नयाँ पुस्तालाई आफ्ना पुर्खाको सम्मान, पारिवारिक एकता, ज्येष्ठ नागरिक प्रतिको सम्मान, दान, सेवा, कृतज्ञता र सामाजिक जिम्मेवारी सिकाउन सक्छ। यदि हामीले श्राद्धलाई केवल एक दिनको कर्म काण्डका रुपमा नभई जीवन भर असल संस्कार व्यवहारमा उतार्ने प्रेरणाका रुपमा लिन सक्यौँ भने यसको महत्व अझ बढ्छ।
अन्त्यमा सोह्र श्राद्ध हिन्दु धर्मको एउटा गहिरो धार्मिक, आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक परम्परा हो। यसको मूल उद्धेश्य पितृ प्रति श्रद्धा व्यक्त गर्नु, उनीहरुको आत्मिक शान्तिको कामना गर्नु, पितृ ऋण प्रति कृतज्ञ हुनु र परिवारमा असल संस्कारको निरन्तरता कायम गर्नु हो। श्राद्धको वास्तविक अर्थ ठूलो भोज, धेरै खर्च वा देखावटीमा होईन, श्रद्धा, स्मरण, कृतज्ञता, सेवा र सत्कर्ममा छ। हाम्रा पुर्खाले हामीलाई जीवन दिए, संस्कार दिए र एउटा पहिचान दिए। उनीहरुको सम्मान गर्ने सबै भन्दा सुन्दर उपाय उनीहरुले सिकाएका असल मूल्यलाई आफ्नो जीवनमा अपनाउनु हो।
जीवित आमाबुबाको सेवा गर्नु, परिवारमा प्रेम र सद्भाव कायम गर्नु, गरिब तथा असहायलाई सहयोग गर्नु, समाजका लागि सकारात्मक काम गर्नु र आगामी पुस्तालाई असल संस्कार दिनु नै पितृ प्रतिको सच्चा सम्मान हो। त्यसैले यस सोह्र श्राद्धमा हामी केवल दिवङ्गत पितृलाई सम्झने मात्र होईन, उनीहरुको त्याग र योगदान प्रति कृतज्ञ बनौँ। कर्म काण्डमा भन्दा भावनामा, प्रदर्शनमा भन्दा श्रद्धामा र खर्चमा भन्दा सेवामा जोड दिऔँ। पुर्खाको स्मृतिलाई सत्कर्ममा रुपान्तरण गरौँ। पितृको सच्चा श्रद्धाञ्जली उनीहरुको नाममा गरिने कर्म मात्र होईन, उनीहरुले देखाएको असल बाटोमा हिँड्नु हो।
“पितृ प्रति श्रद्धा गरौँ, जीवित ज्येष्ठको सेवा गरौँ, संस्कारलाई पुस्तान्तरण गरौँ र सत्कर्मबाट पुर्खाको सम्मान गरौँ।”