साँफेबगर ।
साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा न्यायीक समितिको काम, कर्तव्य र अधिकार तथा लैंगिक हिंसा निवारण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ।
साँफेबगर नगरपालिका न्यायीक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर १४ पातलकोटका अगुवाहरु, सरोकारवाला, महिला संजालका पदाधिकारी, दलित संजालका पदाधिकारी,युवा, टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि लगायतको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रम न्यायीक समिति संयोजक शिव बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो। सचेतनामुलक कार्यक्रममा न्यायीक समितिको काम, कर्तव्य र अधिकार बारे साँफेबगर नगरपालिका कानुन शाखाका प्रमुख एवम उजुरी प्रशासक नृप विश्वकर्माले प्रशिक्षण दिनु भएको थियो। उहाँले न्यायीक समिति स्थानीय स्तरमै छिटो, सहज र सुलभ न्याय दिने प्रभावकारी माध्यम हो, यसको अधिकार र प्रक्रिया बारे नागरिक सचेत हुन आवश्यक रहेको कुरा पनि अवगत गराउनु भएको थियो।
त्यसै गरी, लैंगिक हिंसा निवारण सम्बन्धी विषयमा साँफेबगर नगरपालिका लैंगिक हिंसा निवारण कोषका सदस्य अप्सरा कुँवरले सहजीकरण गर्नु भएको थियो। उहाँले लैंगिक हिंसा अन्त्यका लागि समुदाय स्तरबाटै आवाज उठाउनु पर्छ, हिंसा सहेर बस्नु समाधान होईन, उजुरी र सचेतना नै परिवर्तनको पहिलो कदम हो, भन्दै सहभागीलाई प्रशिक्षण गराउनु भएको हो। वडा अध्यक्ष सन्जु थापाले मन्तव्य राख्दै भन्नु भयो न्यायिक समितिको काम, कर्तव्य र अधिकार बारे जनचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। विशेष गरी महिला तथा लैंगिक हिंसाबाट प्रभावित समुदायलाई न्यायमा पहुँच सहज बनाउने हाम्रो लक्ष्य हो। यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय तहमा न्यायिक सेवा प्रभावकारी बनाउन ठूलो टेवा पुग्ने विश्वास लिएका छौं।”
कार्यक्रमलाई समापन गर्दै नगर उपप्रमुख एवम न्यायीक समिति संयोजक शिव बहादुर कुँवरले स्थानीय तहमा हुने साना–ठूला विवाद समाधानमा न्यायीक समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो। उहाँले लैंगिक हिंसा अन्त्यका लागि समुदाय स्तरबाटै सचेतना अभिबृधि आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो।
उहाँले भन्नु भयो, “न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न र लैंगिक हिंसा मुक्त समाज निर्माण गर्न हामी सबैको सहकार्य आवश्यक छ । स्थानीय तहबाटै सचेतना फैलाउँदै लैजान सके मात्र दिगो परिवर्तन सम्भव हुन्छ।” कार्यक्रममा सहभागीहरुले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने धारणा व्यक्त गरेका छन्