साँफेबगर ।
आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको छ । रोगको प्रकोपले फल नलाग्दै आलुका बोट सुक्न थाले पछि व्यावसायिक आलु कृषक चिन्तित बनेका छन् । डढुवाको प्रकोप साँफेबगर स्थित हातेमालो बहुउद्धेश्यीय सहकारी संस्थाले लगाएको आलुमा बढी देखिएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित मष्टमाण्डौंमा रहेको हातेमालो बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा खेती गरिएको आलु बालीमा डढुवा रोगको प्रकोप देखिएको हो । सहकारीले प्रयोग गरेको कुल २० रोपनी जग्गा मध्ये करिब १० रोपनी क्षेत्रफलमा लगाईएको आलु बाली पूर्ण रुपमा सखाप भएको छ ।
हातेमालो बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष सुरत भूलका अनुसार डढुवा रोगका कारण सहकारीलाई तीन लाख रुपैयाँ भन्दा बढीको क्षति पुगेको छ । उहाँले मौसममा आएको अचानक परिवर्तन, चिस्यान र निरन्तरको ओसिलो वातावरणका कारण रोग फैलिएको बताउनु भयोे । किसानले धेरै मिहिनेत गरेर लगाएको बाली एकाएक नष्ट हुँदा ठूलो आर्थिक क्षति बेहोर्नु परेको अध्यक्ष भूलको भनाई रहेको छ ।
डढुवा रोगको अवस्था बुझ्न तथा प्राविधिक सहयोगका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई अछामका प्राविधिक पूर्ण प्रसाद ढुंगाना प्रभावित आलु बालीमा पुग्नु भएको थियो । उहाँले आलुमा देखिने डढुवा रोगका लक्षण, कारण र नियन्त्रणका उपायहरु बारे कृषकलाई जानकारी गराउनु भयो ।
प्राविधिक ढुंगानाका अनुसार डढुवा रोग लाग्दा आलुको पात कालो हुने, डाठ सुक्ने र अन्ततः बोटै नष्ट हुने समस्या देखिन्छ । समयमै रोग पहिचान गरी उपयुक्त विषादी प्रयोग गर्न सके क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाई रहेको छ । साथै उहाँले आगामि दिनमा आलु खेती गर्दा असोज महिनामा गर्न सुझाव दिँदै मौसम अनुकूल बाली व्यवस्थापन गर्न आग्रह गर्नु भयो ।
यसै बीच, युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी साँफेबगर शाखाका प्रमुख प्रेमराज रेग्मीले सहकारीले गरेको बीमा अनुसार क्षतिपूर्ति भुक्तानीका लागि बीमा कम्पनी मार्फत पहल गर्ने बताउनु भएको छ । उहाँले आवश्यक कागजात संकलन र प्रक्रिया पूरा भए पछि बीमाबाट राहत उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
डढुवा रोगको अवस्था बुझ्न साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टमाण्डौंका वडा अध्यक्ष नवराज वुढा, साँफेबगर कृषि विकास शाखाका प्राविधिक तुल्सी थापा लगायतको सहभागिता रहेको थियो ।