विनोद शाही ठकुरी ।
युवालाई परिभाषित र सैद्धान्तिक हिसाबले हेर्दा यो जीवनको सबै भन्दा ऊर्जाशील, गतिशील र कर्मशील समय हो। मानिस युवा अवस्थामा आई पुग्न शारीरिक, मानसिक एवं संवेगात्मक विकास उत्कर्षको चरणमा पुगेको हुनु पर्छ। युवा भन्ना साथ स्वस्थ शरीर, मस्तिष्कमा विचार, मनमा सपना र ती सपना साकार पार्न सक्ने लगनशील क्षमताका साथै जोस र जाँगर भएको सम्झनु पर्छ। सुसंस्कृत सबल युवा हुनका लागि उमेरका साथसाथै शारीरिक एवं मानसिक रूपले स्वास्थ्यमा तन्दुरूस्त र सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक वातावरणमा समेत समुन्नत हुनु जरूरी छ। नेपालको सन्दर्भमा राष्ट्रिय युवा निति २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनिन्छ। युवाको उमेर अधिकांश देशमा १५ देखि ३५ वर्षका बीचमा कायम गरिएको पाइए पनि संयुक्त राष्ट्र संघ र विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेका छन्।
नेपालको सन्दर्भमा नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेकोमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानेको छ। २०७८ को जनगणना अनुसार कुल जनसंख्यामा युवा संख्या ४२.५६ प्रतिशत हुन आउँछ। युवावर्ग घर परिवार, समाज, राष्ट्र र विश्वका मेरूदण्ड भएकाले देशको कुल गार्हस्थ्य उत्पादन, आर्थिक वृद्धि तथा विकास, सामाजिक तथा साँस्कृतिक विकास र पर्यटन प्रवद्र्धनमा युवाहरूको महत्वपूर्ण भूमिका हुन्छ। नेपालमा भएका युगान्तकारी परिवर्तनहरूमा युवाको सार्थक सहभागिता रहने गरेको छ। मुलुकमा हजारौं युवाले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि जीवनको बलिदान दिएका छन्। तसर्थ युवाको योगदान, संघर्ष र सहभागिता राज्यका हरेक क्षेत्रमा चुनौती सामना गर्ने कार्यमा महत्वपूर्ण छ। करिब १ करोड २४ लाखको संख्या युवाशक्ति रहेको नेपालबाट बर्सेनि लाखौं संख्यामा युवा रोजगारीका लागि विदेशिएका छन्। लाखौंको संख्यामा युवा वैदेशिक रोजगार, उच्च शिक्षा लगायत भविष्यको सुनौलो सपनाको खोजीमा विदेश गई रहेको तथ्यांक हामीसामु छन्।
विश्वका जुनसुकै देशमा मानिसहरू आवतजावत त निरन्तर प्रक्रिया हो तर कतिपय युवाहरू विदेशमा नै पलायन भई रहेको अवस्था छ। नेपालबाट वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ र व्यक्तिगत रूपमा १७८ देशमा जान सकिने व्यवस्था छ। अहिलेको द्वन्द्वग्रस्त रुस, युक्रेन देखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि नेपाली श्रमिक पुगेका छन्। दैनिक दुई हजारको हाराहारीमा युवा विदेशिने गरेका छन्। तर दैनिक एक हजार दुई सय युवा पनि नेपाल फर्कि रहेको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७९–८० मा ७ लाख ७१ हजार ३२७ (६ लाख ९९ हजार १९३ पुरुष र ७२ हजार १३४ महिला) ले १४४ देशका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। यी मध्ये ४ लाख ९४ हजार २२४ (४ लाख ४० हजार ७२४ पुरुष र ५३ हजार ५०० महिला) ले नयाँ श्रम स्वीकृति लिएका थिए। वैदेशिक रोजगारीका सिलसिलामा नेपाली युवा विश्वका १ सय ४४ मुलुकमा छन्। अहिले पनि रोजगारी र उच्च शिक्षाको खोजीका लागि विदेशिने क्रम रोकिएको छैन। रोजगारीका लागि सरकारले धेरै मुलुक खुला गरे पनि हालसम्म ११ मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ।
भारत तर्फको खुला सिमानामा त झन बर्सेनि लाखौं युवा मजदुरीका लागि भारतका विभिन्न सहरहरूमा निम्न स्तरको काम गर्न गई रहेका छन्। विदेशी बजारमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य युवा वैदेशिक रोजगारका नाममा ठगिएका पनि छन्। नेपाली युवाको श्रम र पैसा दुवै बाहिरिई रहेको छ। हाम्रा मुलुकका करिब ७० देखि ८० प्रतिशत युवा जनशक्ति बाहिरिई रहेको अवस्था छ। नेपालमा नै रहेका युवाहरू पनि रोजगारी र जीवनयापनका लागि आयआर्जन गर्न सहरका गल्लीगल्लीमा भौँतारिँदै हिँड्नु परि रहेको अवस्था छ। नेपालमै राम्रो जागिर खाई रहेका र उच्च शिक्षा हासिल गरि सकेकाहरू पनि विदेश जाने क्रम चलेको देखिन्छ। साथै स्वदेशमै रोजगारीको अवसर नपाउँदा पनि युवाहरूमा आक्रोश छ। रोजगारी सिर्जना गरी युवाका आक्रोश हल गर्ने चुनौती हामीसामु छ। जल, जमिन र जंगललाई अधिकतम सदुपयोग गर्दै जलविद्युत तथा पर्यटनका क्षेत्रमा लगानी वृद्धि गरी त्यसबाट आउने प्रतिफलले देशलाई समृद्धउन्मुख बनाउन सकिन्छ। स्वदेशमै केही गरौं भन्ने युवाहरूको सोच भए पनि अवसर पाएका छैनन्। कृषि, पशु पालन क्षेत्र तर्फ आकर्षित युवाहरू पनि स्रोत तथा साधनको अभावमा छन्।
उत्पादन पछि बजारको अभाव, सञ्चय गर्ने प्रविधिको अभाव र राज्यको नीतिका कारण धेरै समस्या झेलि रहेका छन्। खाडी मुलुकमा श्रम गरेका भरमा युवाहरूले परिवार पाल्नु पर्ने अवस्था छ। नेपाल सरकार समेत रेमिट्यान्सको भर परि रहेको छ। निजी क्षेत्रमा काम गर्न युवाहरूमा उत्साह र आकर्षण छैन। नेपाली संस्कृति, परम्पराको उत्कृष्टतामा नरमाएर युवाहरू विदेशमा नै जानुपर्ने वातावरण छ। नेपाली युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउनका लागि नेपालमा नीतिगत स्तरमा व्यवस्थाहरू भए पनि त्यसको कार्यान्वयन पक्ष भने कमजोर छ। राष्ट्रिय युवा नीति २०७२ को संघीयता पश्चात परिमार्जन नभई रहेको अवस्थामा नीति नियमहरूलाई परिमार्जन गर्दै लगेर आधुनिक वैज्ञानिक तरिकाले समायानुकूल तयार हुनको लागि मस्यौदा तयारी भएर नीति पारित हुने अवस्थामा छ, जुन कार्य अगाडि बढि रहेको छ। नेपालको संविधान २०७२ र नेपाल सरकारको राष्ट्रिय युवा नीति २०७२, युथ भिजन २०२५, राष्ट्रिय युवा परिषद् ऐन २०७२ ले युवाका आधारभूत अधिकारको प्रत्याभूति गर्दै सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको नीति निर्माण देखि कार्यान्वयन तहसम्म सार्थक सहभागिता र नेतृत्व क्षमताको विकासमार्फत सामथ्र्यवान, उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त सुसंस्कृत युवा तयार गर्नु पर्ने अवस्था आएको छ।
युथभिजन–२०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ। संयुक्त राष्ट्रसंघको १७ डिसेम्बर १९९९ मा सम्पन्न ५४ औं साधारण सभाले अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। युवालाई अधिकार मात्र होईन, कर्तव्य प्रति पनि उत्तिकै सचेत र जिम्मेवार बनाउनु पर्छ। दिवस मनाउन मात्रका निमित्त नभई राष्ट्र र राष्ट्रियता प्रति सजग तथा समर्पित भई सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्नमा तन, मन र वचनले लाग्न प्रेरित गर्नु नै दिवसको सार्थकता हुनेछ। युवा दिवस मूल रूपमा युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्नु, बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय संवैधानिक व्यवस्था, ऐन, कानुन तथा घोषणा पत्र कार्यान्वय गर्नु, नभएकालाई बनाउनु र आवश्यकता अनुसार समय सापेक्ष संशोधन गर्न वकालत गर्नु नै मुख्य उद्धेश्य हो। संयुक्त राष्ट्र संघको घोषणासँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जात्मक र उद्यमशीलताका कार्यक्रम आयोजना गरी युवा दिवस मनाइँदै आई रहेको छ। हाम्रो नेपालमा भने सन् २००४ देखि युवा दिवसलाई मनाउन थालिएको हो।
प्राप्त उपलब्धिको रक्षा, सवाल तथा मुद्धाहरूको यथोचित सम्बोधन तथा चुनौतीहरूको सामना गरी विश्व परिवेश तथा नेपाल अनुकूल हुने गरी युवालाई राष्ट्रिय तथा सामाजिक अभियानहरूमा स्वयम सेवकका रूपमा व्यापक परिचालन गर्नु पर्छ। यसका अतिरिक्त युवा लक्षित मुद्दा तथा सवालहरू कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक दबाब सिर्जना गर्नु पनि हो। युवाका सवालहरूमा विश्वका विभिन्न देशका सरकार तथा सरोकारवालालाई सचेत र जागरूक गराउन दिवसको घोषणा गरिएको हो। गत वर्ष १२ अगस्त २०२४ मा अन्तराष्ट्रिय युवा दिवसमा Main theme From Clicks to ProgressM Youth Digital Pathways for Sustainable Development रहेको थियो। १२ अगस्त २०२५ को अन्तर्राष्ट्रिय युवा दिवसका लागिMain Theme–Youth Empower-ment for a Sustainable Future दिगो भविष्यको लागि युवा सशक्तिकरण रहेको छ। यस युगमा ऊर्जाशील र प्रतिभावान युवाहरू आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तनमा अग्र दस्तामा रही सबल, प्रतिस्पर्धी र आत्मनिर्भरता तिर अघि बढि रहेका छन्। देशको प्रतिकूल राजनीतिक अवस्थालाई स्थायित्व दिन जरूरी छ। राजनीतिक अनुकूलता र स्थिरता रहेको अवस्थामा युवाको सक्षम नेतृत्वको आवश्यकता छ। राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउन अर्थपूर्ण र क्रियाशील रूपमा लाग्नु पर्ने जिम्मेवारी आएको छ।
युवाहरू बौद्धिक, सिर्जनशील, सीपयुक्त उद्यमी र जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी अध्ययन, रोजगार, जीविकोपार्जन र अवसरका निमित्त लाग्नु टड्कारो आवश्यकता छ। निर्वाचन आयोगको तथ्यांकले स्थानीय तहमा निर्वाचित १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संख्या १३ हजार ८ सय ९३ अर्थात ३९.६५ प्रतिशत रहेको देखाउँछ। त्यस्तै प्रदेश तहमा २३.६३ प्रतिशत, प्रतिनिधि सभामा १३.९ प्रतिशत र राष्ट्रिय सभामा ६.७७ प्रतिशत रहेको पाईन्छ। २००७ साल देखि अहिलेसम्मका परिवर्तनको मसिनो ढंगले अनुसन्धान र सुक्ष्म विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो, वर्तमान पनि उत्तिकै निसास्सिँदो र भविष्य झनै अन्योलग्रस्त रहने अशुभ संकेतहरू देखापरेका छन्। युवा परिषद्को उपस्थिति सबै प्रदेश र जिल्ला तथा स्थानीय तहमा पुगि सकेको छ। यसरी राज्य सञ्चालनका तह र तप्कामा युवाको उपस्थिति तथा कार्यक्रमले अझ थप बल, तागत, ऊर्जा र क्रियाशीलता अभिवृद्धि भएको छ। जसबाट युवाहरूको नीति निर्माणमा सार्थक सहभागिता, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा सहभागिता वृद्धि भएको छ। यसका अलावा अझ आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भौतिक, बौद्धिक विकासका लागि केही थप कार्य गर्नु पर्ने अनुभूति भई रहेको छ। युवामा नैतिकता, चारित्रिक गुण र अनुशासन विकास गरी परिवर्तित विश्व (बाँकी ३ पेजमा) श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त, पौरखी, सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील युवा बनाउनका लागि अन्तर्राष्ट्रिय जगत र राज्य थप बलपूर्वक लाग्नु पर्छ।
राष्ट्रको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल तपाईं हामीले नै निर्माण गर्नु पर्छ। विदेशी शिक्षा, रोजगारी, सीप, आय, सेवा, सुविधा, अवसर प्रति लगाव बढ्दै गई रहेको वर्तमान परिप्रेक्षमा राज्यका नीति, नियम, निर्देशन, निर्णय, आयोजना, कार्यक्रमहरू सबै त्यति प्रभावकारी सिद्ध भएका छैनन्। विश्वमा भई रहेको आर्थिक वृद्धि तथा विकासको प्रतिस्पर्धात्मक तुलनामा हामी धेरै पछिको स्तरमा छौं। हामीसँग भएका सीमित स्रोत साधनको उपयोग हुन सकेको छैन। युग सुहाउँदो आधुनिक, विकसित प्रविधि हामीसँग छैन, यो यथार्थ हो। हामीसँग युवा जनशक्ति उपयोग गर्न सक्ने उद्योग धन्दा, कलकारखाना छैनन्। प्राविधिक, सीपमूलक, आयमूलक एवं व्यावहारिक शिक्षामा जोड दिइएको छैन। अत्याधुनिक पाठशाला एवं अध्ययन अनुसन्धानका लागि प्रयोगशालाहरू छैनन्। विश्वविद्यालयहरूमा गुणस्तरीय युग सुहाउँदो शिक्षा छैन। राजनीतिक परिवर्तन ल्याउनका लागि आफ्नो बलिदान दिने युवाहरूलाई राजनीतिक क्षेत्रमा ठाउँ खाली छैन। राजनीतिक परिवर्तनसँगसँगै युवाहरूको सहभागिता, क्रियाशीलता बढ्दै जानु पर्नेमा झन–झन कमजोर भई रहेको छ। राजनीतिक पार्टीहरूमा विचार, क्षमता र सक्रियतालाई भन्दा पनि पालो पर्खने संस्कारको विकास भई रहेको छ।
विश्वका हरेक परिवर्तनमा युवाको महत्वपूर्ण योगदान हुन्छ। राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधैं अग्रणी रहँदै आएको छ। युवा नै परिवर्तनका वाहक हुन र समाजलाई नेतृत्व दिने शक्ति हुन्। नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको महत्वपूर्ण भूमिका रहँदै आएको छ। राणा शासन कालको अन्त्य गर्दा होस् या २०४६ र २०६३ सालको जनआन्दोलन, यस्ता युगान्तकारी आन्दोलनहरूमा युवाको महत्वपूर्ण सहभागिता थियो। २००७ साल र २०४६ सालको आन्दोलनबाट परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तन संस्थागत हुन नसक्दा आज नेपालको विकासको गति सुस्त छ। हामीसँगै राजनीतिक परिवर्तन भएका चीन र भारत तीव्र गतिमा आर्थिक र सामाजिक विकास तिर लम्किँदा हामी भने कछुवाको गतिमा पनि हिँड्न सकेका छैनौं। २००७ साल देखि अहिलेसम्मका परिवर्तनको मसिनो ढंगले अनुसन्धान र सुक्ष्म विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद थियो, वर्तमान पनि उत्तिकै निसास्सिँदो र भविष्य झनै अन्योलग्रस्त रहने अशुभ संकेतहरू देखा परेका छन्। विगतमा हामीले उठाएका मुद्धा, माग, नारा र योजना ठीक थिए कि थिएनन् भनेर समीक्षा गर्ने जिम्मेवारी हामी युवाको काँधमा आएको छ। गैरसरकारी तथा निजी क्षेत्रका रोजगारीमा स्थायित्व प्रदान गर्नका लागि न्यूनतम ज्याला सम्बन्धीका विषयवस्तु समेटिएर कार्यान्वयन गर्नु आवश्यक छ। नागरिक बिनाको राज्य कल्पना गर्न सकिँदैन।
तसर्थ मुलुकका नागरिकलाई राज्यले कृषि, व्यवसाय तथा स्वरोजगारमूलक उद्यमशीलतामा बढी जोड दिनुका साथै अर्थव्यवस्थामा सरकारले नियमनकारी भूमिका खेल्नु जरूरी छ। सार्वजनिक निजी साझेदारीमा युवाहरूको सहभागितामा जोड दिईनु पर्छ। राज्यबाट स्वरोजगारका लागि प्रदान गरिने अनुदान, प्रशिक्षण, तालिमलगायत सीप विकासका कार्यक्रममा एकरूपता ल्याई एकीकृत ढंगले कुनै एक निकाय तथा युवाका लागि स्थापना गरिएको सरकारी संस्था राष्ट्रिय युवा परिषद् मार्फत अधिकार प्रत्याभूत गरी प्रभावकारी ढंगले प्रदान गर्ने व्यवस्था गरिनु पर्छ। राज्यबाट बेराजगार भत्ता भन्दा रोजगार सिर्जना र स्वरोजगारका लागि सहयोग गरिनु पर्छ। नेपालमा रहेका सम्भावना रहेका खानी उत्खनन, जडीबुटी उत्पादन एवं प्रशोधन, विद्युत उत्पादन, पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रमा लगानी गर्नु आवश्यक छ। नेपाली श्रम बजारमा नेपालकै श्रमको उपयोग गराउन सक्नु पर्छ। संघीयतालाई आत्मसात गर्दै स्थानीय स्तरमा विभिन्न युवा क्लब र समितिहरू स्थापना गरी खेलकुद, सांस्कृतिक हस्तान्तरण, स्वयम सेवक बनाई सामाजिक विकासका लागि युवाहरूलाई क्रियाशील बनाउनु पर्छ। स्थानीय स्तरमा युवाहरूलाई सामूहीकरण गरी साझा रूपमा कृषि, पर्यटन, व्यापार, व्यवसाय लगायतका सामाजिक कार्यमा सहभागिता बढाउनु पर्छ। सरकारद्वारा पर्यटकीय क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्रका रूपमा क्षेत्र र स्थानहरू निर्धारण गरी युवाको सक्रियता बढाउनु आवश्यक छ।
युवाको सहभागिता र क्रियाशीलताका लागि अब आउने वर्ष राष्ट्रिय युवा वर्ष मनाउनु पर्छ। आज पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया ताक्छन्। ग्रामीण क्षेत्रका युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, युरोपलाई सपना बुनेर दक्षिण कोरियासम्म पुग्छन्। गत आर्थिक वर्ष मात्रै यसरी विदेशिनेको संख्या झण्डै ८ लाख पुगेको छ। ती मध्ये कतिपय मानव तस्करीको जालोमा फस्छन् र जिउधन दुवै गुमाउँछन्। ऊर्जाशील युवालाई विदेश पठाउनु हाम्रो हितमा छैन। वैदेशिक रोजगारीबाट आर्जित विदेशी मुद्रा सुविधाभोगी वर्गको मोजमस्तीको साधन भएको छ। रोजगारीमा जाने कसैले बजारमा सिमेन्टको एउटा घर ठड्याएको होला, तर उसको सामाजिक र पारिवारिक जीवन विशृंखलित भएको छ, भविष्य असुरक्षित भएको छ। नेपालमा रेमिट्यान्स बढेकोमा उत्साह मान्ने कि हरेक दिन हजारौं नेपाली रोजगार अथवा अध्ययन गर्न विदेशिएकोमा दुखित हुने? यो प्रश्न अहिले नेपाली अर्थ सामाजिक कोणका हिसाबले सबै भन्दा महत्व राख्ने प्रश्न हुन सक्छ। विकासको माग गर्ने सशक्त आवाज, विकासलाई कार्यरूप दिने मस्तिष्क, विकासको प्रतिफल उपभोग गर्ने सक्रिय उमेरको जनसंख्याको अनुपस्थितिमा मुलुकको वर्तमान विकास र भविष्यको बाटो दुवै अन्धकारको भूमरीमा छन्। यस प्रवृत्तिलाई नउल्ट्याई मुलुकको विकासको गफ गर्नु निरर्थक सावित हुने स्पष्ट भई सकेको छ। झट्ट हेर्दा उत्साहप्रद देखिने यस विषयको अर्को पाटोबाट हेर्दा भने विचारणीय छ।
नेपालका युवाहरू विदेश पलायन हुने लर्को झनै बढ्दो छ। यसले गर्दा देश भित्र युवा शक्तिको झन–झन अभाव हुन थालेको छ। गाउँहरू रित्तिँदै गएका छन्। गाउँमा विकसित हुँदै गएका कृषि सहकारी, पशु पालन, तरकारी खेती लगायत कृषि व्यवसाय संकटग्रस्त हुन थालेका छन्। विदेशी मुद्रा शोधनान्तर स्थिति धान्ने ठूलो स्रोत सिद्ध भएको वैदेशिक रोजगारी अब निकै नाजुक राष्ट्रिय समस्या बन्न पुगेको छ। युवाहरूको विदेश आकर्षण पूरै रोक्न सम्भव नभए पनि बेरोजगारीले गर्दा विदेशिने युवावर्गलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा नसोच्ने हो भने यो समस्या आर्थिक हिसाबले मात्र नभई सामाजिक हिसाबले पनि झन् कहाली लाग्दो हुँदै जानेछ। सक्रिय काम गर्ने उमेर, जाँगर र सीपयुक्त जनशक्तिको अभावमा अब मुलुकले चाहेको वा गर्न खोजेको आर्थिक–सामाजिक विकासको सम्भावना दिनानुदिन क्षीण हुँदै गएको छ। जनशक्तिको अभावमा विकास निर्माणका आयोजना एवं औद्योगिकीकरणका लागि जनशक्ति नपाईने, श्रम बजारमा आपूर्ति कम भएका कारण बढ्ने ज्याला दरले उत्पादन र आयोजना कार्यान्वयन लागत बढाउने अनि विदेशबाट पठाएको रेमिट्यान्सले बढाएको उपभोगले आयात मात्रै बढाई रहने आर्थिक दुश्चक्र सतहमै देखिएका प्रत्यक्ष चुनौतीहरू हुन्। त्यसैले रेमिट्यान्स बढेकोमा मात्र खुसी हुन सक्ने स्थिति छैन।
विकासको माग गर्ने सशक्त आवाज, विकासलाई कार्यरूप दिने मस्तिष्क, विकासको प्रतिफल उपभोग गर्ने सक्रिय उमेरको जनसंख्याको अनुपस्थितिमा मुलुकको वर्तमान विकास र भविष्यको बाटो दुवै अन्धकारको भूमरीमा छन्। यस प्रवृत्तिलाई नउल्ट्याई मुलुकको विकासको गफ गर्नु निरर्थक साबित हुने स्पष्ट भई सकेको छ। अतः रेमिट्यान्सले मात्र देशलाई सधैं धान्न सकिँदैन भन्ने हेक्का हामीले राख्नु पर्छ। अन्त्यमा, सामाजिक क्षेत्रमा समेत क्रियाशील युवालाई प्रोत्साहित गरी उनीहरूको क्षमतालाई अभिवृद्धि गर्नु पर्छ। विभेद रहित समाजको निर्माण गरी युवाहरूको सबै क्षेत्रमा सम्मानजनक सहभागिता, सामाजिक सुरक्षा, राज्यद्वारा रोजगार सिर्जना, स्वरोजगारका लागि आवश्यक सहयोग, संस्कृति र पर्यटन प्रवद्र्धनमा अत्यन्तै जोड दिनु पर्छ।
(शाही नेपाल सरकार राष्ट्रिय युवा परिषद्का कार्यकारी बोर्ड सदस्य हुनु हुन्छ।)