१. पृष्ठभूमि
शिक्षा समाजको मेरुदण्ड हो भन्ने कुरा केवल शब्दमा होईन, वास्तविक जीवनमा पनि स्पष्ट देखिन्छ। प्रत्येक राष्ट्रको प्रगतिका लागि ज्ञान, सीप, चेतना र मूल्यको उत्पादन अत्यावश्यक हुन्छ, र यी सबैको केन्द्रमा शिक्षकको भूमिका हुन्छ। शिक्षक बिना गुणस्तरीय शिक्षा, नेतृत्व र सामाजिक चेतना सम्भव छैन। नेपालमा शिक्षक उत्पादन गर्ने र शिक्षा प्रणालीलाई बलियो बनाउने प्रमुख आधार भनेको शिक्षाशास्त्र संकाय हो।
यसलाई केवल विद्यालयका शिक्षक उत्पादन गर्ने माध्यमका रुपमा बुझ्नु यसको वास्तविक मूल्यको अर्धांश मात्र देखाउनु हो। यस संकायले शिक्षक मात्र होईन, शिक्षा नीति निर्माताहरु, अनुसन्धानकर्ता, शिक्षा प्रशासनका दक्ष प्रबन्धक, शैक्षिक मनोविज्ञान विशेषज्ञ, डिजिटल शिक्षणका नवप्रवर्तनकर्ता र समाज परिवर्तनका अभियन्ता तयार गर्छ।
२. विषय प्रवेश
नेपालको शैक्षिक यात्रा धेरै पुरानो नभए पनि यसको प्रभाव विशाल छ। त्रिभुवन विश्वविद्यालयको स्थापना सँगै शिक्षाशास्त्र संकायको औपचारिक यात्रा सुरु भयो। सुरुमा यसले केवल प्राथमिक र माध्यमिक विद्यालयका शिक्षक तयार गर्ने उद्धेश्य राख्यो। तर समयसँगै यसको दायरा फैलियो। पाठ्यक्रम विकास, शैक्षिक नीति निर्माण, शिक्षक तालिम, मूल्यांकन प्रणाली, शिक्षा प्रशासन र अनुसन्धानमा संकायले ठूलो भूमिका खेल्न थाल्यो। यसले नेपालभरिका विद्यालय र विश्वविद्यालयमा गुणस्तरीय शिक्षक पुर्याउने काम गरेको छ, जसले देशभर शिक्षा प्रणालीलाई बलियो बनाउने कार्यमा योगदान पुर्याएको छ।
आजको नेपाल नयाँ सामाजिक र आर्थिक रुपान्तरणको चरणमा छ। संघीय संरचना कार्यान्वयन पछि शिक्षा क्षेत्रले थप जिम्मेवारी पाएको छ। गुणस्तरीय शिक्षा, शिक्षकको दक्षता, डिजिटल शिक्षण, समावेशी शिक्षा र नवप्रवर्तनमा संलग्न जनशक्ति आवश्यक छ। यसै परिस्थितिमा शिक्षाशास्त्र संकायको आवश्यकता झन् स्पष्ट देखिन्छ। विद्यालय देखि विश्वविद्यालयसम्म गुणस्तरीय शिक्षा सुनिश्चित गर्न दक्ष शिक्षक, अनुसन्धानकर्ता र शैक्षिक नेताको आवश्यकता छ। शिक्षाशास्त्र संकायले यी सबै आवश्यकताको पूर्ति गर्न सक्छ।
३. अवसरका क्षेत्रहरु
शिक्षाशास्त्र संकायले विद्यार्थीलाई धेरै आयाममा अवसर प्रदान गर्छ। विद्यालय देखि विश्वविद्यालयसम्म अध्यापन गर्ने अवसर, शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रमा नीति निर्माणमा सहभागिता, अनुसन्धान संस्थानमा काम गर्ने मौका, एनजिओ/आईएनजिओमा शिक्षा परियोजना सञ्चालन, र विदेशमा अध्यापन वा सल्लाहकारको रुपमा काम गर्ने अवसर यस संकायका विद्यार्थीका लागि खुला छन्। नेपालमै मात्र होईन, अन्तर्राष्ट्रिय स्तरमा पनि शिक्षाशास्त्र पढेकाहरुको माग उच्च छ। दक्षिण कोरिया, जापान, अमेरिका, अष्ट्रेलिया र युरोपका मुलुकहरुले दक्ष शिक्षक र शैक्षिक विशेषज्ञको आवश्यकता महसुस गर्दै आएका छन्। यसले देखाउँछ कि शिक्षाशास्त्र संकाय न केवल राष्ट्रिय स्तरमा, तर विश्वव्यापी रोजगारी र अवसरको ढोका पनि हो।
शिक्षाशास्त्र संकाय पढेकाहरुको रोजगारी सुरक्षित हुन्छ। शिक्षक सेवा आयोग मार्फत सरकारी विद्यालयमा नियुक्ति पाउने अवसर, निजी विद्यालय र कलेजमा सहज रोजगारी, विश्वविद्यालयमा सह–प्राध्यापक वा प्राध्यापकको अवसर यसका केही उदाहरण हुन्। अन्य व्यावसायिक संकायकै तुलना गर्दा शिक्षाशास्त्र संकायका स्नातकहरुले छिटो रोजगारी पाउने सम्भावना बढी हुन्छ। यसै गरी, शिक्षक बन्ने व्यक्तिलाई समाजले सदैव सम्मान गर्छ। गुरुको रुपमा आदर, आत्मसन्तुष्टि र नैतिक मूल्यको सम्मान पाउने अवसर यस संकायले विद्यार्थीलाई प्रदान गर्छ।
शिक्षाशास्त्र संकायले अनुसन्धान र नवप्रवर्तनमा पनि अवसर दिन्छ। विद्यार्थीहरुले नयाँ शिक्षण विधि, सिकाई परिणामको परीक्षण, पाठ्यक्रम पुनःसंरचना, विद्यार्थी व्यवहार अध्ययन, शैक्षिक मनोविज्ञानको प्रयोग, डिजिटल शिक्षण र अनलाईन सामग्री विकासमा अनुसन्धान गर्न सक्छन्। यसले भविष्यमा शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन सहयोग पुर्याउँछ।
अन्तर्राष्ट्रिय दृष्टान्तले पनि शिक्षाशास्त्रको महत्व प्रष्ट देखाउँछ। फिनल्याण्डमा शिक्षक बन्न अत्यन्त कडा प्रक्रिया हुन्छ, तर एक पटक शिक्षक भएपछि समाजले उच्च सम्मान र सुविधा सहित जीवनयापन गर्ने अवसर दिन्छ। दक्षिण कोरियाले आफ्नो राष्ट्र पुनर्निर्माण शिक्षामार्फत मात्र गरेको छ। यी देशहरुले देखाउँछन्–शिक्षाशास्त्र संकायको महत्व राष्ट्र निर्माणसँग प्रत्यक्ष जोडिएको हुन्छ।
४. निष्कर्ष
शिक्षाशास्त्र संकायले विद्यार्थीलाई व्यक्तिगत लाभ मात्र दिन्छन् भन्ने होईनस समाज र राष्ट्रको दिगो विकासमा प्रत्यक्ष भूमिका दिन्छ। शिक्षकले तयार पारेको पुस्ताले भोलिको राष्ट्र निर्माण गर्छ। यदि शिक्षक दक्ष छैनन् भने शिक्षा प्रणाली कमजोर रहन्छ, गुणस्तरीय शिक्षा सम्भव हुँदैन र राष्ट्रको प्रगति अवरुद्ध हुन्छ। त्यसैले शिक्षाशास्त्र संकायको अध्ययन केवल व्यक्तिगत भविष्य सुरक्षित गर्ने माध्यम मात्र होईन, राष्ट्र निर्माणको ऐतिहासिक जिम्मेवारी पनि हो।
यस संकायसँग केही चुनौतीहरू छन्। पाठ्यक्रम अझै धेरै सैद्धान्तिक छ, व्यावहारिक सीपको अभाव छ। ग्रामीण क्षेत्रमा शिक्षक वितरण असमान छ। डिजिटल शिक्षाको प्रयोग अझ पर्याप्त छैन। विद्यार्थीहरु अन्य व्यावसायिक क्षेत्र तर्फ आकर्षित भएका छन्। यी चुनौतीहरुलाई सम्बोधन गर्न आवश्यक छ–पाठ्यक्रमलाई व्यावहारिक र अनुसन्धानमूलक बनाउने, डिजिटल शिक्षामा दक्षता विकास गर्ने, ग्रामीण क्षेत्रमा आकर्षक प्रोत्साहन नीति लागू गर्ने र विद्यालय तह देखि नै शिक्षाशास्त्रको महत्व बुझाउने अभियान सञ्चालन गर्ने।
शिक्षाशास्त्र संकायको महत्व भविष्यमा अझ बढ्नेछ। डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय सहयोग, नवप्रवर्तन, अनुसन्धान, समावेशी शिक्षा र शिक्षक प्रशिक्षणमा यसको भूमिका अभूतपूर्व हुनेछ। यसले केवल नेपालमै होईन, विश्वस्तरमै शिक्षाशास्त्र संकायलाई आकर्षक बनाउनेछ।
शिक्षाशास्त्र संकायको अध्ययन गर्नु केवल करिअरको विकल्प मात्र होईन, गौरवपूर्ण जीवन यात्राको सुरुवात हो। यसले व्यक्तिगत भविष्य सुरक्षित गर्छ, रोजगार, सम्मान, आत्मसन्तुष्टि र समाजमा योगदान दिन्छ। आजका युवाहरुलाई केवल धन कमाउने संकाय होईन, राष्ट्र निर्माणमा प्रत्यक्ष योगदान दिने संकाय चाहिएको छ भने त्यसको उत्तम विकल्प शिक्षाशास्त्र संकाय हो।
लेखक - डा. देवेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलालीका उपप्राध्यपक हुनुहुन्छ।