मेल्लेख।
अछामको मेल्लेख गाउँपालिकामा न्यायिक समितिका पदाधिकारी तथा सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न भएको छ। 'समानता, न्याय र मर्यादित जीवन, समविकास नेपालको अभियान' भन्ने मूल नाराका साथ मेल्लेखमा सो कार्यक्रम आयोजना गरिएको हो।
मेल्लेख गाउँपालिकाको समन्वय र समविकास नेपाल महिला सुरक्षा तथा हेरचाह परियोजनाको आयोजनामा उक्त बैठक सञ्चालन भएको थियो। मेल्लेख गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नृप बहादुर खड्काको अध्यक्षतामा भएको बैठकमा स्थानीय स्तरमा न्याय सम्पादनलाई अझ बढी प्रभावकारी, पारदर्शी र सरोकारवाला निकायहरु बीच कसरी बलियो समन्वय कायम गर्ने भन्ने विषयमा सरोकारवालाहरु बीच विस्तृत छलफल भएको थियो।
यस्तै बैठकमा महिला सुरक्षा, कानुनी प्रावधान, न्याय सम्पादनका क्रममा आई पर्ने व्यावहारिक चुनौती र तिनको समाधानमा स्थानीय सरकार एवम सरोकारवालाको भूमिका बारे प्रकाश पारिएको थियो। बैठकका सहभागीहरुले गाउँपालिकामा न्यायिक प्रक्रियालाई थप मजबुत बनाउन, पीडितको न्यायमा सहज पहुँच सुनिश्चित गर्न र पालिका भित्रका सामाजिक विकृति न्यूनीकरणका लागि यस्ता समन्वयकारी बैठकहरु निरन्तर हुनु पर्नेमा जोड दिएका थिए।
बैठकमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक खड्काले न्यायिक समितिले आफ्नै ढङ्गले कामहरु अगाडि बढाई रहेको बताउनु भयो। उहाँले कतिपय अवस्थामा नागरिकहरुमा कानुनी चेतनाको कमी, कानुनी प्रक्रिया र जटिलताहरुका कारण सोचे जस्तो ढङ्गले काम गर्न कठीन भई रहेको पनि बताउनु भयो। त्यस्तै उहाँले भन्नू भयो-'शान्ति सुरक्षा र कानुनी कार्यान्वयनका लागि नेपाल प्रहरी, र समाजमा सचेतना फैलाउन महिला सञ्जाल तथा सञ्चारकर्मी साथीहरुको सहयोग अपरिहार्य रहेकाले सरोकारवालाहरु बीचको कार्यगत एकतालाई अझ बलियो बनाउनेछ भन्ने मैले विश्वास लिएको छु।'
उहाँले समाजमा व्याप्त महिला हिंसा, छुवाछुत, र अन्य सामाजिक विसंगतिहरुलाई हटाएर एउटा सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न सबै प्रतिबद्ध भएर लाग्नु पर्ने बताउनु भयो। बैठकमा वडा नम्बर १ देखि ८ सम्मका वडा अध्यक्षहरु, अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष समिता महर, सञ्चारकर्मीहरु गोविन्द खड्का र शिवराज खत्री लगायतको उपस्थिति रहेको थियो।
बैठकको सहजीकरण समविकास नेपालका फिल्ड संयोजक सुरेश स्वार र मनोसामाजिक विमर्शकर्ता पशुपती साउँदले गर्नु भएको थियो।
