साँफेबगर।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थानमा पोषण सुरक्षा सुधारका लागि जलबायु उत्थानशिल कृषि प्रणालीमा महिला सहभागिता WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष राम बहादुर बोहराको अध्यक्षतामा भएको सम्वाद कार्यक्रममा स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, महिला तथा बालबालिकाको सशक्तिकरण, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन तथा समुदायमा देखिएका विभिन्न सामाजिक समस्याका विषयमा छलफल गरिएको थियो।
पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालद्धारा संचालित WE-CAN परियोजनाको सहयोगमा आयोजित कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम सेविका, कृषक समूहका प्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी, महिला समूह, युवा क्लब तथा अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा समुदायका विभिन्न वर्गबाट आएका सुझाव तथा आवश्यकताका आधारमा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरुको प्राथमिकता निर्धारण गरिएको छ। सम्वाद कार्यक्रममा सहभागिले वडा कार्यालय र स्वास्थ्य चौकीमा स्तनपान कक्ष निर्माण गर्ने, नियमित मासिक अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तहमा व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, किशोरी तथा महिलाहरुका लागि सचेतनामूलक गतिविधि सञ्चालन गर्ने, सीप विकास तथा आयआर्जनसँग सम्बन्धित कार्यक्रम अघि बढाउनु पर्ने बताएका थिए।
त्यस्तै, कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक संस्था तथा गैर सरकारी संस्थाहरु बीच जिम्मेवारी बाँडफाँट गरिएको छ। वडा कार्यालयले कार्यक्रमको समन्वय तथा सहजीकरण गर्ने, विद्यालयहरुले व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य संस्थाले स्वास्थ्य तथा पोषण सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउने तथा सामाजिक संस्थाहरुले सहजीकरण, पैरवी र जनचेतनामूलक गतिविधिमा सहयोग गर्ने निर्णय गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष राम बहादुर बोहराले समुदायका वास्तविक आवश्यकता पहिचान गरी योजनाबद्ध रुपमा काम गर्न यस्ता संवाद कार्यक्रम प्रभावकारी हुने बताउनु भयो। उहाँले वडा विकासका लागि स्थानीय नागरिकको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै योजना निर्माण देखि कार्यान्वयन र अनुगमनसम्म समुदायको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नु भयो। विकासका कार्यक्रमहरु सफल बनाउन समुदायको आवाजलाई प्राथमिकतामा राख्नु पर्छ।
यस्ता संवाद कार्यक्रमले स्थानीय आवश्यकता पहिचान गर्न, समस्या समाधानका उपाय खोज्न र सबै सरोकारवाला बीच सहकार्यको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्छन्, अध्यक्ष बोहराले भन्नु भयो, विशेष गरी महिला, बालबालिका र सीमान्तकृत वर्गको सहभागिता सुनिश्चित गर्दै समावेशी विकासलाई अघि बढाउन वडा कार्यालय प्रतिबद्ध रहेको छ। उहाँले WE-CAN परियोजना मार्फत सञ्चालन हुने गतिविधिहरुले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, पोषण, लैंगिक समानता तथा आर्थिक सशक्तिकरणका क्षेत्रमा प्राप्त उपलब्धिलाई दीगो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो।
कार्यक्रममा सहभागीहरुले समुदायमा अझै पनि बाल विवाह, लैंगिक विभेद, बेरोजगारी तथा स्वास्थ्य सम्बन्धी विभिन्न चुनौतीहरु विद्यमान रहेकाले यस्ता विषयमा थप सचेतना र व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव दिएका थिए। सहभागीहरुले युवाहरुलाई सीपमूलक तालिम, महिलाहरूलाई आयआर्जनका अवसर तथा बालबालिकाको संरक्षण र शिक्षामा विशेष ध्यान दिनु पर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रमबाट प्राप्त सुझाव तथा निर्णयहरुलाई आगामी वडा योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गरी कार्यान्वयन गरिने जनाईएको छ। कार्यक्रमको अन्त्यमा सहभागीहरुले समुदायको आवश्यकता र प्राथमिकतामा आधारित विकासका लागि यस्ता संवाद कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए।
सम्वाद कार्यक्रममा वडा सदस्य रंग बिष्ट, बज्जीर ओड, पारु ओड, हंश बाहिनी माविका शिक्षिका पवित्रा खड्का, देविस्थान स्वास्थ्य चौकीका प्रिति आले, समविकास नेपालका कार्यकारी निर्देशक पशुपति कुँवर, समविकास नेपालका बम भट्ट, पीसविनका सुरेन्द्र सेराला, जगत रावल, समविकास नेपालका पुन्ना कुँवर लगायतको उपस्थिति रहेको थियो। सम्वाद कार्यक्रमको सहजीकरण पत्रकार एकेन्द्र महताले गर्नु भएको थियो।




