अछाम ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा वाक नेपाल र वर्ड भिजन ईन्टरनेशनल नेपालको सहकार्यमा “एक बालबालिका, एक बिरुवा” राष्ट्रिय अभियान अछाममा शुभारम्भ गरिएको छ।
शुक्रबार “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारा सहित सप्ताहव्यापी रुपमा सञ्चालन हुने अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहका करिब पाँच हजार पाँच सय बालबालिकालाई एक–एक बिरुवा वितरण गरिने भएको छ।
अछामको मेल्लेख गाउँपालिकाका १ देखि ८ वडा साँफेबगरको वडा नम्बर ४, कमलबजार नगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ र पञ्चदेवल विनायकका वडा नम्बर १, २, ३, ४, ५ र ६ का बालबालिकालाई जुनार, आप, अम्बा, सुन्तला र कागतीका बिरुवा वितरण गरिने जनाईएको छ। विश्व वातावरण सप्ताहको अवसर पारेर सञ्चालन गरिएको अभियानले बालबालिका मार्फत वृक्षारोपणलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
प्रत्येक बालबालिकाले आफूले प्राप्त गरेको बिरुवा आफ्नै घर, विद्यालय वा समुदायमा रोप्ने र त्यसको संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्। वृक्षारोपण गर्दा हरियाली विस्तार हुनुका साथै वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ।
अभियानले बालबालिकामा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै प्रकृति प्रतिको जिम्मेवारी बोध गराउने अपेक्षा गरिएको छ। विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले जैविक विविधता संरक्षण र दिगो विकास प्रवर्द्धनमा समेत योगदान पुर्याउने आयोजकको भनाई छ।
वाक नेपालले अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय तथा अन्य सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरी रोपिएका बिरुवाहरुको दीर्घकालीन संरक्षण, नियमित हेरचाह तथा व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा पनि जोड दिईएको छ।
विश्व वातावरण दिवसको अवसरमा सुरु गरिएको “एक बालबालिका, एक बिरुवा” अभियानलाई अछाममा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि उदाहरणीय पहलका रुपमा पनि हेरिएको छ।