हंशबहादुर विष्ट, नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियनको जिल्ला सचिव, तीन पटक केन्द्रीय सदस्य भइसक्नु भएको छ । उहाँ विद्युतको कर्मचारीबाट निबृत्त भएपछि एमालेको अछाम जिल्ला कमिटीको सल्लाहकार, प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय सम्पर्क समन्वय कमिटीको सल्लाहकार हुनुहुन्छ ।
उहाँ २०४३ सालमा नेपाल क्याम्पस पढ्दा तत्कालिन प्राध्यापक सुवासचन्द्र नेम्वाङबाट प्रभावित भएर अनेरास्ववियूमा लाग्नु भएको हो । नेता विष्टसंग समसायिक राजनीति र एमालेको भविश्यका बारेका गरिएको कुराकानी गरिएको छ । प्रस्तुत छ अछामका विष्टसंग गरिएको कुराकानीको सारसंक्षेप ।
तपाई अमेरिका जस्तो सम्पन्न मुलुकमा आवतजावत गरिरहनुहुन्छ किन विदेश बस्नेहरु नेपालका दलसंग रुष्ट छन् ?
नेपालमा प्रजातन्त्र, गणतन्त्र ल्याउन दल र दलका नेताहरुले कस्तो योगदान गरे । अहिलेको आलोचना गर्न पाउने अवस्था कसरी आयो भन्ने कुरा नयाँ पुस्तालाई थाहा छैन । अर्कोतिर विदेशमा बस्ने नेपालीका १५० सम्म विभिन्न खालका व्यापारिक स्टोर छन् । अर्थात उनीहरुसंग पर्याप्त पैसा छ तर नेपालमा लगानी गर्न सक्ने अवस्था छैन त्यसैले पनि धेरै नेपालीहरु विदेश बसेर नेपालको व्यवस्था, दल र नेता विरुद्ध खनिने गर्छन । अर्कोतिर धेरैले रवि लामिछाने जस्तै गरेर नेपालमा नेता बन्छौ भनेर पनि सामाजिक सञ्जालमा उधुम मचाएका छन् ।
अहिलेको राजावादी आन्दोलनलाई कसरी लिनु भएको छ ?
हेर्नुस मेरो परिवार नै पञ्चायत अर्थात राजावादीतिर थियो । पञ्चायतको आडमा उहाँहरुका क्रियाक्लाप मलाई ठिक लागेन र कम्यूनिष्ट भए । ल क्याम्पसमा पढ्दा सुवाव नेम्वाङले पनि कम्यूनिष्ट हुन प्रेरित गर्नुभयो । उहाँ मेरो गुरु हो ।
पञ्चायत र राजतन्त्रमा बोल्न पाइदैन । म कम्यूनिष्ट भएकै कारण घर, मामाघर र ससुराली पक्षबाट १६ वर्षसम्म बहिस्कृत भए ।
के अहिलेको व्यवस्थामा फरक विचार राखेका कारण कोही बहिस्कृत छ र ?
अहिले काम गर्दा केही गल्ती भएको होला तर शासकको विरोध गर्न पाइन्छ । चुनावमा हराएर राम्रो मान्छे र दल ल्याउन पाइन्छ । नेपालीको विर्सने वानी छ हिजो राजाको नेतृत्वमा चलेको पञ्चायत र पछिल्लो पटक ज्ञानेन्द्रले गरेका हर्कत पनि हामी विर्सेका छौ । त्यसैले अलिहेको काम गर्ने क्रममा भएका केही कमजोरीलाई लिएर राजा चाहियो भनिन्छ । त्यसैमा दक्षिणी छिमकी जहिले पनि नेपालमा अस्थिरता मच्चाएर फाइदा लिन चाहन्छ । यस्तै कारणले राजा चाहियो भन्ने मुठ्ठीभर मानिस सडकमा छन् । नेपालमा राजतन्त्र केही गरेर फर्किन सक्दैन सबै ढुक्क भए हुन्छ ।
भनेपछि गणतन्त्र बारे राम्रो बहस हुन नसक्दा समस्या भयो ?
हो नि हामीले गणतन्त्र र राजत्न्त्रका फरकै नयाँ पुस्ता र जनतालाई सुनाउन, बुझाउन सकेनौ । हिजो राजतन्त्रकालमा सुन तस्करी, हत्या खुलमखुला राज परिवार र अझ खासगरेर ज्ञानेन्द्रको निर्देशनमा गरिनथ्यो । जनता बोल्न पाउदैन थिए । पञ्चायतका बारेमा अझ ज्ञानेन्द्रका बारेमा लेख्यो भनेर हाम्रै पश्चिमका पदम ठकुराठीलाई गोली हानेर मार्न खोजियो तर उनी बाँचे । दानबहादुर शाही पछि गृहमन्त्री पनि भए । तर उनी निक्कै हक्की थिए ज्ञानेन्द्र संरक्षित सुर्खेतका एक पञ्चे माननीयको सुन समात्दा उनको जागिर नै झण्डै गइसकेको थियो । खोज्दै जानु न राजतन्त्रका कर्तुत कति छन् कति । गणतन्त्रमा त दल, नेता सरकार बदल्न पाइन्छ ।
कति छोरीचेलीको दरवारकै संरक्षणमा बलत्कार भयो । पोखराको नमिता, सुनिता जस्ता कति काण्ड भए पञ्चायतमा । पारसले नै कलाकार प्रविण गुरुङ मारे । जनताले राजकुमार बनाउन हुन्न भनेर आन्दोलन गर्दा दशैको विदामा पारसलाई राजकुमार बनाइयो । हेर्नुस राजसंस्था हत्या नै हत्यामा रमाएको विगत छ । दरबार हत्याकाण्ड कस्ले गर्यो, भण्डारखाल र कोत पर्व कसले गर्यो । दरवार भनेको मारकाट मात्रै गर्ने अपराधको थलो थियो नेपालमा । हामीलाई किन त्यस्तो राजतन्त्र पाइयो ।
नेपालका नेता विदेशका तुलनामा निक्कै राम्रा छैन । यी नेताको जस्तो दुःख कसले गर्यो । ज्यान हत्केलामा राखेर पञ्चायत विरुद्ध लडे । ज्ञानेन्द्रको माघ १९ काण्डपछि कस्तो हालत थ्यो । हेर्नुस त विदेशतिर विध्वंशकारी नेता कति छन् । यहाँका नेता देशभक्त छन् । हामीले नेपालमा भएको विकासको चर्चा गर्न सकेनौ । गणतन्त्रपछि राम्रा कामको चर्चा गराउन युवा र विद्यार्थीलाई खटाउनुपर्छ । यी काममा सबै लोकतन्त्र पक्षधरहरु खटिनुपर्छ ।
के विकास भयो र त्यस्तो नेपालमा ?
पञ्चायतभर नेपालमा आन्तरिक सडक यातायात कस्तो थियो , भारत हुँदै काठमाडौ आउनु पर्दथ्यो । अहिले हेर्नुस त सडक यातायात नपुगेको कुन पालिका छ । पञ्चायतमा शिक्षा, स्वास्थ्य कस्तो थियो, अहिले कस्तो छ । व्यापार, व्यवसाय राजदरवारको छत्रछाया भएकाहरुले मात्र गर्न पाउथे अहिले होटल लगायतको व्यापार व्यवसाय कस्तो राम्रो छ । सुन्नेले अच्चम मान्नु होला कतियप अमेरिकी गाउँ भन्दा त नेपालको विकास राम्रो छ । के अहिले पञ्चायतमा झै जनता गरिबीमा छन् । हो केही अझै गरिब छन् । तर धेरै नेपालीको जीवनस्तर सुधार प्रजातन्त्रपछि भएको हो ।
बहुदलले गरेको भन्दै बदनाम गरियो जनकपुर चुरोट, बाँसबारी छाला जुत्ता लगायतका विदेशीले बनाइ दिएका उद्योग घन्दा पनि राजतन्त्रकै कारण बन्द भएका हुन ।
अहिलेको सरकारको कामलाई कसरी हेर्नु भएको छ ?
सरकारले काम गरेको छ प्रचार नगरेको हो । केपी ओली जस्तो देशभक्त र भारत जस्तो देशलाई थर्काउने महान नेता तथा प्रधानमन्त्री हामीले फेरि अर्को पाउदैनौ । केपीलाई काम नगर्न दिनलाई अनेक खेल भइरहेका छन् तर सफल हुँदैनन् ।


युवालाई नेतृत्व नदिनाले पनि समस्या आएको हो भन्छन् नि ?
विस्तारै नयाँ पुस्तालाई पार्टी र सरकारमा ल्याउन सबै गणतन्त्रबादी दल र पुराना पुस्ताका नेताले भूमिका खेल्नुपर्छ । अर्कोतिर सरकारको स्थायित्वमा पनि ध्यान दिन सक्नु पर्छ । लोकतन्त्र वा गणतन्त्रबादीबीच एकता हुनुपर्छ । सरकार परिवर्तन हुने वित्तिकै राजदूत, विभिन्न नियुक्ती पाएकालाई परिवर्तन गर्ने खेल बन्द गर्नुपर्छ ।
तपाई पुरानो कम्यूनिष्ट अब नेपालमा कम्यूनिष्ट एकता हुन सम्भव छ ?
कम्यूनिष्ट एकता हुन असम्भव त छैन । सबैले म मात्र कम्यूनिष्ट हुँ भन्ने धारणा त्याग्नुपर्छ । व्यक्तिगत स्वार्थबाट चल्नु हुँदैन । प्रचण्ड, माधव विदेशको इसारामा चल्दा नेकपाको एकता टुट्यो त्यसमा ध्यान दिएर कम्यूनिष्टबीच एकता गराउन ठुला नेताले सफलता पाउनुपर्छ । नत्र कम्यूनिष्टहरु आफैआफै लडेर सकिन्छन् , त्यसतर्फ ध्यान दिन सक्नुपर्छ ।
राष्ट्रवादी नेता भीम रावललाई पार्टीबाट निकालियो अब एमाले सुदूरपश्चिममा सकिन्छ भनिन्छ नि ? अहिले रावल एमाले नहुँदा पनि सुदूरपश्चिममा धेरै विवाद छन् ।
एमालेबाट निकालिनुमा रावलकै गल्ती छ । आफू भाइरल हुनका लागि अनेक बोल्ने उनी । रावल राष्ट्रवादी होइनन्, महाकाली सन्धी गरौ भनेर माधव नेपाललाई भन्ने नै उनी हुन । राष्ट्रवादी भए महाकालीमा गल्ती भयो भन्नु पर्देन । राजेन्द्र महत्तो र सरिता गिरी बरु राष्ट्रवादी होलान रावल होइनन् ।
०७४ पछि मैले धेरै पटक यस्तो नगरौ भनेर रावललाई भने मानेनन् । म भएको भए रावललाई ०७९ अघि नै कारवाही गरिसक्थे । त्यतिबेला कारवाही गरेको भए एमाले ०७९ मा सुदूरपश्चिमका धेरै ठाउँ जित्ने थियो । यसैले रावलमाथिको कारवाहीले सुदूरपश्चिममा केही प्रभाव पर्देन बरु अझ बलियो हुन्छ । अहिले सुदूरपश्चिमका एमाले नेताहरुबीच देखिएको विवाद ०८४ अघि नै मिल्छ ।
०७४ मा रावलकै कारण त्यति ठूलो जित हासिल भएको होइन र ?
रावल अराइटो मान्छे हो तपाईहरुले चिन्नु भएको छैन । भीम कडायत, जगत बोगटी, गोकुल खनाल जस्ता कम्यूनिष्ट बनाउने धेरैले उनकै पालामा एमाले छोड्नु पर्यो, धेरैले उनको कारवाहीको डण्डा खेप्नु पर्यो । उनको आचरण नै कम्यूनिष्ट होइन, शैली पनि निक्कै निरंकुश छ । पढे, लेखेर मात्र के भयो आचरण त कम्यूनिष्ट हुनु पर्यो नि । उनकै आचरणले सुदूरपश्चिममा एमाले विगतमा कमजोर बनेको हो । ०७४ मा माओवादीका कारण सुदूरपश्चिममा ठूलो जित हासिल भएको हो । उनी इन्चार्ज भएर, राम्रो व्यवस्थापन भएर होइन ।
उनको क्षमता भएको भए त नयाँ पार्टी बनाइ सक्थे नि । अछाममै कसैले वास्ता नगरेपछि पार्टी बनाउनबाट हच्किएका छन् । बरु उनका नजिकका मानिसहरु रावललाई एमालेमा स्थान दिन पर्छ भनेर अध्यक्ष केपी ओलीका पुगेका छन् । रावलले नै उनीहरुलाई परिचालन गरेका हुन । तर ओलीले माधव नेपाल र भीम रावलाई एमालेमा स्वीकार गर्नुहुन्न ।
तपाईले एमालेबाट के अपेक्षा गर्नु भएको छ अब ?
म त ६६ वर्षको भइसके । तर पार्टी राम्रो बन्नु पर्छ, देश राम्रो बन्नुपर्छ । गणतन्त्रबादीहरुले आपसमा चुनावी प्रतिस्पर्धा गरे पनि यो व्यवस्था बचाउन एक हुनुपर्छ भन्ने मान्यता मात्र हो ।
मैले त्यस्तो केही पद पाउनुपर्छ भनेर एमालेमा मागेको छैन । तर पार्टीको होस कि राजकिय जिम्मेवारी जे दिए पनि काम गर्न सक्छु ।