साँफेबगर ।
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा गरिएको छ। पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालद्धारा सञ्चालित WE-CAN (1093) परियोजनाको अर्ध बार्षिक स्थानीय परियोजना सल्लाहकार समितिको (L/M- PAC) सयुक्त अनुगमन र समीक्षा शुक्रबार गरिएको हो।
साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट र वडा नम्बर ३ शिद्धेश्वरमा सञ्चालित क्रियाकलापहरुको अनुगमन गरिएको हो। अनुगमनका क्रममा वडा नम्बर १० घुघुरकोटमा निर्माण गरिएको सिचाई पोखरी र सामुहिक अदुवा खेतीको अनुगमन गरिएको हो। यस्तै वडा नम्बर ३ शिद्धेश्वरको त्रिपुरा सामुदायिक कृषक समुह र पोली हाउसमा गरिएको व्यावसायिक टमाटर खेतीको अनुगमन गरिएको हो।
अनुगमन पश्चात महिलाको नेतृत्वमा जलवायु अनुकूल कृषि प्रणाली विकास तथा पोषण सुरक्षा अभिवृद्धिका लागि सञ्चालित WE–can परियोजनाको पालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ। BMZ जर्मन र WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल, समविकास र स्थानीय साझेदार संस्थाको सहकार्यमा सञ्चालित परियोजनाको अनुगमन पछि बैठक सम्पन्न भएको हो।
बैठकमा परियोजनाले अर्ध बार्षिकमा सम्पन्न गरेका गतिविधि, उपलब्धि, चुनौती तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो। परियोजनाले साँफेबगर नगरपालिकाका विभिन्न वडामा कृषक समूह गठन तथा नियमित बैठक, दिगो एकीकृत कृषि प्रणाली सम्बन्धी तालिम, बाली तथा पोषण सम्बन्धी अभिमुखीकरण, प्रदर्शन प्लट, करेसाबारी तथा कृषि र प्राकृतिक स्रोत व्यवस्थापनसँग पोषण जोड्ने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। प्रस्तुत गरिएको प्रगति विवरण अनुसार समूह गठन तथा नियमित बैठकका लागि वार्षिक लक्ष्य २१२ रहेकामा ११२ वटा बैठक सम्पन्न भएका छन्।
स्थानीय स्रोत व्यक्ति मार्फत प्रत्येक किसान समूहलाई १६ हप्ताको दिगो एकीकृत कृषि प्रणाली कक्षा सञ्चालन गर्ने लक्ष्य २१२ रहेकामा १६८ वटा सम्पन्न भएका छन्। बाली पात्रो सम्बन्धी अभिमुखीकरण ५६ वटा गर्ने लक्ष्य रहेकामा सबै ५६ वटा सम्पन्न भएका छन्। त्यस्तै, स्थानीय स्रोत व्यक्तिलाई प्रदर्शन प्लट सम्बन्धी तालिम तथा सहयोग गर्ने लक्ष्य एक रहेकामा पूरा भएको छ।
परियोजनाका कृषि प्राबिधिक र स्थानीय स्रोत ब्यक्ति मार्फत कृषक समूहहरुलाई करेसाबारी सम्बन्धी तालिम तथा सहयोग गर्ने २८ वटा लक्ष्य नै पूरा भएको परियोजनाले जनाएको छ। कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापनसँग पोषण जोड्ने लानप्लस सत्र दुईवटा सञ्चालन गर्ने लक्ष्य पनि पूरा भएको छ। परियोजना अन्तर्गत साँफेबगरका वडा नम्बर ३, ९, १०, ११, १२ र १४ मा गरी १६ वटा कृषक समूह आबद्ध रहेको विवरण बैठकमा प्रस्तुत गरिएको थियो। ती समूहमा अदुवा र बेसार उत्पादन तथा प्रवद्र्धनमा समेत जोड दिईएको छ।
प्रस्तुत विवरण अनुसार कृषक तथा समूहलाई १६ हजार के.जि. अदुवा र ८ हजार ५ सय के.जि. बेसार उत्पादन÷वितरणका लागि बीउ सहयोग गरिएको छ। बैठकमा परियोजना कार्यान्वयनका क्रममा देखिएका चुनौती बारे पनि छलफल गरिएको थियो। स्थानीय स्रोत व्यक्ति सहित केही सहभागीको बसाइँसराईका कारण समूह बैठक सञ्चालन तथा आगामी गतिविधिको योजना बनाउन कठिनाई भई रहेको बताईएको छ।
बैठकमा परियोजनाका आगामी प्राथमिकताका विषयमा समेत छलफल भएको छ। बिग्रिएको कोल्ड स्टोरको मर्मत खर्च व्यवस्थापन, स्थानीय सरकारसँग जलस्रोत व्यवस्थापन तथा बाली विविधीकरण योजना तयार गर्न सहकार्य, मौसम सम्बन्धी सूचना किसानसम्म पुर्याउने व्यवस्था र सामुदायिक बीउ बैंक स्थापना तथा व्यवस्थापनका विषय उठाईएको थियो।
त्यसै गरी, स्थानीय स्तरमा जलवायु अनुकूलन सम्बन्धी रणनीतिक योजना निर्माणलाई अघि बढाउने विषयलाई समेत प्राथमिकतामा राखिएको छ। परियोजनाले कृषि उत्पादन बढाउने मात्र नभई जलवायु परिवर्तनका असर सामना गर्न सक्ने कृषि प्रणाली, महिलाको नेतृत्व र पोषण सुरक्षालाई जोड दिँदै कार्यक्रम सञ्चालन गरि रहेको जनाएको छ।
बैठकले परियोजनाका उपलब्धि र चुनौतीको समीक्षा गर्दै आगामी दिनमा स्थानीय सरकार, कृषक समूह र साझेदार संस्था बीचको समन्वय अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।
साँफेबगर नगरपालिकाका नगर उपप्रमुख एवम परियोजना सल्लाहकार समितिका संयोजक शिव बहादुर कुँवर सिलोजको अध्यक्षतामा बसेको बैठकमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, पीसविन नेपालका अध्यक्ष बिमला थापा, वडा नम्बर १० का वडा अध्यक्ष ललित बोगटी, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, कृषि शाखाका प्रमुख हिरा सार्की, पीसविन नेपालका अध्यक्ष बिमला थापा, सम विकास नेपालका अध्यक्ष दुधकला बिष्ट, साझेदार संस्थाका प्रतिनिधि रमेश जोशी, पीसविन नेपालका कार्यक्रम संयोजक सुरेन्द्र बहादुर सेराला, पुष्पराज जोशी, जगत बहादुर रावल, पुन्ना कुँवर, इन्द्र बहादुर रोकाया, अधिराज कुँवर, सोभाग्य जोशी, वविता कुँवर लगायतको सहभागिता रहेको थियो।









