साँफेबगर ।
के.एन.एच. नेपाल र वाक नेपालको साझेदारीमा साँफेबगर नगरपालिकाका विभिन्न वडामा सञ्चालित महिला सशक्तिकरण तथा बाल अधिकार संरक्षण परियोजनाको सन् २०२६ को प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ। आइतबार साँफेबगरमा आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा परियोजना अन्तर्गत भएका गतिविधि, उपलब्धि तथा आगामी योजना बारे जानकारी गराईएको हो।
परियोजना साँफेबगर नगरपालिकाका वडा नम्बर २ जाल्पादेवी, ३ सिद्धेश्वर, ४ मस्टामाण्डौ, ५ नवाठाना, ७ रिडिकोट, १० घुघुरकोट र १३ बाब्लामा सञ्चालन हुँदै आएको छ। बैठकको अध्यक्षता साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव कुँवरले गर्नु भएको थियो। कार्यक्रममा परियोजना लागू भएका वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि, नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधि, वाक नेपालका अध्यक्ष मीन बहादुर कुँवर, संस्थाका पदाधिकारी, कार्यक्रम व्यवस्थापक तथा पत्रकारहरुको सहभागिता रहेको थियो।
परियोजनाले महिलाको सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय सहभागिता बढाउँदै उनीहरुको सामाजिक तथा राजनीतिक अवस्था सुधार गर्ने, घर तथा समुदायमा आर्थिक गतिविधिमा महिलाको सहभागिता वृद्धि गर्ने तथा महिला र बालबालिकालाई हिंसाबाट सुरक्षित बनाउने उद्धेश्य लिएको छ।
बैठकमा सहभागी जनप्रतिनिधिहरुले परियोजना अन्तर्गत वडा स्तरमा सञ्चालन भएका कार्यक्रमहरु प्रभावकारी रहेको बताउँदै यसले महिला तथा बालबालिकाको अधिकार, नेतृत्व विकास र सामाजिक सहभागिता बढाउन सकारात्मक योगदान पुर्याएको उल्लेख गर्नु भएको थियो। नगर उपप्रमुख शिव कुँवरले परियोजनाले स्थानीय तहका प्राथमिकतासँग जोडिएर महिला तथा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण काम गरि रहेको बताउँदै यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन नगरपालिका आवश्यक सहकार्य गर्न तयार रहेको बताउनु भयो।
उहाँले भन्नु भयो, “महिला र बालबालिकाको अधिकार संरक्षण तथा महिलाको नेतृत्व विकास आजको महत्वपूर्ण आवश्यकता हो। स्थानीय तह र सामाजिक संस्था बीचको सहकार्यबाट यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिन्छ।” त्यस्तै, सहभागी वडा अध्यक्षहरुले परियोजनाले महिलाहरुलाई सामाजिक तथा आर्थिक गतिविधिमा सहभागी गराउनुका साथै बाल अधिकारका विषयमा समुदायमा सकारात्मक चेतना फैलाउन सहयोग पुगेको बताउनु भयो।
उहाँहरुले आगामी दिनमा कार्यक्रमलाई थप निरन्तरता दिँदै आवश्यकता र स्थानीय समस्याका आधारमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भएको छ। परियोजना अन्तर्गत ७ विद्यालयमा बाल क्लब पुनर्गठन गरी नियमित मासिक बैठक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ भने २ जना अति विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरी विद्यालय निरन्तरता सुनिश्चित गरिएको छ। त्यस्तै, ५२५ महिलालाई महिनावारी स्वच्छता सम्बन्धी सचेतना दिँदै MHM किट वितरण गरिएको छ।
१६ आत्मनिर्भर समूहका २४६ महिलालाई सामूहिक व्यवसायमा सहयोग गरिएको छ भने ५८ समूहका ८८१ महिलालाई कृषि बीउबिजन सहयोग पछि तरकारी खेती तथा पशु पालनबाट आम्दानी बढेको र बचत गर्ने बानीको विकास भएको जनाईएको छ। परियोजनाबाट यस वर्ष २६७ जनाले आयआर्जनका लागि ३० लाख ५० हजार रुपैयाँ ऋण परिचालन गरेका छन्।
व्यवसाय विस्तारका लागि १६ जनालाई टनेल प्लास्टिक, १५ जनालाई वासिङ मेसिन, ६ जनालाई क्यारेट, २ जनालाई कुखुराको दाना खुवाउने भाँडा तथा १ जनालाई टेबल–कुर्सी सहयोग गरिएको छ। यसै गरी, २८ जना धार्मिक अगुवालाई अभिमुखीकरण गरी छाउपडी तथा बाल विवाह जस्ता हानिकारक सामाजिक मान्यता विरुद्ध आवाज उठाउने प्रतिबद्धता गराईएको छ।
८८१ जना महिलालाई आत्मनिर्भर समूह तथा सञ्जालका नियमित बैठक मार्फत आर्थिक तथा सामाजिक सशक्तीकरणका गतिविधिमा जोडिएको परियोजनाले जनाएको छ। बैठकले परियोजनाबाट भएका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा महिला सशक्तीकरण, बाल अधिकार संरक्षण तथा हिंसा न्यूनीकरणका गतिविधिलाई अझ प्रभावकारी ढंगले अघि बढाउने विषयमा समेत छलफल गरेको छ।
कार्यक्रममा परियोजना अधिकृत लक्ष्मी भक्त जोशीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे भने सत्य स्वारले कार्यक्रम संचालन गर्नु भएको थियो।