साँफेबगर ।
अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १० की काली भुल जलवायु–स्मार्ट कृषि प्रविधिको प्रयोग मार्फत आफ्नो परिवारको खाद्य तथा पोषण सुरक्षा सुधार गर्दै जीविकोपार्जनलाई सुदृढ बनाउने प्रयासमा अघि बढि रहेनु भएको छ। काली सात सदस्यीय संयुक्त परिवारमा बस्नु हुन्छ,जसमा चार महिला र तीन पुरुष सदस्य हुनु हुन्छ।
लामो समय देखि उहाँको परिवार पुर्ख्यौली जमिनमा निर्भर रहँदै परम्परागत कृषि प्रणाली अपनाउँदै आएको थियो। तर परम्परागत खेती प्रणालीबाट हुने उत्पादन निकै कम थियो। उत्पादित खाद्यान्नले परिवारको आवश्यकता वर्षमा पाँच महिना भन्दा बढी धान्न सक्दैनथ्यो।
आधुनिक कृषि प्रविधि, उन्नत बाली व्यवस्थापन तथा घरायसी तरकारी नर्सरी व्यवस्थापन सम्बन्धी ज्ञानको अभावका कारण उनको खेतबारीको उत्पादकत्व न्यून थियो। सीमित कृषि उत्पादनका कारण परिवारको दैनिक खर्च व्यवस्थापन तथा जीविकोपार्जन सञ्चालनमा समेत कठिनाई हुँदै गएको थियो। आर्थिक समस्या बढ्दै गए पछि परिवारका तीन जना सदस्य रोजगारीका लागि भारत जान बाध्य भएका थिए।
यस्तो अवस्थामा साँफेबगर नगरपालिका वडा नम्बर १० मा PeaceWin Nepal द्वारा सञ्चालित WE-CAN परियोजना सञ्चालनमा आयो। परियोजना अन्तर्गत काली भुललाई लक्षित लाभग्राहीका रुपमा छनोट गरी जलवायु–स्मार्ट कृषि अभ्यास, उन्नत बाली व्यवस्थापन तथा करेसाबारी व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरियो।
साथै, उहाँलाई विभिन्न आठ प्रकारका तरकारीका बीउ उपलब्ध गराउनुका साथै घरको आँगनमा करेसाबारी स्थापना गर्न निरन्तर प्राविधिक सहयोग र परामर्श प्रदान गरिएको थियो। नियमित तालिम, कृषि प्राविधिकको निरन्तर अनुगमन तथा प्राविधिक सहजीकरण पछि कालीले आफ्नो घरको आँगनमा सफलतापूर्वक करेसाबारी स्थापना गर्नु भयो।
सुधारिएको तथा जलवायु–उत्थानशील कृषि प्रविधि अपनाए पछि उहाँको तरकारी उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। हाल उहाँको करेसाबारीबाट उत्पादित ताजा तरकारीले परिवारको दैनिक पोषण आवश्यकतामा प्रत्यक्ष योगदान पुर्याई रहेको छ। आफ्नै घरमा तरकारी उत्पादन हुन थाले पछि बजारबाट तरकारी खरिद गर्नु पर्ने खर्च समेत घटेको छ।
यससँगै कालीमा कृषि तथा तरकारी खेतीलाई जीविकोपार्जनको भर पर्दो माध्यमका रुपमा अघि बढाउने आत्म विश्वास समेत बढेको छ। आफ्नो अनुभव सुनाउँदै काली भुल भन्नु हुन्छ-“पहिले उन्नत बीउ र प्राविधिक ज्ञानको अभावका कारण हामीले करेसाबारी बनाउने गरेका थिएनौँ। WE-CAN परियोजना सञ्चालन भए पछि करेसाबारी व्यवस्थापन सम्बन्धी तालिम, कृषि प्राविधिकबाट प्राप्त निरन्तर प्राविधिक सहयोग तथा परिवारको पोषणका लागि करेसाबारीको महत्व बारे प्राप्त जानकारीले मलाई सफलतापूर्वक करेसाबारी स्थापना गर्न सहयोग गर्यो।
आगामी दिनमा पनि यस अभ्यासलाई निरन्तरता दिँदै अझ व्यवस्थित र सुधार गर्दै लैजाने मेरो प्रतिबद्धता छ।” काली भुलको अनुभवले जलवायु–स्मार्ट कृषि प्रविधि, उन्नत कृषि ज्ञान, गुणस्तरीय बीउ तथा निरन्तर प्राविधिक सहयोगले सीमित स्रोत भएका ग्रामीण परिवारको कृषि उत्पादन र खाद्य तथा पोषण सुरक्षामा सकारात्मक परिवर्तन ल्याउन सक्ने देखाएको छ।
सानो प्रयासबाट सुरु भएको उनको करेसाबारी अहिले परिवारको पोषण सुधार, खर्च न्यूनीकरण र कृषि क्षेत्रमा आत्मविश्वास बढाउने महत्वपूर्ण माध्यम बनेको छ।
लेखन तथा तस्बिर: सौभाग्य जोशी (कृषि प्राविधिक, WE-CAN परियोजना)