अछाम ।
वल्र्ड भिजन इन्टरनेसनल नेपाल, वाक नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजना’ अन्तर्गत अछामका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका कार्यक्रम तथा क्रियाकलापको अनुगमन गरिएको छ।
परियोजनाले एक वर्षको अवधिमा साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टमाण्डौं तथा मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्देश्वासिनी, वडा नम्बर ७ नन्देगडा र वडा नम्बर ८ हात्तिकोटमा सञ्चालन गरेका विभिन्न गतिविधिको अनुगमन गरिएको हो।
आर्थिक अवस्था कमजोर, विपन्न तथा जोखिममा रहेका बालबालिकाको शिक्षा र संरक्षणमा सहयोग पुर्याउने उदेश्यले परियोजना मार्फत बालबालिकालाई स्टेशनरी सामग्री उपलब्ध गराउनुका साथै उनीहरुका अभिभावकलाई बाख्रा वितरण गरिएको परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले जानकारी दिनु भयो। बालबालिकाको शैक्षिक निरन्तरता, पारिवारिक आयआर्जनमा सहयोग र बाल संरक्षणका परियोजनाले सहयोग गर्दै आएको परियोजा अधिकृत ठकुल्लाको भनाई रहेको छ।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले बालबालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, संरक्षण र परिवारको आर्थिक सशक्तीकरणलाई एक साथ अघि बढाउनु पर्ने बताउनु भयो। कार्यक्रमको दीगोपनाको लागि स्थानीय सरकार र गैससले समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो।
साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र बहादुर कुँवरले बालबालिकाको शैक्षिक तथा सामाजिक विकाससँगै परिवारको आर्थिक अवस्थालाई बलियो बनाउने कार्यक्रम प्रभावकारी हुने बताउनु भयो। बालबालिकालाई स्टेशनरी सामग्री उपलब्ध गराउँदा उनीहरूको पढाईमा सहयोग पुग्ने र अभिभावकलाई बाख्रा वितरण गर्दा आयआर्जनको आधार तयार हुने भएकाले यस्ता कार्यक्रमलाई आवश्यकताका आधारमा निरन्तरता दिनु पर्ने उहाँको भनाइ थियो।
यस्तै, मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदले परियोजनाले विपन्न तथा जोखिममा रहेका बालबालिकालाई केन्द्रमा राखेर सञ्चालन गरेका कार्यक्रम प्रशंसनीय रहेको बताउनु भयो। बालबालिकाको पढाइलाई निरन्तरता दिन स्टेशनरी सामग्री र परिवारको आर्थिक अवस्था सुधार गर्न बाख्रा वितरण गरिनुले तत्कालीन आवश्यकता पूरा गर्नुका साथै दीर्घकालीन रुपमा पनि परिवारलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उहाँको भनाई थियो।
परियोजनाबाट सहयोग प्राप्त गरेका लाभग्राही अभिभावक तथा बालबालिकाले सहयोगले आफ्नो दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताएका छन्। बालबालिकाले विद्यालयमा आवश्यक पर्ने स्टेशनरी सामग्री प्राप्त भए पछि पढाइमा सहज भएको र अभिभावकले बाख्राबाट भविष्यमा आम्दानी गर्न सकिने आशा जागेको बताएका छन्।
यस्तै परियोजनाले किचन गार्डेन, वालमैत्री पठनपाठनको लागि आवश्यक सामग्री, पोखरी निर्माण देखि तरकारी खेतिको लागि टनेल समेत निर्माण गरेको छ।
अनुमनमा साँफेबगर नगरपालिकाका उपप्रमुख शिव हादुर कुँवर, मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्का, साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलि, वडा अध्यक्ष विषयगत शाखाका प्रमुख, वाक नेपाल र आस्था नेपालका वोर्ड सदस्य, परियोजना प्रमुख लगायत सरोकारावालको सहभागिता रहेको थियो।