काठमाडौं ।
संयुक्त रुपमा उनीहरुले सगरमाथाको चुचुरो दर्जनौँ पटक चुमेका थिए । उनीहरु अक्सिजनको सहायता बिना आठ हजार मिटर भन्दा अग्ला हिमाल आरोहण र विश्वकै सबै भन्दा खतरनाक हिमाल मध्ये एक के–२ लाई जाडो याममा सफलतापूर्वक चढेका थिए ।
यिनले पहिले असम्भव मानिएका उपलब्धि सहज हासिल गरेका थिए । तर, यी कीर्तिमानी उपलब्धि भन्दा पनि ठूलो योगदान उनीहरुले नेपाली हिमाली गाइड नामले चिनिने शेर्पाहरुको अन्तर्राष्ट्रिय पहिचान र सम्मानलाई नयाँ उचाइमा पुर्याएका थिए ।
गतसाता पाकिस्तानको ब्रोड पिकमा हिम-पहिरोमा ज्यान गुमाएका ६ नेपाली पर्वतारोहीहरुले लामो समयसम्म केवल सहायकका रुपमा हेरिएका नेपाली गाइडहरुलाई विश्व पर्वतारोहण समुदायको अग्र पङ्क्तिमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । मृतक मध्ये नेपालमा जन्मेका पर्वतारोही निर्मल पुर्जा एक थिए । उनी आठ हजार मिटर भन्दा विश्वका १४ वटै अग्ला हिमाल मात्र ६ महिना भन्दा कम समयमा आरोहण गरेर विश्वभर चर्चित बनेका थिए । उनीहरुका सहकर्मी गाइडहरुका अनुसार, यो दुर्घटनाले नेपालको पर्वतारोहण समुदायलाई गहिरो आघात पुर्याएको छ ।
४३ वर्षीय निर्मल पुर्जा, जसलाई ‘निम्स’ भनी चिनिन्थ्यो, विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकमा १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीको नेतृत्व गरि रहेका बेला हिम पहिरोमा परेका थिए । आउट साइड म्यागाजिनका एभरेस्ट संवाददाता बेन आयर्स भन्छन्, “निम्स निसन्देह एक प्रतिष्ठित पर्वतारोही र आफ्नो पुस्ताकै उत्कृष्ट मध्ये एक थिए ।” ब्रोड पिक अभियानमा गाइडका रुपमा सहभागी किली पेम्बा शेर्पा र पूरबहादुर गुरुङ पनि अत्यन्त सक्षम र उत्कृष्ट अनुभवी भएको पर्वतारोही भएको आयर्स बताउँछन् ।
४६ वर्षीय किली पेम्बाले जुलाईको सुरुआतमै आफ्नो अन्तिम आठ हजार मिटर भन्दा अग्लो हिमाल आरोहण पूरा गर्दै प्रतिष्ठित पर्वतारोहण ‘ग्रान्ड स्लाम’ हासिल गरेका थिए । त्यस भन्दा अघि उनी जनवरी २०२१ मा निर्मल पुर्जाको नेतृत्वमा के–२ को पहिलो सफल जाडो आरोहण गर्ने नेपाली टोलीका सदस्य बनेर विश्व पर्वतारोहण इतिहासमा नाम लेखाइ सकेका थिए । त्यति बेला विश्वको दोस्रो अग्लो हिमाल के२ ‘एट–थाउजेन्डर’हरु मध्ये जाडो याममा आरोहण हुन बाँकी रहेको एक मात्र हिमाल थियो । आठ हजार ६११ मिटर अग्लो के–२ लाई आठ हजार ८४९ मिटर अग्लो सगरमाथा भन्दा बढी ठाडो, प्राविधिक र जोखिमपूर्ण हिमाल मानिन्छ ।
धेरैले किली पेम्बालाई अत्यन्त विनम्र र आफ्ना ग्राहक प्रति समर्पित गाइडका रुपमा सम्झन्छन् । उनले फरक–फरक समयमा दुवै खुट्टा गुमाएका दुई जना आरोहीलाई सगरमाथा र विश्वको आठौँ अग्लो हिमाल मनास्लुको शिखरसम्म सफलतापूर्वक पुर्याएका थिए । त्यस मध्ये एक आरोहणका क्रममा सगरमाथा आधार शिविरमा रहेका सरकारी अधिकारी ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, “कुनै पनि गाइडका लागि त्यो अत्यन्त कठिन जिम्मेवारी थियो, तर किली पेम्बाले असाध्यै धैर्य र समर्पणका साथ त्यो पूरा गरे ।”
३७ वर्षीय पूर बहादुर गुरुङले विश्वका १४ मध्ये १२ वटा आठ हजार भन्दा माथिका हिमाल आरोहण गरि सकेका थिए । उनी अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड महासंघबाट प्रमाणित करिब १०० नेपाली गाइड मध्ये एक थिए । नेपाल पर्यटन विभागका प्रवक्ता हिमाल गौतम भन्छन्, “आईएफएमजीए गाइड बन्न ठूलो लगानी, अथक मेहनत, जोश र समर्पण चाहिन्छ । यसले पूर बहादुरको पर्वतारोहण प्रतिको प्रतिबद्धता स्पष्ट देखाउँछ ।” उनले थपे, “यसले ब्रोड पिकमा हामीले भोगेको क्षति कति ठूलो छ भन्ने पनि देखाउँछ ।”
सन् २०२४ मा पूर बहादुर त्यही टोलीका सदस्य थिए, जसले सगरमाथामा एक शताब्दी पुरानो जुत्ता फेला पारेको थियो । उक्त जुत्ता सन् १९२४ मा बेपत्ता भएका बेलायती पर्वतारोही एन्ड्रयू इरभाइनको भएको विश्वास गरिन्छ । गत साता ब्रोड पिकमा ज्यान गुमाउने अन्य नेपाली गाइड मध्ये ग्याल्जेन शेर्पा पनि थिए । उनी एकै आरोहण सिजनमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा तीन पटक आरोहण गरेका कारण चर्चित थिए । उनका सहकर्मीहरुका अनुसार, यो उपलब्धि गिनिज वर्ल्ड रेकर्डमा समावेश हुन योग्य छ । यसै गरी ३६ वर्षीय निमा शेर्पाले सन् २०२६ मा मात्रै चार वटा ‘आठ हजारे’ हिमाल आरोहण गरेका थिए । नवाङ थिन्डु शेर्पा भने २० वर्षको उमेरमै नेपालको उदीयमान पर्वतारोहण गाइड पुस्ताका प्रतिभाशाली सदस्यका रुपमा परिचित थिए ।
नेपालका हिमाली गाइडहरु प्रत्येक वसन्तमा अन्तर्राष्ट्रिय आरोहीहरुलाई नेपालका अग्ला हिमालहरुमा गाइड तथा भारी बोक्ने सहयोगीका रूपमा साथ दिन्छन् । जुन देखि सेप्टेम्बरसम्म मनसुन सुरु भए पछि उनीहरु मध्ये केही पाकिस्तानको दुर्गम उत्तरी क्षेत्रमा पुग्छन्, जहाँ विश्वका पाँच वटा ‘आठ हजारे’ हिमाल अवस्थित छन् । यो क्षेत्र निकै दुर्गम भएकाले अन्तर्राष्ट्रिय पर्यटकको संख्या तुलनात्मक रुपमा कम छ । तर पछिल्ला वर्षहरुमा त्यहाँ पर्वतारोहण प्रतिको आकर्षण बढ्दै गएको छ । प्रत्येक वर्ष १० लाख भन्दा बढी साहसिक पर्यटक हिमालय क्षेत्रमा पुग्ने गरे पनि पाकिस्तानको काराकोरम पर्वत शृंखलामा वार्षिक करिब १५ हजार पर्यटक मात्र पुग्ने गर्छन् ।
केही पर्वतारोहण विज्ञका अनुसार, नेटफ्लिक्समा समेटिएको निर्मल पुर्जाको ६ महिना भन्दा कम समयमा विश्वका १४ वटा ‘आठहजारे’ हिमाल आरोहण गर्ने कीर्तिमानले पाकिस्तानलाई पनि अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाल पर्वतारोहण संघकी कार्यवाहक अध्यक्ष ईश्वरी पौडेलका अनुसार, निर्मल ‘निम्स’ पुर्जाको सफलताले धेरै नेपाली गाइड र विदेशी आरोहीलाई १४ वटा ‘आठ हजारे’ हिमाल आरोहण गर्ने लक्ष्य हासिल गर्न सकिने आत्मविश्वास दिएको थियो । उनका अनुसार, त्यसले पाकिस्तानलाई नेपाली शेर्पाहरुका लागि प्रमुख विदेशी कार्य क्षेत्रका रुपमा स्थापित गर्न पनि महत्वपूर्ण भूमिका खेलेको थियो । विदेशी आरोहीहरुको सपना पूरा गराउने क्रममा धेरै नेपाली गाइड स्वयं पनि १४ वटै आठ हजारे हिमाल आरोहण गर्न सफल भएको उनले बताइन् ।
एभरेस्ट संवाददाता बेन आयर्सका अनुसार, पुर्जाले पर्वतारोहणको नयाँ युगलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसले एकातिर पर्वतारोहणलाई धेरैका लागि सहज र पहुँच योग्य बनायो भने अर्को तर्फ यसको व्यावसायिकीकरणसँगै जोखिम पनि बढायो । बीबीसीसँग कुरा गरेका शेर्पाहरुले पाकिस्तानका दुर्गम हिमालहरुमा अभियान सञ्चालन गर्नु अत्यन्त चुनौतीपूर्ण हुने भएकाले त्यहाँ उच्च अनुभव र दक्षता भएका गाइडहरुले मात्र नेतृत्व गर्न सक्ने बताएका छन् । विश्वका १४ वटै ‘आठहजारे’ हिमाल आरोहण गर्ने सबै भन्दा कान्छा आरोही निमा रिन्जी शेर्पाका अनुसार, पाकिस्तानमा पर्वतारोहण गर्दा गाइडहरुले आफैँले डोरी फिक्स गर्नु पर्ने, बरफमा पाइला काट्नु पर्ने र अभियान अघि बढ्दै जाँदा शिविर स्थापना गर्नु पर्ने हुन्छ । व्यावसायिक पर्वतारोहणको युगमा पनि पाकिस्तानमा वास्तविक र परम्परागत शैलीको पर्वतारोहण अनुभव गर्न पाइने उनको भनाइ छ ।
निमा रिन्जीका अनुसार, पाकिस्तान पुग्न कठिन हुने भएकाले अधिकांश आरोहीले एउटै यात्रामा दुई देखि तीन वटा हिमाल आरोहण गर्ने प्रयास गर्छन्, जसले अभियानको तालिका अत्यन्त व्यस्त बनाउँछ । यस विपरीत नेपालमा पर्वतारोहण सम्बन्धी पूर्वाधार धेरै विकसित छ । सगरमाथा जाने मुख्य पदमार्गहरुमा परिवारद्वारा सञ्चालित लजहरु छन्, जहाँ ओछ्यान, तातो खाना तथा अन्य आवश्यक सुविधा उपलब्ध हुन्छन् । नेपालमा उच्च हिमाली क्षेत्रमा आपत्कालीन उद्धार सेवा पनि तुलनात्मक रुपमा सहज छ ।
उद्धार हेलिकप्टर र सहायता केन्द्रहरुको सञ्जाल विकसित भएकाले आकस्मिक अवस्थामा तत्काल सहयोग उपलब्ध गराउन सकिन्छ । तर काराकोरम पर्वत शृंखला अत्यन्त दुर्गम भएकाले त्यहाँ हेलिकप्टर अवतरण गर्न मिल्ने स्थानहरु निकै सीमित छन् । निमा रिन्जीका अनुसार, पाकिस्तानका पहाडहरुमा हेलिकप्टरलाई आधार शिविरसम्म पुर्याउन पनि निकै कठिन हुने र उच्च शिविरसम्म उडाउनु झन् चुनौतीपूर्ण हुने भएकाले त्यहाँ उच्च दबाबमा काम गर्न सक्ने, विविध अनुभव तथा बहुआयामिक सीप भएका शेर्पाहरु मात्र कार्यरत हुन्छन् ।
धेरै विज्ञहरुको विश्वास छ कि ब्रोड पिकको दुर्घटना पछि सुरक्षा मापदण्ड कडा बनाउने विषयमा बहस बढ्न सक्छ । तर त्यसले उच्च हिमाली पर्यटनको स्वरुपमा ठूलो परिवर्तन ल्याउने सम्भावना भने कम रहेको बताउँछन् । आयर्सका अनुसार, यस्ता दुर्घटनाले केही समयका लागि चिन्ता र बहस सिर्जना गरे पनि अन्ततः अवस्था फेरि पुरानै लयमा फर्किने गर्छ । पहाडमा हुने प्रत्येक दुर्घटना पूर्ण रुपमा रोक्न सकिन्थ्यो भनेर भन्न गाह्रो हुन्छ, किनभने त्यहाँको प्राकृतिक जोखिम नै अत्यन्त उच्च हुन्छ र धेरैका लागि यही जोखिम पर्वतारोहणको आकर्षणको एउटा पक्ष हो ।
उच्च हिमाली पर्वतारोहण सम्बन्धी अनुसन्धानकर्ता मेधावी गुलाटीका अनुसार पर्वतारोहण समुदाय स्वभावतः उच्च जोखिम भएका चुनौती तर्फ आकर्षित हुन्छ । धेरैका लागि खतरा र मृत्युको जोखिम नै मुख्य आकर्षण हो । अहिलेका गाइडहरुले पनि आफ्ना पूर्ववर्तीहरुले हासिल गरेका विश्व कीर्तिमान र अन्तर्राष्ट्रिय प्रतिष्ठालाई पछ्याइ रहने र त्यो आकर्षण सहजै समाप्त नहुने उनको विश्वास छ ।
पर्वतारोहण विज्ञ तथा लेखक एलन अर्नेटका अनुसार, यस्ता दुर्घटना यसअघि पनि पटक–पटक भएका छन्, तर त्यस पछि पनि पर्वतारोहण क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको देखिएको छैन । उनले सन् २०१४ मा सगरमाथामा आएको हिम पहिरोमा १६ जना शेर्पाको मृत्यु भएको घटना तथा सन् २००८ मा के–२ मा बरफको विशाल टुक्रा खस्दा ११ जना आरोहीले ज्यान गुमाएको घटनाको स्मरण गर्दै भने, “इतिहास हेर्दा ब्रोड पिकको यो दुर्घटनाले पनि ठूलो संरचनात्मक परिवर्तन ल्याउनेमा म आशावादी हुन सक्दिनँ । यद्यपि, म मेरो अनुमान गलत साबित होस् भन्ने चाहन्छु ।” प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार