साँफेबगर ।
सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढीका प्राध्यापक तथा साहित्यकार डा. देवेन्द्र प्रसाद भट्टलाई भारतको नयाँ दिल्लीमा आयोजित साहित्यिक समारोहमा सम्मान गरिने भएको छ।
मासिक साहित्यिक संगोष्ठी, दिल्लीको आयोजनामा सेप्टेम्बर १२, २०२६ मा नयाँ अशोक नगर स्थित डीपीएमआई सभागारमा हुने कार्यक्रममा डा. भट्टलाई साहित्य, शिक्षा र समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजक जगमोहन सिंह रावत ‘जगमेरा’ले डा. भट्टलाई पठाएको निमन्त्रणा पत्रमा उनलाई नेपालका शिक्षाविद् तथा साहित्यकारका रुपमा उल्लेख गर्दै समारोहमा सम्मान प्रदान गरिने जनाईएको छ। अछाम मूल घर भएका डा. भट्ट हाल सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढीमा प्राध्यापनरत छन्।
नेपाली भाषा तथा साहित्यको अध्यापनसँगै उनी साहित्य सिर्जना, समालोचना, अनुसन्धान, सांस्कृतिक गतिविधि तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। आयोजकका अनुसार नेपाल र भारत बीचको भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले आयोजना हुने समारोहमा गढवाली, कुमाउनी, जौनसारी र नेपाली भाषाका गीत तथा कविता प्रस्तुति, वक्तव्य, लोक परम्परा सम्बन्धी कार्यक्रम र बहुभाषिक कवि सम्मेलन समेत हुनेछन्।
कार्यक्रममा डा. भट्टको साहित्यिक तथा शैक्षिक योगदान बारे चर्चा गर्नुका साथै उनलाई सम्मान प्रदान गर्ने कार्यक्रम राखिएको आयोजकले जनाएको छ।
भारत र नेपालका विभिन्न भाषिक तथा साहित्यिक समुदायको सहभागिता रहने उक्त कार्यक्रमलाई दुई देश बीचको साहित्यिक तथा सांस्कृतिक संवादको अवसरका रुपमा आयोजकले प्रस्तुत गरेको छ।