मंगलसेन ।
अछामको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन गरेका योजना, कार्यक्रम तथा आय–व्ययको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइमार्फत नगरपालिकाले एक वर्षको कार्यसम्पादन सार्वजनिक गर्दै नागरिकसँग प्रत्यक्ष संवाद गरेको हो।
नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा समग्र गतिविधि बारे समीक्षा गरिएको थियो। कार्यक्रममा विभिन्न वडा तथा क्षेत्रबाट सहभागी भएका नागरिकले नगरपालिकाको कामकारबाही बारे प्रश्न राख्दै सुझाव समेत दिएका थिए।
सहभागीहरुले नगरपालिकाले सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा केही सकारात्मक अभ्यास सुरु गरेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो। हालसम्म भएका उपलब्धिलाई संस्थागत गर्दै नागरिकका सुझावलाई व्यवहारमा उतार्न सके स्थानीय सरकार प्रतिको विश्वास अझ मजबुत हुने उनीहरुको भनाई थियो।
सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरुले अनुदान वितरण प्रक्रियालाई पूर्ण पारदर्शी बनाउन, कर्मचारी भर्ना योग्यता र क्षमताका आधारमा गर्न, बजार क्षेत्रको सरसफाइ व्यवस्थापनमा सुधार ल्याउन तथा विकास निर्माणका योजनाको प्रभावकारी अनुगमन गर्नु पर्ने आवश्यकता औँल्याएका थिए।
केही क्षेत्रमा अझै पनि पारदर्शिता र जवाफदेहिताको अभाव रहेको भन्दै त्यसतर्फ नगरपालिका थप गम्भीर हुनु पर्ने सुझाव उनीहरुले दिएका थिए। नागरिकले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख पदम बहादुर बोहराले सार्वजनिक सुनुवाइमा प्राप्त सबै सुझावलाई सकारात्मक रूपमा लिइएको बताउनुभयो।
सीमित स्रोत–साधनका कारण नागरिकका सबै अपेक्षा पूरा गर्न नसकिएको स्वीकार गर्दै उहाँले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास भई रहेको उल्लेख गर्नुभयो।
उहाँले आफ्नो कार्यकालमा सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै विभिन्न सुधारात्मक अभ्यास सुरु गरिएको दाबी गर्नुभयो। राम्रो कामको पनि मूल्याङ्कन र प्रशंसा गर्ने संस्कार विकास गर्नु पर्नेमा जोड दिँदै उहाँले नगरपालिका सबै नागरिकको साझा संस्था भएकाले विकास र सुशासनका अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।
नगर उपप्रमुख संगीता रावल सोडारीले महिला, बालबालिका तथा अन्य लक्षित वर्गका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै सीमित स्रोतका बाबजुद धेरै भन्दा धेरै नागरिकसम्म सेवा पुर्याउने प्रयास गरिएको बताउनुभयो। आगामी आर्थिक वर्षमा थप प्रभावकारी र समावेशी कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई थियो।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव बम बहादुर रावलले सार्वजनिक सुनुवाइलाई स्थानीय सरकार र नागरिक बीचको संवादको प्रभावकारी माध्यमका रुपमा रहेको उल्लेख गर्नुभयो। उहाँले नगरपालिकाका सकारात्मक कार्यमा सहयोग र कमजोरी प्रति रचनात्मक खबरदारी जारी रहने बताउनुभयो।
कार्यक्रमको प्रारम्भमा प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले आर्थिक वर्ष २०८२र८३ मा सम्पन्न योजना, कार्यक्रम तथा बजेट कार्यान्वयन सम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक सुनुवाइको उद्देश्य बारे प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगानाले जानकारी गराउनु भएको थियो।
कार्यक्रममा सहभागी नागरिकका प्रश्नको जवाफ सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीहरुले दिएका थिए। नगरका विभिन्न वडाबाट सहभागी भएका नागरिकले सेवा प्रवाह, विकास निर्माण, शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, अनुदान वितरण लगायत विषयमा आफ्ना गुनासा, सुझाव र जिज्ञासा राखेका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन सूचना अधिकारी विष्णु प्रसाद जैशीले गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नु भएको थियो।