साँफेबगर ।
अछामको रामारोशनमा भएको ‘रामारोशन स्काई रनिङ–२०२६’ प्रतियोगिताको उपाधि रमेश लिम्बु र सुसरी रोकायाले जित्नु भएको छ। नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) को आयोजनामा पर्यटकीय क्षेत्र रामारोशनमा भएको ‘रामारोशन स्काई रनिङ–२०२६’ प्रतियोगिताको उपाधि ताप्लेजुङका रमेश लिम्बु र नेपाल आर्मीका सुनसरी रोकायाले जित्नु भएको हो।
बुधबार २८ किलोमिटर दूरीको स्काई रनिङ प्रतियोगितामा लिम्बूले ३ घण्टा २८ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै पुरुष तर्फ प्रथम स्थान हासिल गर्नु भयो। जुम्लाका सोनम बहादुर रावतले ३ घण्टा ३० मिनेट ४५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गर्नु भयो। महिला तर्फ नेपाल आर्मीकी रोकायाले ४ घण्टा ३२ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै प्रथम हुनु भयो भने खोटाङकी निर्मला राई ४ घण्टा ३४ मिनेट १७ सेकेन्डका साथ दोस्रो हुनु भयो।
२० वर्ष मुनिको ५ किलोमिटरमा तिमिल्सिना र रोकाया धामी प्रथम
स्थानीय युवालाई खेलकुद तर्फ आकर्षित गर्ने उद्धेश्यले आयोजित २० वर्ष मुनिको ५ किलोमिटर सामुदायिक दौड तर्फ पुरुषमा अछामको पञ्चदेवल विनायक नगरपालिकाका सुशील तिमिल्सिना प्रथम हुनु भएको यियो भने महिला तर्फ देवकी धामीले उपाधि जित्नु भयो।
प्रतियोगितामा पुरुष तथा महिला दुवै विधाका विजेतालाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै शीर्ष १० स्थान हासिल गर्ने धावकलाई समेत नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण–पत्र वितरण गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा देश भरका ५७ जिल्लाबाट १५३ जना धावक सहभागी भएका थिए। समुद्री सतहबाट करिब २ हजार १५० मिटर देखि ३ हजार ८३० मिटर उचाईसम्म फैलिएको चुनौतीपूर्ण मार्गमा धावकहरुको सुरक्षाका लागि ६ वटा वाटर प्वाईन्ट र ६ वटा चेक प्वाईन्टको व्यवस्था गरिएको थियो।
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले प्रतियोगिताले नेपालको साहसिक खेल पर्यटनलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नु भयो।
उहाँले रामारोशनको प्राकृतिक सौन्दर्य र चुनौतीपूर्ण भूगोल स्काई रनिङका लागि उपयुक्त गन्तव्य भएको बताउँदै यस्ता प्रतियोगिताले स्थानीय पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।
अध्यक्ष कुँवरले आगामी वर्षहरुमा प्रतियोगितालाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय सहभागिता आकर्षित गर्ने गरी विस्तार गर्ने योजना रहेको जानकारी दिनु भयो। उहाँका अनुसार रामारोशन स्काई रनिङलाई नेपालको प्रमुख साहसिक खेल प्रतियोगिताका रुपमा विकास गर्ने लक्ष्य फेडेरेसनले लिएको बताउनु भयो।
उहाँले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, सुरक्षा निकाय, स्वयंसेवक, प्रायोजक संस्था तथा स्थानीय समुदाय प्रति धन्यवाद व्यक्त गर्नु भयो। प्रतियोगिताले साहसिक खेलको विकाससँगै रामारोशन क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित तस्वीरहरु।





तस्बिर सौजन्य : रमेश परियार