साँफेबगर।
अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४, पायल स्थित कुमालगाउँकी चन्द्रा कुमाल अहिले आफ्नो मेहनत, सिकाई र नयाँ कृषि प्रविधिको प्रयोगबाट समुदायमा उदाहरणीय कृषकका रुपमा परिचित हुनु हुन्छ। WE-CAN परियोजनाकी स्थानीय स्रोत व्यक्ति (LRP) समेत रहेकी चन्द्राले जलवायु–उत्थानशील कृषि प्रविधि र परियोजनाबाट प्राप्त प्राविधिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै परम्परागत खेतीलाई क्रमशः व्यावसायिक तरकारी खेती तर्फ रुपान्तरण गरि रहनु भएको छ।
चन्द्रा आफ्नो श्रीमान, दुई छोरा, एक छोरी र सासू सहित ६ जनाको परिवारमा बस्नु हुन्छ। यस क्षेत्रका धेरै कृषक परिवार झैँ उहाँको परिवार पनि परम्परागत कृषि प्रणालीमा निर्भर थियो। तर अनियमित मौसम, विभिन्न किसिमका रोग तथा कीराको प्रकोप, उन्नत कृषि प्रविधिमा सीमित पहुँच र उत्पादन सम्बन्धी ज्ञानको अभावका कारण तरकारी खेतीबाट अपेक्षित उत्पादन र आम्दानी हुन सकेको थिएन। WE-CAN परियोजनामा आबद्ध भए पछि चन्द्राले परियोजनाद्वारा सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरणमा सक्रिय सहभागिता जनाउनु भयो।
तालिमबाट प्राप्त ज्ञानलाई आफ्नै खेतबारीमा प्रयोग गर्दै उहाँले आधुनिक तथा जलवायु–उत्थानशील कृषि प्रविधिको अभ्यास सुरुगर्नु भयो। परियोजनाले उहाँलाई प्लास्टिक टनेल, थोपा सिँचाईका सामग्री, उन्नत तरकारीका बीउ, जैविक विषादी तथा कीरा नियन्त्रणका लागि नेट लगायत आवश्यक सामग्रीमा सहयोग गरेको थियो। यी प्रविधि र सामग्रीको प्रयोग पछि उहाँको तरकारी खेतीमा उल्लेखनीय सुधार आउन थाल्यो।
अहिले उहाँको खेतमा गोलभेँडा, सिमी, भिन्डी तथा विभिन्न प्रकारका हरियो तरकारीहरु लहलहाई रहेका छन्। हालै मात्र उनहाँले करिब ३५ किलोग्राम गोलभेँडा प्रति किलो ८० रुपैयाँका दरले स्थानीय बजारमा बिक्री गरी दुई हजार ८ सय रुपैयाँ आम्दानी गर्न सफल हुनु भएको छ। यो आम्दानीले उहाँलाई व्यावसायिक तरकारी खेतीलाई थप विस्तार गर्ने उत्साह र आत्मविश्वास दिएको छ। तरकारी बिक्रीबाट नगद आम्दानी हुनुका साथै उहाँको परिवारले आफ्नै खेतमा उत्पादन भएका ताजा र पोषिला तरकारी उपभोग गर्न थालेको छ।
यसले बजारबाट तरकारी खरिद गर्नु पर्ने खर्च समेत घटाएको छ। यसरी उहाँको कृषि उत्पादनले परिवारको खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्याउनुका साथै आम्दानीको नयाँ अवसर समेत सिर्जना गरेको छ। आफ्नो अनुभव सुनाउँदै चन्द्रा भन्नु हुन्छ-“पहिले म परम्परागत तरिकाले तरकारी खेती गर्थें। तर कीरा, रोग र प्रतिकूल मौसमका कारण बालीमा धेरै क्षति हुने गरेको थियो। WE-CAN परियोजनामा जोडिए पछि मेरो कृषि यात्राले नयाँ मोड लियो। सुरुमा सानो क्षेत्रफलबाट खेती सुरु गरेँ।"
परियोजनाबाट प्राप्त ज्ञान, सीप र सहयोगलाई प्रयोग गर्दै जाँदा अहिले व्यावसायिक रुपमा तरकारी खेती विस्तार गर्ने आत्मविश्वास बढेको छ। “आगामी दिनमा थप सहयोग प्राप्त भएमा म आफ्नो तरकारी व्यवसायलाई अझ विस्तार गर्ने दृढ संकल्पमा छु। यो अवसर प्रदान गरेकोमा WE-CAN परियोजना प्रति म हार्दिक आभार व्यक्त गर्दछु।” आज चन्द्रा केवल आफ्नो खेतमा सफल कृषक मात्र नभई समुदायका अन्य कृषकलाई समेत नयाँ कृषि प्रविधि अपनाउन प्रेरित गर्ने स्थानीय स्रोत व्यक्ति र उदाहरणीय कृषक बन्नु भएको छ।
उहाँको अनुभवले समयमै प्राप्त प्राविधिक ज्ञान, जलवायु–उत्थानशील कृषि प्रविधि, आवश्यक कृषि सामग्री र कृषकको निरन्तर मेहनतले ग्रामीण परिवारको खाद्य तथा पोषण सुरक्षा सुधार गर्नुका साथै आम्दानी र दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्न सकिन्छ भन्ने देखाएको छ।
लेखन तथा तस्बिर: ईश्वर बहादुर बटाला (कृषि प्राविधिक, WE-CAN परियोजना)