साँफेबगर ।
अछामको मेल्लेख गाउँपालिकाका कृषकहरु अर्गानिक तरकारी उत्पादनमा जुटेका छन् । किसानहरुले रासायनिक, विषादी रहित तरकारी खेती गर्न जोडतोडका साथ लागेका हुन् । विषादीको प्रयोगले गर्भवती महिला, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि कृषकहरु अर्गानिक तरकारी खेतीमा उन्मुख भएका हुन् । कृषकहरुलाई वल्र्ड भिजन इन्टरनेसनल नेपाल र वाक नेपालको संयुक्त साझेदारीमा सञ्चालित एकीकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजनाले अर्गानिक उत्पादनमा जोडेको हो ।
स्याउला तथा गाई, भैँसीको मलमूत्रबाट तयार गरिएको झोलमलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी खेती गरि रहेको मेल्लेख गाउँपालिका वडा नम्बर ६, षोडशा स्थित नवाँघरको सेरा टोलका कृषक प्रेम बहादुर खड्काले बताउनु भयो । अर्गानिक तरकारी उत्पादन समूहका सदस्य समेत रहनु भएका खड्काले बारीमा काँक्रा बाली, गोलभेडा, आलु, काउली, बन्दा लगायतका तरकारी खेती गरि रहनु भएको छ । तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाईगोरु तथा पशुको मूत्रलाई जैविक विषादीको रुपमा प्रयोग गर्दै आएको उहाँले बताउनु भयो ।
जलवायु मैत्री कृषि पाठशाला कक्षा निरन्तर २१ हप्ता सञ्चालन भई समुदायका कृषकहरुले तरकारी खेती लगाउन सामान्य जानेका थिए । तर वाक नेपालले कार्यक्रम सञ्चालन गरि सके पछि प्राविधिक तरिकाले तरकारी लगाउन जानेका छन् । कृषक पाठशाला मार्फत तालिम पाए पछि विभिन्न किसिमका मौसम तथा बेमौसमी तरकारी उत्पादन गर्न सुरु गरेका हौँ समूहका सदस्य झरना खड्काले बताउनु भयो । उहाँले भन्नुभयो–‘अहिले आफूमा पनि परिवर्तन आएको छ स्थानीय स्रोत साधनको प्रयोग गरेर तरकारी खेती गर्ने तरकारी खाने बानीको विकाससँगै बालबालिकाहरुलाई पनि तरकारी खुवाउने र बचेको तरकारी श्री षोडशा आधारभूत विद्यालयमा दिवा खाजाको रुपमा तरकारी दिने गरेका छौँ ।’ अर्गानिक तरकारी उत्पादन गरेर खाने गरे पछि बालबालिकाको पोषणमा सुधार भएको छ । समुदायका २५ जना महिलाहरुले तरकारी बिक्री गरेको पैँसा बालबालिकाको खुत्रुके बचतसंगै सहकारी र बैंकमा पनि बचत गर्दै आएका छन् ।
झरना खड्का जस्तै उक्त समूहमा स्थानीय २५ जना कृषक आवद्ध रहेका छन् । समूहमा आवद्ध सबै कृषकहरुले तरकारी खेती गरि रहेको स्थानीय मनसरा खड्काले बताउनु भयो । उहाँले भन्नुभयो–‘कृषकहरुलाई परियोजनाले २१ हप्ता जलवायु मैत्री कृषि पाठशाला मार्फत तालिम प्रदान गरेको छ ।’ योसँगै तरकारीको बीउ, हेन्डस्प्रे, प्लास्टिक टनेल, क्यारेट, दाँते, रेक, गड्यौला मल, थोपा सिचाई झोलमल तयार पार्ने ड्रम, गाईगोरु तथा पशुको मूत्र संकलन ड्रम तथा प्रविधि सहयोग गरेको छ । परियोजनाले सोही समूहका २५ जना कृषकलाई प्लास्टिक टनेल समेत प्रदान गरेको छ ।
षोडशा जस्तै मेल्लेख गाउँपालिकाको वडा नम्बर ७ नन्देगडा स्थित हरीयाली तरकारी उत्पादन समूहमा पनि २५ कृषक आवद्ध छन् । समूहमा आवद्ध कृषकहरुले अर्गानिक तरकारी उत्पादन गरि रहेको समूहका सचिव ईश्वरी खड्का महरले बताउनु भयो ।परियोजना एकीकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना ८ वडाम सञ्चालित छ ।
समूहमा आवद्ध कृषकहरुलाई झोलमल, बायोचार बनाउन, गडौला मल बनाउन मल्चिङको प्रयोग गर्न, स्थानीय स्रोत साधनको मल्चिङ प्रयोग गर्न बनाउने विधि र प्रयोगका तरिका सिकाईएको परियोजनाका सामाजिक परिचालक दिपिका ओडले बताउनु भयो । उहाँले भन्नुभयो–‘परियोजना मार्फत मेल्लेख गाउँपालिका ६ र ७ मा १७ वटा समूह गठन भएका छन् ।’ जस मध्य २ वटा समूहमा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन गरिएको उहाँले बताउनु भयो । कृषकहरुलाई तरकारी खेती, बाख्रा पालन, गड्यौला मल बनाउने उत्पादनमा सहयोग गरि रहेको सामाजिक परिचालक ओडले बताउनु भयो ।
परियोजनाले षोडशा र नन्देगडा गरि दुई समुहका ५० जना कृषकलाई तरकारी खेती, समूह अवधारणा, समूहको लेखाजोखा, जलवायु परिवर्तन, सुनौला हजार दिनका आमालाई पोषण सम्बन्धी तालिम प्रदान गरेको परियोजनाका सामाजिक परिचालक ओडले बताउनु भयो । उहाँले परियोजना मार्फत कृषकहरुलाई अर्गानिक उत्पादनमा जोडेको बताउनु भयो ।
सुरुमा सामान्य तरिकाले तरकारी खेती गर्दै आएका कृषकहरु तालिम पाए पछि बेमौसमी तथा मौसम अनुकूल तरकारी उत्पादनमा प्राविधिक दक्षता हासिल गरेको हरियाली तरकारी उत्पादन समूहका सदस्य मथुरा देवी सार्कीले बताउनु भयो । उहाँका अनुसार ‘जलवायु मैत्री कृषक पाठशाला पछि कृषकहरुले आफूले उत्पादन गरेका ताजा तरकारीहरु घरमै उपभोग गर्ने गरिएको छ ।’ अहिले हामीहरुले बालबालिकालाई पनि नियमित रुपमा तरकारी खुवाउन थालेका छौँ । उहाँले भन्नुभयो–‘अर्गानिक उत्पादनले बालबालिकाको पोषण स्तरमा समेत उल्लेखनीय सुधार ल्याउने जानकारी समेत पाएका छौँ ।’
यस्तै, बाँकी रहेका तरकारीहरु स्थानीय श्री पुरानाकोट आधारभूत विद्यालयमा दिवा खाजाको रुपमा प्रदान गरिँदै अई रहेको छ, जसबाट विद्यार्थीहरुलाई पोषणयुक्त भोजन सुनिश्चित गराईएको छ । साथै, तरकारी बिक्रीबाट आएको आम्दानीको केही अंश समुदायका ५० जना महिलाले खुत्रुके बचत, सहकारी र बैंक खातामा पनि पैँसा जम्मा गर्दै आएका छन् ।
परियोजना मेल्लेख गाउँपालिकाका सबै वडामा सञ्चालन गरेको र उक्त क्रियाकलाप बारे गाउँपालिकाका जनप्रतिनिधि, परियोजनाका कर्मचारी सहितको टोलीले समय–समयमा स्थलगत अनुगमन समेत गर्ने गरेको छ ।
उक्त परियोजना सञ्चालन भएको मेल्लेख गाउँपालिका वडा नम्बर ७, नन्देगडाका वडा अध्यक्ष प्रेम बहादुर महरले भौगोलिक रुपमा विकट भए पनि पहाडी क्षेत्रमा उत्पादन हुने सबै रैथाने बाली, कृषि बालीहरु उत्पादन हुने बताउनु भयो । हामी संघ संस्थाले छोडे पनि गाउँमै भएकाले वडाले निरन्तरता दिनेछ यसलाई दिगो रुप लैजाने बताउनु भएको छ । हाल विभिन्न परियोजना मार्फत अति जोखिममा रहेका अति विपन्न, गरिब र दलित समुदायका घरपरिवारहरुको जीविकोपार्जनको लागि अछाम जिल्लामा काम गर्दै आएको वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरले बताउनु भयो ।
विभिन्न क्रियाकलाप गर्दै कृषक समुहका सदस्यहरु ।










तस्विर : सामाजिक परिचालक दिपिका ओड ।