काठमाडौं ।
यदि तपाईं फेसबुक, इन्स्टाग्राम, टिकटक वा अन्य कुनै पनि सामाजिक सञ्जाल प्रयोग गर्नु हुन्छ भने, तपाईंको स्क्रिनमा एउटा हातमा चियाको कप समातेर, मन खोलेर हाँसि रहेको एक किशोरको भिडियो पक्कै पनि ठोक्किएको हुनु पर्छ। विभिन्न रमाइला मिम र रियाक्सन भिडिओहरुमा व्यापक रुपमा प्रयोग हुने यो अनुहार इन्टरनेटको दुनियाँमा निकै चर्चित छ।
करोडौँ मानिसलाई हाँसो र खुसी बाँड्ने यी किशोरको वास्तविक जीवनको कथा भने हाँसोले मात्र भरिएको छैन; यसको पछाडि गरिबी, सङ्घर्ष र एक ट्रक चालकसँगको असाधारण मित्रता तथा प्रेरणाको एउटा बलियो कथा लुकेको छ।
को हुन् भाइरल हाँसोका यी पात्र ?
सामाजिक सञ्जालमा लाफिङ ब्वाई (Laughing Boy) का रुपमा भाइरल भएका यी किशोरको वास्तविक नाम अरुण कुमार हो। उनलाई घरमा मायाले बन्नी वा लड्डु भनेर पनि बोलाउने गरिन्छ। मराठी सञ्चार माध्यम लोक सत्ता डटकमका अनुसार अरुण भारतको तेलङ्गना राज्यको जयशङ्कर भुपालपल्ली जिल्ला अन्तर्गत पर्ने मामताराम मण्डलको कोर्लाकुन्टा (नारपुचेट्टुपल्ली) गाउँका रैथाने हुन्।
अरुणको बाल्यकाल अत्यन्तै कष्टकर र गरिबीमा बितेको थियो। उनका आमाबुबा गाउँमा कृषि मजदुरका रुपमा काम गर्थे। घरको आर्थिक अवस्था नाजुक भएकै कारण अरुणले ४ कक्षामा पढ्दा पढ्दै केवल १० वर्षको उमेरमा विद्यालय छोड्नु परेको थियो। विद्यालय छोडे पछि उनले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न र आफ्नो जीवन धान्नका लागि ट्रकमा सहयोगी (क्लिनर) को रुपमा काम गर्न सुरु गरेका थिए।
चलि रहेको ट्रक नै बन्यो विद्यालय
काम गर्ने क्रममा अरुणको भेट नेहरु नाम गरेका ट्रक चालकसँग भयो। नेहरु आफैँ पनि कलेज पढ्दा पढ्दै बीचमै पढाइ छोड्न बाध्य भएका व्यक्ति थिए। अरुणको आर्थिक अवस्था र उनको पढ्ने उमेरमा काम गर्नु परेको बाध्यता देखे पछि नेहरुको मन पग्लियो।
भारतीय अखबार द इकनोमिक टाइम्सका अनुसार नेहरुले अरुणलाई केवल कामदारका रुपमा मात्र राखेनन्, बरु उनको अभिभावक बनेर शिक्षाको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिए।
गाउँमा मानिसहरुले अरुणलाई 'तेरो जीवन यस्तै त हो नि, तँ कहिल्यै पढ्न सक्दैनस्' भन्दै जिस्काउने र निरुत्साहित गर्ने गर्थे। ती कुराहरुले नेहरुलाई निकै चित्त दुख्यो र उनले अरुणलाई जसरी भए पनि पढाउने सङ्कल्प गरे। नेहरुले अरुणका लागि पुस्तकहरु किनि दिए, परीक्षाको शुल्क तिरे र उनलाई बाह्य विद्यार्थी (ओपन स्कुल) का रुपमा १० कक्षाको बोर्ड परीक्षाका लागि दर्ता गराए।
यात्राका क्रममा गुडि रहेको ट्रकको सानो क्याबिन नै अरुणको विद्यालय बन्यो। नेहरुले अरुणलाई यात्राको बीच-बीचमा अक्षर चिनाउने र गणित सिकाउने गर्थे। उनीहरुको यो कडा मिहिनेत र दृढ सङ्कल्प अन्ततः सफल भयो। यसै वर्ष अरुणले १० कक्षाको बोर्ड परीक्षा उत्तीर्ण गरेका छन्। आफूले कहिल्यै पूरा नहुने सोचेको सपना नेहरुको निस्वार्थ सहयोग र आफ्नै मिहिनेतले पुरा गरे पछि अरुणको जीवनले नयाँ मोड लियो।
कसरी बन्यो भाइरल चिया भिडिओ
यो बहुचर्चित हाँसोको भिडिओ कसरी बन्यो भन्ने प्रसङ्ग निकै रोचक छ। युट्युब च्यानल आईड्रिम गोल्डलाई दिएको एक विशेष अन्तर्वार्तामा अरुण र नेहरुले त्यो क्षणको स्मरण गरेका छन्। नेहरुका अनुसार उनीहरु भूपालपल्ली जिल्लामा कोइला लोड गर्ने काममा व्यस्त थिए। काम सकिए पछि अरुणले नुहाएर नयाँ सफा सर्ट लगाएका थिए। तर नेहरुको हात भने कोइलाका कारण पूर्ण रुपमा कालो थियो। नेहरुले ठट्टा गर्दै अरुणको सफा कपडा छुन खोज्दा अरुणले अङ्ग्रेजीमा 'मलाई नछुनू' (Don't touch) भन्दै पन्छाए। नेहरुले पनि रमाइलो मान्दै 'म तँलाई एक घण्टामै कालो बनाइ दिन्छु' भनी जिस्क्याए।
त्यस पछि नेहरुले सडक छेउको एउटा पसलबाट चिया किनेर अरुणको हातमा थमाइ दिए। चिया तातो र कप भरिएको थियो। नेहरुले अरुणलाई फेरि जिस्क्याउँदै भने, "जाऊ, अब ट्रकको मुनि छिरेर टायर र नट-बोल्टहरु जाँच गर!" भर्खरै नुहाएर सफा कपडा लगाएका अरुणले आफू फोहोर हुने डरले नेहरुलाई 'तपाईं मलाई सधैँ यसरी नै हैरान पार्नु हुन्छ' भन्दै हाँस्न थाले। त्यही समयमा तातो चियाले उनको हात पनि हल्का पोल्यो र उनी छटपटाउँदै मन खोलेर हाँसे। नेहरुले अरुणको त्यही वास्तविक र प्राकृतिक हाँसोको क्षणलाई आफ्नो मोबाइलमा कैद गरे। भिडिओ खिचेको एक हप्ता पछि नेहरुले सामान्य सम्पादन गरेर सामाजिक सञ्जालमा पोस्ट गरे। आईड्रिम गोल्डको अन्तर्वार्तामा नेहरुले बताए अनुसार भिडिओ अपलोड गरेको एक महिना भित्रै यसले करिब ५० देखि ७० लाख भ्युज पायो। बिस्तारै यो भिडिओ विभिन्न सामाजिक सञ्जालमा ४ देखि ५ करोड भन्दा बढी पटक हेरियो र अरुण रातारात इन्टरनेट सेन्सेसन बने।
अरुण र नेहरुको यो यात्रा केवल भिडिओ बनाउनमा मात्र सीमित थिएन। उनीहरुले वास्तविक जीवनमा धेरै उतारचढाव भोगेका छन्। सुरुमा उनीहरु लामो दूरीको ट्रक चलाउने गर्थे। तर अरुणको उमेर सानो देखिएका कारण एउटा फ्याक्ट्रीमा प्रहरीले उनीहरुलाई समात्यो र नेहरु माथि बाल श्रम गराएको आरोप लगाउँदै तीन घण्टासम्म केरकार गर्यो। आफ्ना भाइ समान अरुणलाई कुनै समस्या नपरोस् भन्नका लागि नेहरुले बढी आम्दानी हुने लामो दूरीको काम छोडि दिए र कातराम क्षेत्रमा चल्ने स्थानीय टिपर (बालुवा बोक्ने गाडी) चलाउन थाले। आम्दानी कम भए पनि अरुणको सुरक्षा र भविष्य नेहरुका लागि सर्वोपरि थियो। अहिले नेहरुले अरुणलाई ट्रक चलाउन पनि सिकाइ रहेका छन् र उनलाई मासिक १०,००० रुपैयाँ तलब दिन्छन्, जुन अरुणले आफ्नो घर खर्चका लागि आमालाई बुझाउने गर्छन्।
चमकदार अनलाइन दुनियाँ र भुइँ मान्छेको यथार्थ
सामाजिक सञ्जालमा करोडौँ फ्यान भए पनि र इन्टरनेटमा भाइरल स्टार बने पनि अरुणको वास्तविक जीवन अझै पनि भुइँ तहकै छ। युट्युब च्यानल 'फाइभस्टार प्रवीन'ले गरेको उनीहरुको घरको विशेष भिडिओ (Home Tour) मा अरुण अझै पनि आफ्नो परिवारसँग एउटा सानो, माटो र टिनले बनेको एक कोठे घरमा बस्ने गरेको देखिन्छ। उक्त घरका काठका दलिन र खम्बाहरु धमिराले खाएका छन् र वर्षा याममा पानी चुहिने ठुलो समस्या छ। अरुणका आमाबुबा अझै पनि खेतमा मजदुरी गर्छन् भने उनको एउटा सानो भाइ छ जो चार कक्षामा पढ्दैछ।
तर, अचेल युट्युब र इन्स्टाग्रामबाट प्राप्त माया र आफ्नै मिहिनेतको बचतबाट उनीहरुले आफ्नो पुरानो घर भत्काएर नयाँ पक्की घर निर्माण गर्न थालेका छन्। उनीहरुले भिडिओ बनाउनका लागि ईएमआईमा १ लाख १० हजार रुपैयाँको नयाँ मोबाइल समेत किनेका छन्।
पैसा भन्दा नैतिकता ठुलो
आफ्नो आर्थिक अवस्था कमजोर भए पनि अरुण र नेहरुले आफ्नो इमान्दारीता र सामाजिक उत्तरदायित्वलाई कहिल्यै भुलेका छैनन्। उनीहरुको इन्स्टाग्राम ह्यान्डल (mr_laddu_0009) मा ८ लाख ३७ हजार भन्दा बढी फलोअर्स छन् भने BAVA BAMMARDHI OFFICIAL नामक युट्युब च्यानल पनि लोकप्रिय भइ रहेको छ। यस लोकप्रियताका कारण उनीहरुलाई विभिन्न बेटिङ (सट्टेबाजी) एपहरुको प्रवर्धनका लागि लाखौँ रुपैयाँको प्रस्ताव आएको थियो।
नेहरुले अन्तर्वार्तामा बताए अनुसार, उनीहरुले ती सबै आकर्षक आर्थिक प्रस्तावहरुलाई ठाडै अस्वीकार गरि दिए। यसको पछाडि एउटा दुःखद र भावुक कारण छ। उनीहरुको गाउँकै एक नजिकको साथीको सट्टेबाजी (बेटिङ) को लतका कारण ज्यान गएको थियो। आफ्नो साथी गुमाउनु परेको त्यो पीडादायी क्षण सम्झिँदै नेहरु र अरुणले पैसाका लागि कसैको जीवन बर्बाद पार्ने खालका अनलाइन जुवा वा बेटिङ एपहरुको प्रचार कहिल्यै नगर्ने कडा निर्णय लिए।
१० वर्षको उमेरमा विद्यालय छोडेर ट्रकको टायर सफा गर्ने एक सामान्य बालक आज एक निस्वार्थ ट्रक चालकको अभिभावकत्व र सही मार्ग दर्शनका कारण आज करोडौं मानिसको अनुहारमा हाँसो ल्याउने माध्यम भन्न पुगेका छन्। अरुण र नेहरुको यो सहयात्राले इन्टरनेटको भाइरल संसार भित्र लुकेको मानवीय संवेदना, साँचो मित्रता र सङ्घर्षको एउटा उत्कृष्ट र प्रेरणादायी तस्विर प्रस्तुत गरेको छ। टेकपानाबाट