साँफेबगर ।
नेपाली भाषा–साहित्य, संस्कृत वाङ्मय, लोक संस्कृति, अनुसन्धान र अध्यापनका क्षेत्रमा विगत २४ वर्ष देखि निरन्तर साधनारत साहित्यकार तथा शिक्षाविद् डा. देवेन्द्र प्रसाद भट्ट भारतको राजधानी नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मानबाट सम्मानित हुनु भएको छ। मासिक साहित्यिक संगोष्ठी, दिल्लीले आयोजना गरेको विशेष समारोहमा नेपाली भाषा–साहित्य र संस्कृतिको क्षेत्रमा डा. भट्टले पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई ‘१२ औँ साहित्य सम्मान’ प्रदान गरिएको हो।
पिथौरागढ, कुमाउँ मण्डल, उत्तराखण्डका वरिष्ठ साहित्यकार एवं समाजसेवी डा. पीताम्बर अवस्थीको अनुमोदनमा प्रदान गरिएको उक्त सम्मानका लागि आयोजकले डा. भट्टलाई विशेष रुपमा आमन्त्रण गरेको थियो। नयाँ दिल्ली स्थित डीपीएमआई सभागार, न्यू अशोकनगरमा शनिबार, १२ सेप्टेम्बर २०२६ मा आयोजित कार्यक्रममा साहित्य, भाषा, संस्कृति र समाजसेवाका क्षेत्रमा सक्रिय भारत तथा नेपालका स्रष्टा एवं साहित्य प्रेमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक जगमोहन सिंह रावत ‘जगमोरा’ ले डा. भट्टलाई सम्मान पत्र प्रदान गर्दै शिक्षा, साहित्य तथा समाजसेवामा उनको उल्लेखनीय योगदानको प्रशंसा गर्नु भयो। गुरुकुल देखि विश्वविद्यालयसम्मको ज्ञान यात्रा सुदूरपश्चिमको अछाम जिल्लाको घुघुरकोट १, कुमैस्थानमा जन्मिनु भएका डा. भट्टको जीवन यात्रा ग्रामीण परिवेशबाट प्रारम्भ भएर संस्कृतको गुरुकुलीय ज्ञान परम्परा हुँदै आधुनिक विश्वविद्यालयीय शिक्षासम्म पुगेको प्रेरणादायी यात्रा हो।
परम्परागत संस्कृत शिक्षा, वैदिक अध्ययन र पूर्वीय ज्ञानपरम्परामा प्रारम्भिक आधार निर्माण गर्नु भएका उहाँले भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट मध्यमा तह उत्तीर्ण गर्नु भयो। त्यस पछि नेपाल संस्कृत विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्दै उहाँले नेपाली भाषा–साहित्य र संस्कृत वाङ्मय दबीचको अन्तर्सम्बन्धलाई आफ्नो अध्ययन र अनुसन्धानको प्रमुख आधार बनाउनु भयो।
नेपाली भाषा–साहित्यमा स्नातकोत्तर गरेका डा. भट्टले वि.सं. २०७० मा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (PHD) उपाधि प्राप्त गर्नु भयो। हाल उहाँ सुदूरपश्चिम प्रदेशको धनगढी स्थित सुदूरपश्चिमाञ्चल क्याम्पसमा नेपाली भाषा–साहित्यका प्राध्यापकका रुपमा कार्यरत हुनु हुन्छ। अध्यापनसँगै शोध निर्देशन, अनुसन्धान, शैक्षिक नेतृत्व र साहित्यिक गतिविधिमा निरन्तर सक्रिय उहाँले स्नातक देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीको बौद्धिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ।
साहित्य देखि संस्कृतिसम्म बहुआयामिक योगदान डा. भट्टको साहित्यिक व्यक्तित्व कविता, उपन्यास, समालोचना, अनुसन्धान, सम्पादन तथा पाठ्यपुस्तक लेखनसम्म विस्तारित छ। ‘परिस्थिति’, ‘तिनतन्त्र’, ‘द्रष्टा दृष्टि’, ‘सिद्धगुफा एवम कालालेकी महात्म्य’, ‘अछामको होरी’, ‘काव्यऋषि मनिराजका अष्टदीप’ र ‘धर्तीमा झरेको दीप’ लगायतका कृति मार्फत उहाँले नेपाली साहित्य र स्थानीय सांस्कृतिक चेतनालाई समृद्ध बनाउनु भएको छ।
भाषा तथा अनुसन्धानका क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय छ। सामाजिक तथा मनोभाषाविज्ञान, भाषिक अनुसन्धान पद्धति र साधारण नेपाली जस्ता पाठ्य सामग्री मार्फत उहाँले विश्वविद्यालयीय शिक्षणलाई सहयोग पुर्याउनु भएको छ। विभिन्न साहित्यिक तथा सांस्कृतिक पत्रिकाको सम्पादनमा संलग्न रहँदै उहाँले नेपाली साहित्यिक विमर्श र सिर्जनात्मक गतिविधिलाई निरन्तर ऊर्जा दिनु भएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संगोष्ठीमा कार्यपत्र प्रस्तुति, अनुसन्धानात्मक लेखन, भाषिक विमर्श र सांस्कृतिक बहसमा उहाँको सक्रिय उपस्थिति रहँदै आएको छ। विशेषतः सुदूरपश्चिमको लोकजीवन, भाषा, संस्कृति र साहित्यलाई राष्ट्रिय बौद्धिक विमर्शमा जोड्ने कार्यमा उहाँको निरन्तर सक्रियता देखिन्छ। वाङ्मयसँगै आध्यात्मिक चेतनाका साधक डा. भट्टको व्यक्तित्व साहित्य र शिक्षामा मात्र सीमित छैन।
उहाँ धार्मिक–आध्यात्मिक प्रवचन परम्पराका समेत सक्रिय साधक हुनु हुन्छ। नेपालका विभिन्न भूभागसँगै भारतका विभिन्न स्थानमा श्रीमद्भागवत महापुराण वाचन गर्दै आउनु भएका उहाँले धर्म, संस्कार, संस्कृति र मानवीय जीवनमूल्यलाई जोड्ने प्रयास गर्नु भएको छ। उहाँको भागवत वाचनमा धार्मिक आख्यानसँगै ज्ञान, भक्ति, वैराग्य र सामाजिक चेतनाको समन्वय पाईन्छ।
यस अर्थमा उहाँ कलम, कक्षा र कथावाचन–तीनै माध्यमबाट समाजमा चेतना प्रवाह गर्ने बहुआयामिक व्यक्तित्वका रुपमा स्थापित हुनु हुन्छ। सम्मानको लामो शृङ्खलामा अर्को अन्तर्राष्ट्रिय कडी डा. भट्टले यस अघि पनि नेपाली भाषा–साहित्य, शिक्षा तथा लोक संस्कृतिका क्षेत्रमा पुर्याएको योगदानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरि सक्नु भएको छ।
नेपाल विद्याभूषण ‘क’, राष्ट्रिय प्रतिभा पुरस्कार, सावित्री कमल राष्ट्रिय लोक संस्कृति पुरस्कार लगायतका सम्मानबाट सम्मानित भई सक्नु भएका उहाँको सम्मान यात्रामा नयाँ दिल्लीको यो अन्तर्राष्ट्रिय साहित्य सम्मान अर्को महत्वपूर्ण कडी बनेको छ। नयाँ दिल्लीमा आयोजित समारोहमा उहाँलाई सम्मानित गरिनुले नेपालको सुदूरपश्चिममा रहेर नेपाली भाषा–साहित्य, संस्कृत वाङ्मय र लोक संस्कृतिको क्षेत्रमा निरन्तर साधना गरि रहनु भएका एक प्राज्ञिक व्यक्तित्वको योगदान भारतसम्मै पुगेको सन्देश दिएको छ।
अछामको दुर्गम ग्रामीण भूगोलबाट ज्ञानको यात्रा सुरु गर्नु भएका डा. भट्टले गुरुकुलीय संस्कृत शिक्षाको संस्कार, विश्वविद्यालयीय अनुसन्धानको गाम्भीर्य, साहित्यिक सिर्जनाको संवेदना र लोक संस्कृतिको माटोको सुगन्धलाई आफ्नो कर्म क्षेत्रमा एकाकार गर्दै आउनु भएको छ। २४ वर्षको निरन्तर साधना, अध्ययन, अध्यापन, अनुसन्धान र साहित्यिक–सांस्कृतिक सक्रियताको परिणाम स्वरुप प्राप्त यो सम्मान उहाँका लागि मात्र नभई सुदूरपश्चिमको साहित्यिक चेतना र नेपाली भाषा–संस्कृतिकै गौरवका रूरुपमा हेरिएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा नेपाली साहित्यका एक साधकलाई प्रदान गरिएको यो सम्मानले नेपाल–भारत बीचको भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सेतुका रुपमा समेत अर्थ राखेको छ।






