साँफेबगर ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४९ गुल्म हेड क्वाटर खप्तड अछामले आफ्नो १६ औँ स्थापना दिवस विविध कार्यक्रम सहित भव्य रुपमा मनाएको छ। स्थापना दिवसको अवसरमा गुल्मले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि नं. ७ बैद्यनाथ बाहिनी अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिगविजय सुवेदीले सशस्त्र प्रहरीको भूमिका राष्ट्रको सुरक्षा, शान्ति स्थापना र विपद् व्यवस्थापनमा महत्वपूर्ण रहेको उल्लेख गर्नु भएको थियो।
मन्तव्य राख्दै एसएसपी सुवेदीले भन्नु भयो–“सशस्त्र प्रहरी बलले सीमाको सुरक्षा मात्र नभई विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्ने कार्यमा महत्वपूर्ण योगदान दिँदै आएको छ। यस्ता स्थापना दिवसले संगठन भित्र अनुशासन, एकता र सेवाभाव अझ मजबुत बनाउने विश्वास लिएको छु।”
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले सुरक्षा निकाय बीचको समन्वयले जिल्लाको शान्ति सुरक्षामा सकारात्मक प्रभाव पारेको बताउनु भयो। उहाँले जिल्लामा रहेका सबै सुरक्षा निकाय बीचको सहकार्य प्रशंसनीय भएको बताउनु भयो।
उहाँले सशस्त्र प्रहरी बलले खेलेको भूमिका सराहनीय रहेको र आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा दिने अपेक्षा राखिएको पनि बताउनु भयो।
कार्यक्रमको समापनमा बोल्दै सशस्त्र प्रहरी बल नेपाल नं. ४९ गुल्म हेडक्वाटर खप्तड अछामका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक दिपेन्द्र बहादुर थापाले सशस्त्र प्रहरी बलले राष्ट्रको सुरक्षा, विपद् व्यवस्थापन तथा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भयो।
उहाँले संगठनको स्थापना दिवसले सम्पूर्ण सशस्त्र प्रहरीलाई आफ्नो कर्तव्य प्रति अझ जिम्मेवार र प्रतिबद्ध बन्न प्रेरणा दिने उल्लेख गर्नु भयो। साथै, उहाँले नागरिकसँगको सहकार्य र विश्वास नै संगठनको सबै भन्दा ठूलो शक्ति भएको भन्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिईने पनि बताउनु भयो।
कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनाल, गोरख बक्स गण अछामका प्रमुख सेनानी राजु महर्जन, अनुसन्धान कार्यालय अछामका प्रमुख अनुसन्धान अधिकृत अशोक पौडेल, नं. ३६ गण हेडक्वाटर डोटीका सशस्त्र प्रहरी उपरीक्षक शिव प्रसाद गैरे, इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख दान सिंह भण्डारी, साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर लगायत विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरिक्षक पुष्कर बमले गर्नु भएको थियो।