साँफेबगर ।
नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुग्दै गर्दा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने खप्तड फाल्कन्सले ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ। फाल्कन्सले भदौ १४ गते धनगढी स्थित सुदूरपश्चिम क्षेत्रीय रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा ट्यालेन्ट हन्ट आयोजना गर्न लागेको हो।
टोलीले सुदूरपश्चिममा रहेका नयाँ तथा सम्भावना बोकेका भलिबल खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसरका रुपमा ट्यालेन्ट हन्टलाई अघि सारेको छ। फाल्कन्सले सामाजिक सञ्जाल मार्फत ट्यालेन्ट हन्टका लागि दर्ता खुला भएको जानकारी दिँदै इच्छुक खेलाडीलाई आवेदन दिन आह्वान गरेको छ।
एनभीएलको टोली संरचना अनुसार प्रत्येक फ्रेन्चाईजले एक मार्की खेलाडी सहित नौ नेपाली खेलाडी राख्ने व्यवस्था छ। अक्सनबाट सात खेलाडी अनुबन्ध गरि सकेका फाल्कन्सले अब ट्यालेन्ट हन्ट मार्फत एक खेलाडी छनोट गर्नेछ। फाल्कन्सले यसअघि धिरजकाजी बस्नेतलाई मार्की खेलाडीका रूपमा टोलीमा भित्र्याई सकेको छ।
टोलीको मुख्य प्रशिक्षकमा रुपेश कुमार बिष्ट तथा सहायक प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन्। अक्सनबाट फाल्कन्सले ‘ए’ श्रेणीमा सरोज बर्देवा र प्रेम प्रसाद गौतमलाई जनही १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गरेको थियो।
यस्तै विवस थापा र इन्द्र विकलाई जनही १ लाख रुपैयाँमा टोलीमा समेटेको छ। ‘बी’ श्रेणीबाट पारस बोहोरा ७० हजार रुपैयाँ तथा नवराज थापामगर र नवराज धामी जनही ५० हजार रुपैयाँमा फाल्कन्समा आबद्ध भएका छन्।
अक्सनमा फाल्कन्सले कुल ६ लाख १० हजार रुपैयाँ खर्च गरेको थियो। सरोज बर्देवा र प्रेम प्रसाद गौतम माथि अधिकतम १ लाख २० हजार रुपैयाँसम्म बोली लागेको थियो। दुवै खेलाडीलाई फाल्कन्सले लक्की ड्रमार्फत आफ्नो टोलीमा भित्र्याएको हो।
यसरी हेर्दा फाल्कन्सको प्रारम्भिक टोलीमा मार्की खेलाडी धिरजकाजी बस्नेत सहित अक्सनबाट आएका सात खेलाडी छन्। अब ट्यालेन्ट हन्टबाट आउने खेलाडीले टोलीको नेपाली खेलाडी संख्या पूरा गर्नेछ। त्यस पछि टोलीले विदेशी खेलाडी पनि अनुबन्ध गर्ने तयारी गर्नेछ।
एनभीएलको पहिलो संस्करणमा खप्तड फाल्कन्स सहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। पहिलो संस्करणको प्रतियोगिता काठमाडौंमा आयोजना हुँदैछ र फाल्कन्स सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको पहिलो पुरुष फ्रेन्चाइज भलिबल लिगमा उत्रिँदैछ।
लिग नजिकिँदै जाँदा फाल्कन्सले ‘Soar, Fight and Make Their Mark’ भन्ने भाव सहित आफ्नो तयारीलाई अघि बढाई रहेको छ। ट्यालेन्ट हन्ट भने टोली निर्माणको एउटा हिस्सा मात्रै नभई सुदूरपश्चिममा लुकेर रहेका भलिबल प्रतिभालाई ठूलो मञ्चमा पुर्याउने अवसरका रूपमा हेरिएको टिमका खेल प्रतियोगिता व्यवस्थापक सञ्जय भाटले बताएका छन्।
उनका अनुसार भदौ १४ को ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीले सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै एनभीएलको पहिलो संस्करणमा खप्तड फाल्कन्सको जर्सी लगाउने अवसर पाउनेछ।
त्यसैले फाल्कन्सको यो खोजीमा धनगढी मात्रै नभई सुदूरपश्चिमका विभिन्न जिल्लाका सम्भावना बोकेका खेलाडीको समेत नजर रहने देखिन्छ।

