साँफेबगर ।
जिल्ला आर्थिक गणना कार्यालय, अछामद्वारा “अर्थतन्त्र मापनको लागि आर्थिक गणना” भन्ने मूल नाराका साथ राष्ट्रिय आर्थिक गणना सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी ओमप्रकाश शाहीले राष्ट्रिय आर्थिक गणना २०८२ को परिचय, उद्धेश्य, महत्व, गणनामा समेटिने तथा नसमेटिने क्षेत्रहरु, तथ्यांक संकलन विधि, गोपनीयता तथा सरोकारवालाको भूमिका लगायतका विषयमा विस्तृत प्रस्तुतीकरण गर्नु भएको थियो।
उक्त गणनाले देश भर सञ्चालनमा रहेका सम्पूर्ण आर्थिक प्रतिष्ठानहरुको यथार्थ विवरण संकलन गरी अर्थतन्त्रको वास्तविक अवस्था पहिचान गर्न, तथ्यमा आधारित नीति निर्माण, योजना तर्जुमा तथा कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिईएको छ। साथै कुल गार्हस्थ्य उत्पादन (जीडिपी) लगायतका आर्थिक सूचकहरुको सुदृढीकरण, रोजगारी तथा उत्पादन विश्लेषण र निजी क्षेत्रको लगानी निर्णयमा समेत यसले टेवा पुर्याउने अपेक्षा गरिएको छ।
राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तर्गत स्थलगत तथ्यांक संकलन कार्य २०८३ साल बैशाख २ गते देखि असार ७ गतेसम्म सञ्चालन भई रहेको छ। उक्त अवधिमा गणक तथा सुपरिवेक्षकहरुले प्रत्येक प्रतिष्ठानमा पुगेर विवरण संकलन गर्ने छन्।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले गणनालाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जिल्ला आर्थिक गणना अधिकारी शाहीले सम्पूर्ण उद्योगी, व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई गणनामा सक्रिय सहभागिता जनाई सत्यतथ्य विवरण उपलब्ध गराउन अनुरोध गर्नु भएको थियो।
कार्यक्रममा साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर, विभिन्न वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, कार्यपालिका सदस्य, शाखाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो।