साँफेबगर ।
न्याय र लैङ्गिक हिंसा विरुद्ध एक दिने सचेतनामूलक कार्यक्रम बैजनाथमा सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा न्यायीक समितिको काम, कर्तव्य र अधिकार तथा लैङ्गिक हिंसा निवारण सम्बन्धी १ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।
साँफेबगर नगरपालिका न्यायीक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नम्बर १ बैजनाथका अगुवा, सरोकारवाला महिला, दलित संजालका पदाधिकारी,युवा, जनप्रतिनिधि लगायतको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम न्यायीक समिति संयोजक शिव बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो।
सचेतनामुलक कार्यक्रममा न्यायीक समितिको काम, कर्तव्य र अधिकार बारे साँफेबगर नगरपालिका कानुन शाखाका नृप विश्वकर्माले प्रशिक्षण दिनु भएको थियो। उहाँले न्यायीक समिति स्थानीय स्तरमै छिटो, सहज र सुलभ न्याय दिने प्रभावकारी माध्यम हो। यसको अधिकार र प्रक्रिया बारे नागरिक सचेत हुन आवश्यक रहेको कुरा पनि अवगत गराउनु भयो।
त्यसै गरी लैङ्गिक हिंसा निवारण सम्बन्धी विषयमा साँफेबगर नगरपालिका लैङ्गिक हिंसा निवारण कोषका सदस्य अप्सरा कुँवरले सहजीकरण गर्नु भएको थियो। उहाँले “लैङ्गिक हिंसा अन्त्यका लागि समुदाय स्तरबाटै आवाज उठाउनु पर्छ।
हिंसा सहेर बस्नु समाधान होईन, उजुरी र सचेतना नै परिवर्तनको पहिलो कदम हो।” भन्दै सहभागीलाई प्रशिक्षण दिनु भएको हो।
कार्यक्रमलाई समापन गर्दै नगर उपप्रमुख एवं न्यायीक समिति संयोजक शिव बहादुर कुँवरले स्थानीय तहमा हुने साना–ठूला विवाद समाधानमा न्यायीक समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो।
उहाँले लैङ्गिक हिंसा अन्त्यका लागि समुदाय स्तरबाटै सचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भयो। उहाँले भन्नु भयो, “न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न र लैङ्गिक हिंसा मुक्त समाज निर्माण गर्न हामी सबैको सहकार्य आवश्यक छ।
स्थानीय तहबाटै सचेतना फैलाउँदै लैजान सके मात्र दिगो परिवर्तन सम्भव हुन्छ।” कार्यक्रममा सहभागीहरुले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने धारणा व्यक्त गरेका थिए।




